News Category 2074/07/06

भारतीय व्यापारीसँग तीन करोड फिरौती माँग गर्ने तीन अपहरणकारी हतियारसहित पक्राउ

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ कात्तिक । 
भारतीय एक व्यापारीलाई अपहरण गरि तीन करोड फिरौती रकम माँग गर्ने अपहरणकारीको योजना सप्तरी प्रहरीले विफल पारेको छ । करिब एकसाताअघि अपहरणमा परेका एक भारतीय व्यापारीलाई सप्तरी प्रहरीले जिल्लाको कञ्चनरुप नगरपालिकाबाट सकुशल मुक्त गराएपछि उनीहरुको योजना विफल भएको हो । 
भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको भीमनगर ग्राम पंचायत १० घर भएका कपडा व्यापारी अमित कुमार शारदालाई प्रहरीले जिल्लाको कंचनरुप नगरपालिका ८ बाट सकुशल मुक्त गराउँदै उनको अपहरणमा संलग्न रहेको आरोपमा तीन जनालाई हतियारसहित पक्राउ समेत गरेको छ । 
सप्तरीको कञ्चनरुप ४ निवासी २८ बर्षीय अम्बरनाथ विश्वास, सो नगरपालिका ६ निवासी शैलेन्द्र कुमार गुप्ता र वडा नम्बर ७ निवासी पशुपति भनिने पुष्कर महतोलाई दुई थान नलकटुवा पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो । 
पक्राउ परेकाहरुको साथबाट दुई थान कटुवा पेस्तोल र अपहरण गर्ने क्रममा प्रयोग भएको डिएल ३ सिएए ८९५६ नम्बरको भारतीय सेन्ट्रो कारको समेत बरामद भएको सप्तरीका प्रहरी उपरिक्षक सिंहले जानकारी दिनुभयो ।
यता अपहरणकारीहरुले अपहरण गरेका भारतीय व्यापारी शारदासँग तीन करोड फिरौती माँग गर्ने र २ करोडसम्मा डिल फाइनल गरेर रकम बाँडफाँड गर्ने योजना रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक रामेश्वर पण्डितले जानकारी दिनुभयो । 
यसअघि ताकेदामा आएका ३३ बर्षीय व्यापारी शारदाको गत असोज २९ गते साँझ ५ बजे कञ्चनरुप नगरपालिका ८ स्थित व्यस्त सडकबाटै अपहरण भएका थिए । बस समात्न बसपार्कतिर गइरहेको अवस्थामा अपहरणमा परेका उनलाई भारतीय नम्बर प्लेटको गाडीमा अपहरण गरेर कंचनरुप नगरपालिकाकै वडा नम्बर १२ स्थित अम्बरबहादुर मगरको घरमा लुकाएर राखिएको प्रहरीले जनाएको छ ।  
शारदा वेपत्ता भएको सूचना प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले व्यापारी शारदालाई मगरको घरबाट मुक्त गराउन सफल भएको सिंहले बताउनुभयो । पक्राउ परेकाहरु बिरुद्व अपहरण तथा शरीर बन्धकको मुद्दा चलाइने प्रहरी उपरिक्षक सिंहले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट