News Category 2074/07/16

मुलुकमा परिवर्तन मधेश आन्दोलनबाटै भयो ः फोरम अध्यक्ष

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १५ कात्तिक । 
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा परिवर्तन मधेश आन्दोलनबाटै भएको बताउनु भएको छ ।
बुधबार सप्तरी सदरम्ुकाम राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु हुँदै मधेश आन्दोलनकै कारण मूलुकमा गणतन्त्र स्थापना समेत भएको दाबी गर्नुभयो । 
उहाँले आन्दोलनबाट प्राप्त उपलब्धिहरु समय समयमा गुम्ने खतरा भइरहँदा अब सो उपलब्धिहरुलाई संस्थागत गर्ने बेला आइसकेको जिकिर गर्नुभयो । अध्यक्ष यादवले प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न एक मात्र विकल्प निर्वाचन नै रहेको बताउनुभयो । मुलुकमा तीनै तहको निर्वाचन सम्पन्न पश्चात् आन्दोलनबाट प्राप्त उपलब्धिहरु संस्थागत हुने दाबी समेत गर्नुभयो । 
एक अर्को प्रसङ्गमा उहाँले मुलुकमै मधेश आर्थिक, विकास तथा स्वास्थ्य क्षेत्रमा अत्यन्त पछाडी रहेकोले मधेशको परिवर्तनका लागि निर्वाचन पश्चात् मधेशमा आर्थिक क्रान्ति आवश्यक रहेको उल्लेख गर्नुभयो । 
मधेशी जनताको चाहना अनुरुप नै मधेशका दुई शक्ति फोरम र राजपा निर्वाचनमा एकताबद्ध भई लड्ने निधो गरेको उहाँले उल्लेख गर्दै दुई नं. प्रदेशमा अब फोरमको सरकार गठन हुने दाबी समेत गर्नुभयो । 
अबको दुई महिना पश्चात् २ नं. प्रदेश मधेश राज्यको जन्म हुन गइरहेको भन्दै अध्यक्ष यादवले यसका लागि सम्पूर्ण मधेशी जनताले फोरम राजपा गठबन्धनलाई जिताउन आग्रह समेत गर्नुभयो । 
सोही कार्यक्रममा बिजय गच्छदार नेतृत्वको तत्कालिन फोरम लोकतान्त्रिक पार्टीका सप्तरीका अध्यक्ष एवं केन्द्रिय सदस्य शैलेश चौधरी लगायत विभिन्न पार्टीका सयौं नेता कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेका छन् । शैलेश चौधरी यसअघि राजविराज नगरपालिकाबाट फोरम लोकतान्त्रिकका तर्फबाट प्रमुख पदका उम्मेदवार थिए । 
सोही कार्यक्रममा जिल्लाका नवनिर्वाचित पदाधिकारीहरुलाई अध्यक्ष यादवले सम्मान समेत गर्नुभएको थियो । 
अध्यक्ष यादव मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी प्रतिनिधिसभा क्षेत्र नं. २ बाट आज उम्मेदवारी दिदै हुनुहुन्छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट