News Category 2074/07/19

सप्तरीमा १२ सीटका लागि १ सय ६८ को उम्मेदवारी

दैनिक समाचारदाता

राजविराज÷आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि सप्तरीमा ३ लाख ४६ हजार २ सय १४ मतदाता रहेका छन् । सप्तरीमा चार वटा प्रतिनिधिसभा र ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । 
असोज २ गते सम्पन्न स्थानिय तह निर्वाचनको मतदाताको तुलनामा अहिले १४ हजार ५ सय ३५ ले बढेको हो । सो निर्वाचनमा जिल्लामा ३ लाख ३१ हजार ६ सय ७९ मतदात रहेको थियो ।
यता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सप्तरीको ४ वटै प्रतिनिधिसभा क्षेत्रबाट ५९ तथा ८ वटै प्रदेशसभा क्षेत्रबाट १ सय ९ जनागरि १ सय ६८ जनाले उम्मेदवारी दिएका छन् । 
जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा कुल मतदाता संख्या ९४ हजार ९ सय २० रहेको छ । यो क्षेत्रमा अग्निसाइर कृष्णासवरण गाउँपालिका, कंचनरुप नगरपालिका, तिरहुत गाउँपालिका, सप्तकोशी नगरपालिका र हनुमाननगर कंकालिनि नगरपालिका पर्दछ । 
बिहीबार सम्पन्न मनोनयन दर्ता कार्यक्रम अन्तरगत प्रतिनिधिसभा क्षेत्र १ बाट १४ जनाले उम्मेदवारी दिएका छन् । 
१ नं. क्षेत्र अन्तरगत प्रदेशसभा १ मा ५० हजार ७ सय ३० मतदाता रहेको छ । यस प्रदेशसभा क्षेत्रमा अग्निसाइर कृष्णासवरण गाउँपालिकाको ६ वटै वडा गरि कंचनरुप नगरपालिकाको वडा नं. ४, ५, ६, ७, ८, ९, ११, १२ र सप्तकोशी नगरपालिकाको ११ वटै वडा पर्दछ । यस क्षेत्रमा ९ जनाको उम्मेदवारी परेको छ । 
यस्तै प्रदेशसभा २ मा ४४ हजार १ सय ९० मतदाता रहेको छ । जसमा कंचनरुप नगरपालिकाको वडा नं. १, २, ३, १०, तिरहुत गाउँपालिकाको ५ वटै वडा तथा हनुमाननगर कंकालिनि नगरपालिकाको १४ वटै वडा पर्दछ । यस क्षेत्रबाट पनि ९ जनाको मनोनयन परेको छ । 
यसैगरि जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा ७९ हजार २ सय ६३ मतदाता रहेको छ । यो क्षेत्रमा छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, महदेवा गाउँपालिका र राजविराज नगरपालिका पर्दछ । यस क्षेत्रमा १८ जनाको उम्मेदवारी परेको छ । 
२ नं. क्षेत्र अन्तरगत प्रदेशसभा १ मा ४१ हजार ७ सय ६१ मतदाता रहेको छ । यस प्रदेशसभा क्षेत्रमा छिन्नमस्ता गाउँपालिकाको ७ वटै वडा, तिलाठी कोइलाडी गाउाापालिकाको ८ वटै वडा र महदेवा गाउँपालिकाको वडा नं. २, ४, ५ र ६ पर्दछ । यस क्षेत्रबाट १३ जनाले उम्मेदवारी दिएका छन् । 
त्यस्तै २ को २ मा ३७ हजार ५ सय २ मतदाता रहेका छन् । सो क्षेत्रमा महदेवा गाउँपालिकाको वडा नं. १ र ३ तथा राजविराज नगरपालिकाको सम्पूर्ण १६ वटै वडा पर्दछ । यस क्षेत्रमा २२ जनाको उम्मेदवारी परेको छ । 
त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ मा ८५ हजार ४ सय ८९ मतदाता रहेको छ । यस निर्वाचन क्षेत्रमा डाक्नेश्वरी नगरपालिका, बेल्हीचपेना गाउँपालिका, रुपनी गाउँपालिका, विष्णुपुर गाउँपालिका र शम्भुनाथ नगरपालिका रहेको छ । यस क्षेत्रमा १२ जनाले मनोनयन दर्ता गराएका छन् । 
यसै क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा ४३ हजार ८ सय ९० मतदाता रहेको छ । जसमा रुपनी गाउँपालिकाको ६ वटै वडा, विष्णुपुर गाउँपालिकाको ७ वटै वडा तथा शम्भुनाथ नगरपालिकाको १ देखी ११ वडा पर्दछ । यस क्षेत्रबाट १९ जनाको मनोनयन परेको छ । 
क्षेत्र नं. ३ कै प्रदेशसभा निर्वाचन क्षेत्र २ मा ४१ हजार ५ सय ९९ मतदाता रहेको छ । जसमा डाक्नेश्वरी नगरपालिकाको १० वटै वडा, बेल्हीचपेना गाउँपालिकाको ६ वटै वडा र शम्भुनाथ नगरपालिकाको १२ नं. वडा पर्दछ । यस क्षेत्रबाट १४ जनाको उम्मेदवारी परेको छ । 
त्यसैगरि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ४ मा ८६ हजार ५ सय ४२ मतदाता रहेको छ । यस क्षेत्रमा खडक नगरपालिका, बोदेबर्साइन नगरपालिका, बलान बिहुल गाउँपालिका र सुरुङा नगरपालिका रहेको छ । यस क्षेत्रमा १५ जनाको मनोनयन परेको छ । 
यस क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ मा ४६ हजार ९ सय ८ मतदाता रहेको छ । यसमा खडक गाउँपालिकाको ११ वटै वडा तथा सुरुङा नगरपालिकाको १ देखी ८ वडा सम्म रहेको छ । यसमा ११ जनाको उम्मेदवारी परेको छ । 
त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ मा ३९ हजार ६ सय ३४ मतदाता रहेको छ भने यसमा बोदेबसाईन नगरपालिकाको १० वटै वडा, बलान बिहुल गाउँपालिकाको ६ वटै वडा र सुरुङा नगरपालिकाको वडा नं. ९, १० र ११ पर्दछ । यसमा १२ जनाले उम्मेदवारी दिएका छन् । 
एक वहालवाला मन्त्रिसँगै ९ जना निर्वतमान सांसदहरु चुनावी दौडमा
मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि बिहीबार सप्तरीमा पनि उत्साहजनक उम्मेदवारी दर्ता भएको छ । 
एक बहालवाला मन्त्रिसँगै ६ जना निर्वतमान सांसदहरुले प्रतिनिधिसभा सदस्य र तीन जना प्रदेशसभा सदस्य गरि ९ जनाले उम्मेदवारी दिएका छन् ।
सप्तरी क्षेत्र नं. १ बाट बामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका अशोक मण्डल, सोही क्षेत्रको प्रदेशसभा १ मा काँग्रेसका तर्फबाट डा. सुबोध पोखरेल र बामगठबन्धनका तर्फबाट एमालेका सत्यनारायण मण्डलले उम्मेदवारी दिएका हुन् । 
त्यस्तै बामगठबन्धनका तर्फबाट क्षेत्र नं. २ मा माओवादी केन्द्रका उमेश यादव, फोरम राजपा गठबन्धनबाट फोरम अध्यक्ष उपेन्द्र यादव, काँग्रेसका तर्फबाट सकलदेव सुतिहारले उम्मेदवारी दिएका छन् भने सोही क्षेत्रको प्रदेशसभा १ मा काँग्रेसका रन्जित कर्णले उम्मेदवारी दिएका छन् ।   
त्यसैगरि क्षेत्र नं. ३ बाट बामगठबन्धनका तर्फबाट एमालेका ताराकान्त चौधरी र क्षेत्र नं. ४ मा काँग्रेसका तर्फबाट वर्तमान यूवा तथा खेलकुद राज्यमन्त्री तेजुलला चौधरीले उम्मेदवारी दिएका हुन् ।
यता प्रतिनिधिसभा क्षेत्र नं. २ मा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले फोरम राजपा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएपनि सो क्षेत्रमा राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 
यस्तै प्रतिनिधिसभा क्षेत्र नं. १ बाट बाल रोग विशेषज्ञ डा. सूर्यनारायण यादवले सरकारी जागिरबाट राजिनामा दिई फोरम राजपा गठबन्धनको तर्फबाट फोरमको उम्मेदवार बनेका छन् । 
त्यसैगरि सोही क्षेत्रको प्रदेशसभा १ बाट जनजाती महासंघका पूर्व अध्यक्ष एवं थारु कल्याणकारी समितिका पूर्व महासचिव तथा राजपाका महासचिव राजकुमार लेखीले फोरम राजपा गठबन्धनबाट उम्मेदवारी दिएका छन् । 
त्यस्तै क्षेत्र नं. २ बाट प्रदेशसभा २ बाट अर्का राजपाका महासचिव मनिषकुमार सुमनले उम्मेदवारी दिएका छन् । यसरी सप्तरीबाट विभिन्न क्षेत्र गरि राजपाका दुई उपाध्यक्षसमेतले उम्मेदवारी दिएका छन् ।  
पत्रकार महासंघका दुई पूर्वअध्यक्ष समेत उम्मेदवार 
मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पत्रकार महासंघ सप्तरीका दुई जना पूर्वसभापति तथा एक जना महासंघका सदस्यले मनोनय दर्ता गराएका छन् । 
प्रतिनिधिसभा क्षेत्र नं. १ को १ बाट पत्रकार महासंघका निवर्तमान सभापति प्रकाश खतिवडाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने सोही क्षेत्रको प्रदेशसभा २ बाट पूर्वसभापति शम्भु झाले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
त्यस्तै क्षेत्र नं. २ को प्रदेशसभा १ बाट महासंघका सदस्य एवं फोरमका शैलेन्द्र प्रसाद साहले फोरम राजपा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका हुन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट