News Category 2074/07/24

सबै क्षेत्रमा रोचक एवं कडा त्रिपक्षिय प्रतिस्पर्धा हुने, खेल बिगाड्न सक्छन् बागिहरु

दैनिक समाचारदाता

नवीनकुमार गुप्ता
राजविराज, २३ कात्तिक । 
आगामी मसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा चुनावी प्रचार प्रसार तिब्र रुपमा भइरहेको छ । 
केन्द्रिय स्तरबाटै चुनावी तालमेलका लागि गरिएको गठबन्धनका नेताहरुले आफ्नो चुनावी प्रचार प्रसारलाई तिब्रता दिएको हो । 
जिल्लामा बाम गठबन्धन, मधेश गठबन्धन र लोकतान्त्रिक गठबन्धन गरि तिनै गठबन्धनले चुनावी माहोल तताउन लागिपरेका छन् । 
यस जिल्लामा चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा त्रिकोणिय प्रतिस्पधा हुने देखिएको छ भने आठ प्रदेशसभा निर्वाचन क्षेत्रमा भने केहीमा त्रिकोणिय प्रतिस्पर्धा र केहीमा स्वतन्त्र उम्मेदवारहरुले समेत कडा टक्कर दिने देखिएको छ । यता यस निर्वाचनमा केही पुराना अनुहार, युवा, दाजुभाई एवं दिग्गज उम्मेदवारहरुबीचे रोचक भिडन्त हुने ्रवल सम्भावना रहेको छ । 
चारै क्षेत्रमा तीनै गठबन्धनको प्रभाव र अवस्था
क्षेत्र नं. १ मा प्रतिनिभिसभा निर्वाचनका लागि बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका निवर्तमान सांसद अशोक कुमार मण्डल चुनावी प्रतिष्पर्धामा देखिएका छन् । उनले सो समयमा तत्कालिन क्षेत्र नं. २ बाट सद्भावनाका उपाध्यक्ष नवलकिशोर साहलाई करिब ५ सय मतअन्तरले पराजित गरेका थिए । यस क्षेत्रमा उत्तरतर्फ थाहरु, पहाडी समुदायको वाक्लो बसोवास रहेको छ भने दक्षिण भेगमा जनजाती समुदायको वाक्लो बसोवास छ । मण्डलपनि जनजाती समुदायमा पर्दछन् । उनी यसअघिको निर्वाचनमा दक्षिणी भेगकै जनताको मत पाएर बिजयी भएका थिए । 
त्यस्तै मधेशी गठबन्धनका तर्फबाट फोरमका डा. सूर्यनारायण यादव फोरमको उम्मेदवारी परेको छ । उनी वरिष्ठ बाल रोग विशेषज्ञ हुन् । उनले चुनाव लड्नका लागि सरकारी जागिरबाट समेत राजिनामा दिएका छन् । उनको यो पहिलो चुनावी अनुभव हो । 
यसैगरि काँग्रेसका तर्फबाट जिल्ला सदस्य रामदेव साह चुनावी प्रतिष्पर्धामा देखिएका छन् । उनी यसअघि सप्तरी जिल्लाको काँग्रेस सभापतिको उम्मेदवार थिए । उनको पनि पहिलो चुनावी अनुभव हो ।
चौतर्फी भिडन्त
क्षेत्र नं. १ को प्रदेशसभा १ मा राजपाका महासचिव राजकुमार लेखी, एमालेका २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डल, काँग्रेसका डा. सुबोध पोखरेल र एमालेकै बागी उम्मेदवार प्रकाश खतिवडाबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा आदिवासी जनजातीहरुको वाक्लो बसोवास छ । क्षेत्रको उत्तरी भेगमा पहाडी समुदाय र थारु आदिवासी जनजाती तथा राजमार्ग क्षेत्रमा केही पहाडी र बढी थारु समुदायको वाक्लो बसोबास रहेकोले यस क्षेत्रमा चुनावी प्रतिष्पर्धा निकै रोमान्चक हुने देखिन्छ ।
यस प्रदेशसभा क्षेत्रमा बामगठबन्धनले एमालेका तर्फबाट २ नं. प्रदेशका संयोजक एवं प्रस्तावित मुख्यमन्त्रिका उम्मेदवार तथा पूर्व खेलकुद मन्त्रि सत्यनारायण मण्डललाई चुनावी मैदानमा ओरालेको छ । 
यता बामगठबन्धनका उम्मेदवार सत्यनारायण मण्डल बिरुद्ध स्वतन्त्र उम्मेदबारी दिएका एमालेका जिल्ला सदस्य प्रकाश खतिवडा पनि पार्टीको निर्णयलाई चुनौती दिँदै चुनावी मैदानमा ओर्लेका छन् । उनलाई पार्टीले सधारण सदस्य समेत नहुने गरि कारवाही समेत गरिसकेको छ । उनी नेपाल पत्रकार महासंघ सप्तरीका निवर्तमान सभापति पनि हुन् । 
त्यस्तै मधेशी गठबन्धनले राजपाका महासचिव राजकुमार लेखीलाई २ नं. प्रदेशको प्रस्तावित उपमुख्य मन्त्रिको उम्मेदवारका रुपमा अघि सारेको छ । उनी जनजाती महासंघका पूर्व अध्यक्ष एवं थारु कल्याणकारी समितिका पूर्व महासचिव समेत हुन् । यस क्षेत्रमा थारुहरुको पकड क्षेत्र मानिन्छ । यसअघि पनि २०७० सालको संविधानसभामा तत्कालिन नेकपा माओवादीका उम्मेदवार मानपुर चौधरीले जित हासिल गरेका थिए भने त्यसअघि २०६४ सालको संविधानसभाको निर्वाचनमा उनी दोश्रो भएका थिए ।  
त्यस्तै काँग्रेसका तर्फबाट डा. सुबोध पोखरेलले टिकट पाएका छन् । उनी पेशाले नेपालमै नाम चलेको यौन रोग बिशेषज्ञ हुन् । उनी काँग्रेसमा पुनःप्रवेशी नेता हुन् । उनी फोरम लोकतान्त्रिक काँग्रेसमा समावेश भएपछि पुनः काँग्रेसी नेता बनेका हुन् । २०७० सालको दोश्रो संविधानसभामा उनी काँग्रेस परित्याग गरि फोरम लोकतान्त्रिकका तर्फबाट समानुपातिक सांसद बनेका थिए । उनकी श्रीमती निरु पोखरेल यस प्रदेशसभा क्षेत्रमा परेको कंचनरुप नगरपालिकामा काँग्रेसका तर्फबाट उपप्रमुखमा जितेकी छिन् । 
यसरी हेर्दा यो प्रदेशसभा क्षेत्रमा बामगठबन्धनलाई आफ्नै बागिका उम्मेदवारको चुनौती थपिएको छ भने सबैभन्दा बढी थारु समुदायको बसोबास भएको क्षेत्रमा मधेशी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लेखीलाई आफ्नो समुदायको जनताले कतिको विश्वास गर्नेछ भन्ने कुरा चुनावको मतपरिणामले देखाउने छ । त्यस्तै थारुपछि पहाडी समुदायको बसोबास भएको क्षेत्रमा काँग्रेसी उम्मेदवार डा. पोखरेल पनि चुनाव जित्ने आशमा रहेका छन् भने बामगठबन्धको बिरुद्ध बागि उम्मेदवार खतिवडा पनि आफू चुनाव जित्नेमा आशावादी रहेका छन् ।
फरक फरक समुदायका 
उम्मेदवारबीच भिडन्त
क्षेत्र नं. १ को प्रदेशसभा २ मा मधेशी गठबन्धनका तर्फबाट राजपाका उपाध्यक्ष नवलकिशोर साह उम्मेदवार बनेका छन् । उनी यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा माओवादीका अशोक मण्डलसँग पराजित भएका थिए । तर, स्थानिय तहको निर्वाचनमा यस क्षेत्रमा पर्ने हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख पदमा उनका छोरा शैलेश साह राजपाबाट निर्वाचित भएका छन् । उनका प्रत्यासि फोरमका बिरेन्द्र माझी थिए । सोही चुनावी रणनीति तहत उनी मधेशी गठबन्धनको तर्फबाट आफ्नो जित सुनिश्चित हुने देखेपछि प्रदेशसभामा लडेका हुन् । त्यस्तै बामगठबन्धनले माओवादी केन्द्रका नवप्रवेशी सकिल अलिलाई उम्मेदवार बनाएको छ । अलि यसअघि राप्रपामा थिए । उनी पनि यस क्षेत्रका मुश्लिम मतदाताको भोट बैंक हुन् । त्यस्तै काँग्रेसले क्षेत्रिय अध्यक्ष बद्री नारायण  महात्मान यादवलाई उम्मेदवार बनाएको छ । उनी लामो समयदेखी काँग्रेसका क्षेत्रिय सभापति रहेका छन् । तर, यादव समुदायबाट उनी बलियो उम्मेदवार भएकाले पार्टी भन्दा जातीय नारा लाग्ने हो भने उनको अवस्था राम्रै रहने अनुमान गरिएको छ । यस क्षेत्रमा पनि चुनावी माहोल निकै रोचक देखिएको छ । किनभने तीनै गठबन्धनका उम्मेदवारहरु फरक–फरक जाती समुदायबाट रहेका छन् ।
दिग्गजहरुको भिडन्त
क्षेत्र नं. २ मा मधेशी गठबन्धन, बामगठबन्ध र राजपाका बागि उम्मेदवारबीच त्रिकोणीय प्रतिस्पर्धा हुने देखिएको छ । किनभने काँग्रेसका उम्मेदवार एवं निर्वतमान सांसद सकलदेव सुतिहारले आफ्नो मनोनयन फिर्ता लिन निवेदन दिएपनि फिर्ता नभएपछि उनी चुनाव नलड्ने बताई सकेका छन् । तर, सप्तरी २ को प्रदेश सभा १ का उम्मेदवार रञ्जित कर्ण र प्रदेश सभा २ का उम्मेदवार महानन्द यादवले आफुहरु प्रतिनिधि सभामा पनि काँग्रेसकै उम्मेदवारको मत माग्ने बताएपछि मधेसी गठबन्धनका उम्मेदवारलाई काँग्रेसले सहयोग नगर्ने देखिएको छ । ‘हामीले प्रतिनिधि सभामा मधेसी गठबन्धनका उम्मेदवारको मत माग्छौ, तर ती उम्मेदवारले आफूहरुविरुद्ध प्रदेश सभामा आफ्ना उम्मेदवारको मत माग्ने भएकाले आफूहरु प्रतिनिधि सभामा मधेसी गठबन्धनका उम्मेदवारको मत किन माग्ने ?’, प्रश्न गर्दै काँग्रेसका प्रदेश सभाका एक उम्मेदवारले भने ।
यता मधेशी गठबन्धनका उम्मेदवार उपेन्द्र यादवबिरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले उम्मेदवारी दिएपछि यस क्षेत्रमा निकै रोचक प्रतिष्पर्धा हुने देखिन्छ । चुनावी मैदानमा रहेका यादव यसअघि पहिलो र दोश्रो संविधान सभामा मोरंग र सुनसरीबाट चुनाव लडेका थिए । अध्यक्ष यादवले पहिलो संविधान सभामा मोरंग र सुनसरीको दुबै क्षेत्रबाट विजय प्राप्त गरेका थिए । तर, २०७० सालको दोश्रो संविधान सभाको निर्वाचनमा सुनसरीबाट मात्र विजय प्राप्त गर्न सफल भएका थिए । उनलाई प्रदेश नम्बर २ को पर्सा, सिरहा र सप्तरी तथा प्रदेश नम्बर १ को मोरंग र सुनसरीबाट प्रतिनिधी सभाकालागी जिल्लाका नेता तथा कार्यकर्ताले उम्मेदवारी दिन सिफारिस तथा आग्रह गरेपछि सप्तरीको यस क्षेत्रबाट उम्मेदवारी दिएका हुन् ।
त्यस्तै यस क्षेत्रबाट उनलाई कडा टक्कर दिन बमगठबन्धनले माओवादी केन्द्रका निवर्तमान सांसद एवं पूर्वसिंचाई मन्त्री उमेश प्रसाद यादवलाई चुनावी मैदानमा ओरालेको छ । उनी यसअघि २०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा तत्कालिन सप्तरी क्षेत्र नं. ३ बाट फोरमका उम्मेदवारलाई पराजित गरेका थिए । उनी यस पटक फोरम अध्यक्ष यादवलाई पराजित गरि पुनः निर्वाचनमा जित हासिल गर्न हरसम्भव प्रयासरत छन् । उनलाई एमालेका मतदाताहरुको साथ मिलेको छ भने यसअघिको संविधान सभा २ को चुनावमा सप्तरी १, सप्तरी २ र सप्तरी ३ मा क्रमशः माओवादीले विजयी हासिल गरेका थिए । विगतको २ र ३ नम्बर क्षेत्रको अधिकांश भाग अहिलेको २ नम्बर क्षेत्रमा परेको छ । त्यसअनुसार र आफू मन्त्री हुँदा गरेको कामले उमेश यादव आफ्नो जीत सुनिश्चित भएको बताउँछन् ।
यता यस क्षेत्रबाट राजपाका सहमहासचिव जयप्रकाश ठाकुर फोरम अध्यक्ष उपेन्द्र यादवबिरुद्ध चुनाव लड्दै छन् । उनी मधेशी गठबन्धनबाट असन्तुष्टि व्यक्त गर्दै यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारीले मधेशी गठबन्धनको टाउँको दुखाई समेत भएको छ भने फोरम अध्यक्षलाई जसरी पनि जिताउने मधेशी गठबन्धलाई बाध्यता रहेको छ । अध्यक्ष यादव राष्ट्रिय राजनीतिको चर्चित ब्यक्ति र मधेस आन्दोलनको नेतृत्वकर्ता भएकाले अहिले भएका परिवर्तनहरुको श्रेय उनलाई नै जाने भएकाले उपेन्द्र यादवको जीत सजिलो भएको फोरमआबद्ध नेताहरु दाबी गर्छन् ।
पुराना भन्दा नयाँ अनुहार बढी
क्षेत्र नं. २ को प्रदेशसभा १ मा पनि त्रिकोणिय प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा मधेशी गठबन्धका तर्फबाट फोरमका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह चुनावी मैदानमा देखिएका छन् । उनको यो दोश्रो पटकको चुनावी अभियान हो । यसअघि उनी संविधानसभामा तत्कालिन संसदीय क्षेत्र नं. ३ मा माओवादीका उमेशप्रसाद यादवसँग पराजित भएका थिए । तर, यस पटक पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रतिनिधिसभाका लागि सिट सुरक्षित गरेर आफू प्रदेशसभामा लड्दै छन् । त्यस्तै बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नवप्रवेशी सरोज मण्डलले उम्मेदवारी दिएका छन् । उनी पेशाले इन्जिनियर हुन् । उनी मनोनयन दर्ता हुने एक दिन पहिला माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । त्यस्तै नेपाली काँग्रेसका तर्फबाट नेवि संघका पूर्वसभापति एवं निवर्तमान सांसद रन्जित कर्ण प्रतिष्पर्धामा रहेका छन् । उनको यो पहिलो प्रत्यक्ष चुनावी अनुभव हुनेछ । 
युवाहरुको प्रतिस्पर्धा
क्षेत्र नं. २ को प्रदेशसभामा २ मा तीनै गठबन्धनका उम्मेदवारहरु पहिलो पटक चुनावी मैदानमा ओर्लेका छन् । मधेशी गठबन्धनका तर्फबाट राजपाका अर्का महासचिव मनिषकुमार सुमनले उम्मेदवारी दिएका छन् । उनको यो पहिलो चुनावी अनुभव हो । यसअघि उनी कहिले चुनावी मैदानमा आएका थिएनन् । तर, पहिलो गाँसमै उनलाई आफ्नै पार्टीका क्षेत्रिय अध्यक्षको उम्मेदवारीले टाउँको दुखाई भएको छ । उनको बिरुद्धमा राजपाका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । तर, सुमन मधेशी गठबन्धनबाट उम्मेदवार भएकाले स्थिती बलियो रहने बताइन्छ । यस्तै यस क्षेत्रमा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य महेश यादवको उम्मेदवारी परेको छ । उनको पनि यो पहिलो निर्वाचन हो । त्यस्तै नेपाली काँग्रेसका तर्फबाट क्षेत्रिय अध्यक्ष महानन्द यादव चुनावी दौडमा रहेका छन् । उनको पनि यो पहिलो चुनावी अनुभव हो । 
दाजुभाईबीच रोचक प्रतिष्पर्धा, काँग्रेस पनि कम छैन्
सप्तरीको क्षेत्र नं. ३ मा दुई फरक फरक गठबन्धनबाट एकै परिवारका दुई दाजुभाई चुनावी प्रतिस्पधामा रहेका छन् । दाजु मधेशी गठबन्धनबाट चुनाव लडेका छन् भने भाई बाम गठबन्धनबाट । जिल्लाको डाक्नेश्वरी नगरपालिका ५ पातो बस्ने चन्द्रकान्त चौधरी र ताराकान्त चौधरी यस पटक सँगै निर्वाचन लडेका हन् । प्रतिनिधीसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट दुबैले एकसाथ उम्मेदबारी दिएका छन् । आमा दुई र बुबा एउटै भएका चन्द्रकान्त दाई हुन् भने ताराकान्त भाई हुन् । ताराकान्त बाम गठबन्धनबाट चुनाव लडेका छन् । एमालेका सकृय कार्यकर्ता ताराकान्त दोस्रो संविधानसभा निर्वाचनमा एमालेको साख सप्तरीबाट बचाएका थिए । तत्कालिन क्षेत्र नम्बर ४ बाट उनी निर्वाचित भएका थिए । 
यस्तै दाई चन्द्रकान्त भने मधेशी गठबन्धनबाट उम्मेदबार बनेका छन् । उनलाई राष्ट्रिय जनता पार्टी (राजपा) ले टिकट दिएको छ । फोरम नेपाल र राजपा गठबन्धनबाट उम्मेदबार बनेका चन्द्रकान्त भने काँग्रेस पृष्ठभूमीका हुन् । शुरुवाती समयमा काँग्रेसमा सकृय रहेका उनी स्थानीय तहको निर्वाचनमा पनि डाक्नेश्वरी नगरपालिकामा स्वतन्त्रबाट उम्मेदबारी दिएका थिए । तर पराजित रहे । 
चौधरी दाजुभाई लडेको यो क्षेत्रमा काँग्रेसबाट जिल्ला सभापति नै उम्मेदबार बनेका छन् । काँग्रेसका जिल्ला सभापति दिनेश यादव यो क्षेत्रको प्रतिनिधीसभाका लागि उम्मेदबार छन् । तर, सभापति यादव यसअघि दुई संविधानसभा निर्वाचनमा पराजित भइसकेका छन् । 
यूवाहरुबीच त्रिपक्षिय भिडन्त
क्षेत्र नं. ३ को प्रदेशसभा १ मा तीन गठबन्धनबीच प्रतिष्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा मधेशी गठबन्धनका तर्फबाट राजपाका केन्द्रिय सदस्य दिनेश यादव दोश्रो पटक चुनावी मैदानमा ओर्लेका छन् । यसअघि उनी संविधानसभा २ मा क्षेत्र नं. ५ बाट चुनावी लडेका थिए । उनी सद्भावना पार्टीका तर्फबाट दुई कार्यकाल स्ववियु सभापति समेत भएका थिए । त्यस्तै बाम गठबन्धनका तर्फबाट एमालेका महेश प्रसाद चौधरीले उम्मेदवारी दिएका छन् । उनको पहिलो चुनावी अनुभव हो । त्यस्तै नेपाली काँग्रेसका तर्फबाट मो. समिमलाई टिकट दिइएको छ । महाधिवेशन प्रतिनिधि रहेका उनी काँग्रेसका माथिल्लो तहका नेताका विश्वासपात्रको रुपमा रहेका छन् । उनको काठमाडौंमा आफ्नै कन्सल्टेन्ट रहेको छ । 
गठबन्धन बिरुद्ध बागि
क्षेत्र नं. ३ को प्रदेशसभा २ मा बाम गठबन्धनका तर्फबाट एमालेका सप्तरी उपाध्यक्ष अब्दुल मजिद साकिरलाई चुनावी मैदान ओरालेको छ । त्यस्तै मधेशी गठबन्धनका तर्फबाट राजपाका बिदेश्वर यादवले टिकट पाएका छन् । त्यसैगरि काँग्रेसका तर्फबाट पूर्व क्षेत्रिय सभापति भगवती यादव चुनावी मैदानमा देखा परेका छन् । यी तिनै उम्मेदवारको यो पहिलो चुनावी अनुभव हुनेछ । यता यस प्रदेशसभा क्षेत्रमा नयाँ शक्ति पार्टीबाट जिल्ला जनस्वास्थ्य सप्तरीका अवकास प्राप्त कर्मचारी डम्बर नारायण साहले पहिलो पटक चुनावी अनुभव बटुल्दै छन् । त्यस्तै यसै क्षेत्रबाट मधेश गठबन्धनका बागि तथा फोरमका जिल्ला अध्यक्षका प्रत्यासी सुरेन्द्र यादवले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । यसअघि उनलाई स्थानिय तहमा बेल्हीचपेना गाउँपालिकाबाट फोरमका तर्फबाट अध्यक्षको टिकट दिएपनि रातारात सो टिकट खोसिएको थियो । र अहिले पनि फोरमबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवारी दिएका हुन् । आन्दोलनसँगै स्थानिय जनतामाझ बढी समय बिताउने उनको अवस्था बलियो रहेको समर्थकहरु बताउछन् । 
दिग्गज तथा पुराना 
अनुभविहरु बीच प्रतिष्पर्धा
क्षेत्र नं. ४ मा तीनै गठबन्धनका अति अनुभवी उम्मेदवारहरुबीच तिब्र प्रतिस्पर्धा हुदैछ । मधेशी गठबन्धनका तर्फबाट राजपाका वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री समेत रहेका मृगेन्द्रकुमार सिंह यादवले प्रतिष्पर्धा गरिरहेका छन् । उनी यसअघिको संविधानसभा निर्वाचनमा झिनो मतले पराजित भएका थिए । त्यो पनि आफ्नै सहोदर भाई अनिरुद्ध प्रसाद सिंह यादवसँग । अनिरुद्ध फोरम नेपालका तर्फबाट उम्मेदवार भएका थिए भने मृगेन्द्र फोरम लोकतान्त्रिकका तर्फबाट । सो समयमा दाजु भाईको चुनावी प्रतिष्पर्धामा काँग्रेसका सुरेन्द्र यादवले बाजी मारेका थिए । त्यस्तै संविधानसभा २ मा मृगेन्द्र यादवलाई निकै कडा टक्कर दिएका स्वतन्त्र उम्मेदवार मो. इस्लामले भने यस पटक बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार बनेका छन् । उनी प्रतिनिधिसभा २ मा झिनो मतअन्तरले तेश्रो स्थान प्राप्त गरेका थिए । त्यस्तै काँग्रेसका तर्फबाट वर्तमान युवा तथा खेलकुद राज्य मन्त्रि तेजुलला चौधरी चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । उनी यसअघि पनि चुनाव जितेका थिए । 
बाम र मधेशी गठबन्धनलाई काँग्रेसले टक्कर दिने
क्षेत्र नं. ४ को प्रदेशसभा १ मा बामगठबन्धनका तर्फबाट एमालेका जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले उम्मेदवारी दिएका छन् । यसअघि उनी संविधानसभा निर्वाचनमा काँग्रेसका तेजुलाल चौधरीसँग झिनो मतले पराजित भएका थिए । त्यस्तै मधेशी गठबन्धनका तर्फबाट फोरम नेपालका जिल्ला सहसंयोजक बिनोद चौधरी चुनावी प्रतिष्पर्धामा देखिएका छन् । त्यस्तै काँग्रेसका तर्फबाट सिताराम साहले उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा बाम र मधेशी गठबन्धनबीच कडा टक्कर हुनेछ । 
विर्तालाई कायम राख्न सकस
क्षेत्र नं. ४ को प्रदेशसभा २ मा मधेशी गठबन्धनका तर्फबाट फोरम नेपालका अभिषेक यादव पहिलो पटक चुनावी मैदानमा उत्रेका छन् । उनी फोरम उपाध्यक्ष रेणु यादवका छोरा हुन् । त्यस्तै बाम गठबन्धनले माओवादी केन्द्रका नवप्रवेशी शशी प्रसाद यादवलाई चुनावी मैदानमा लडाएको छ । उनी यसभन्दा अघि राजपामा थिए । त्यस्तै काँग्रेसका तर्फबाट पूर्व उपराष्ट्रपति परमानन्द झाका भतिजा विवेकानन्द झाले प्रतिस्पर्धा गर्दैछन् । उनी विश्वास झाको नामबाट ठेक्कापट्टामा चर्चित छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट