News Category 2074/07/26

फोरम अध्यक्षसहित राजपाका दुई उपाध्यक्ष र दुई महासचिव चुनावी मैदानमा, बाम गठबन्धन र काँग्रेस साख जोगाउन कसरतमा, बागि उम्मेदवारले चुनौती दिँदै

दैनिक समाचारदाता

नवीन डेस्क
राजविराज÷आगामी मसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अहिले दलहरुले सप्तरीमा चुनावी प्रचार प्रसार तिब्र पारेका छन् । केन्द्रिय स्तरबाटै चुनावी तालमेलका लागि गरिएको गठबन्धनका नेताहरुले आफ्नो चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका हुन् । 
जिल्लामा बाम गठबन्धन, मधेश गठबन्धन र लोकतान्त्रिक गठबन्धन गरि तिनै गठबन्धनले चुनावी माहोल तताउँदै छन् भने बागि उम्मेदवारहरु पार्टीका आधिकारी उम्मेदवारलाई चुनौती दिन रणनीति बनाउँदैछन् ।
यता जिल्लामा रहेको चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा त्रिकोणिय प्रतिस्पधा हुने देखिएको छ भने २ नं. क्षेत्रमा मधेश गठबन्धनका बागि उम्मेदवारले कडा ठक्कर दिने आड्कल गरिएको छ । यता आठ प्रदेशसभा निर्वाचन क्षेत्रमा भने केहीमा त्रिकोणिय प्रतिस्पर्धा तथा क्षेत्र नं. १ को १ मा बाम गठबन्धनका बागि उम्मेदवार तथा क्षेत्र नं. ३ को २ मा मधेश गठबन्धनका वागि उम्मेदवार समेतले कडा टक्कर दिने देखिएको छ ।  
जिल्लाको १८ स्थानिय तहमा एक्ला एक्लै चुनावी प्रतिस्पर्धामा ओर्लेको नेपाली काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालले ५÷५ स्थानमा सो समयमा बिजयी भएको थियो भने दुई स्थानमा नेकपा एमाले र एक स्थानमा नयाँ शक्ति पार्टी नेपाल बिजयी भएको थियो । 
तर, अहिले राष्ट्रिय स्तरबाटै पार्टीहरुको चुनावी रणनीति फरक भएपछि त्यसको प्रभाव सप्तरीमा पनि देखा परेको छ । पार्टीहरुले चुनावका लागि एक भन्दा बढी पार्टीसँग गठबन्धन गरेर प्रतिनिधिसभा र प्रदशेसभाका लागि रणनीति तयार गरेपछि अहिले जिल्लास्थित पार्टीहरु पनि सोही रणनीति तहत चुनावी अभियान र प्रचार प्रसारमा लागिपरेका छन् । 
यस जिल्लामा लोकतान्त्रिक गठबन्धनमा नेपाली काँग्रेस एक्लै रहेको छ भने बामगठबन्धनमा नेकपा एमाले, माओवादी केन्द्र र नेकपा संयुक्तको संयुक्त गठबन्धनले चुनावी पकड बलियो पार्दै गएको छ । यता स्थानिय तहको निर्वाचनमा फोरम र राजपा एक्ला एक्लै प्रतिष्पर्धा गरेकोमा अहिले दुबै मिलेर मधेशी गठबन्धन नबाएर चुनावमा होमिएका छन् । 
स्थानिय तहमा मधेशी गठबन्धनले जिल्लामा राम्रो परिणाम ल्याउन सफल भएपछि ती दुबै दलले गठबन्धन गरेर अहिले चुनावी प्रतिष्पर्धामा ओर्लेका छन् । 
यसैगरि क्षेत्र नं. १ मा प्रतिनिभिसभा निर्वाचनका लागि बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका निवर्तमान सांसद अशोक कुमार मण्डल चुनावी प्रतिष्पर्धामा देखिएका छन् । यस क्षेत्रमा उत्तरतर्फ थाहरु, पहाडी समुदायको वाक्लो बसोवास रहेको छ भने दक्षिण भेगमा जनजाती समुदायको वाक्लो बसोवास छ । उनी यसअघिको निर्वाचनमा दक्षिणी भेगकै जनताको मत पाएर बिजयी भएका थिए । 
त्यस्तै मधेशी गठबन्धनका तर्फबाट फोरमका डा. सूर्यनारायण यादव फोरमको उम्मेदवारी परेको छ । उनी वरिष्ठ बाल रोग विशेषज्ञ हुन् । उनले चुनाव लड्नका लागि सरकारी जागिरबाट समेत राजिनामा दिएका छन् । उनको यो पहिलो चुनावी अनुभव हो । 
यसैगरि काँग्रेसका तर्फबाट जिल्ला सदस्य रामदेव साह चुनावी प्रतिष्पर्धामा देखिएका छन् । उनी यसअघि सप्तरी जिल्लाको काँग्रेस सभापतिको उम्मेदवार थिए । उनको पनि पहिलो चुनावी अनुभव हो ।
क्षेत्र नं. १ को प्रदेशसभा १ मा राजपाका महासचिव राजकुमार लेखी, एमालेका २ नम्बर प्रदेश संयोजक सत्यनारायण मण्डल, काँग्रेसका डा. सुबोध पोखरेल र बाम गठबन्धनका बागी उम्मेदवार प्रकाश खतिवडाबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा आदिवासी जनजातीहरुको वाक्लो बसोवास छ । क्षेत्रको उत्तरी भेगमा पहाडी समुदाय र थारु आदिवासी जनजाती तथा राजमार्ग क्षेत्रमा केही पहाडी र बढी थारु समुदायको वाक्लो बसोबास रहेकोले यस क्षेत्रमा चुनावी प्रतिष्पर्धा निकै रोमान्चक हुने देखिन्छ ।
यस प्रदेशसभा क्षेत्रमा बामगठबन्धनले एमालेका तर्फबाट २ नं. प्रदेशका संयोजक तथा पूर्व खेलकुद मन्त्रि सत्यनारायण मण्डललाई चुनावी मैदानमा ओरालेको छ । उनलाई बामगठबन्धनका बिरुद्ध स्वतन्त्र उम्मेदबारी दिएका प्रकाश खतिवडाले पार्टीको निर्णयलाई चुनौती दिँदै चुनावी मैदानमा ओर्लेका छन् । त्यस्तै मधेशी गठबन्धनले राजपाका महासचिव राजकुमार लेखीलाई २ नं. प्रदेशको प्रस्तावित उपमुख्य मन्त्रिको उम्मेदवारका रुपमा अघि सारेको छ । उनी जनजाती महासंघका पूर्व अध्यक्ष एवं थारु कल्याणकारी समितिका पूर्व महासचिव समेत हुन् ।
त्यस्तै काँग्रेसका तर्फबाट डा. सुबोध पोखरेलले टिकट पाएका छन् । उनी पेशाले नेपालमै नाम चलेको यौन रोग बिशेषज्ञ हुन् । उनी काँग्रेसमा पुनःप्रवेशी नेता हुन् । उनी फोरम लोकतान्त्रिक काँग्रेसमा समावेश भएपछि पुनः काँग्रेसी नेता बनेका हुन् ।
यसरी हेर्दा यो प्रदेशसभा क्षेत्रमा बामगठबन्धनलाई आफ्नै बागिका उम्मेदवारको चुनौती थपिएको छ भने सबैभन्दा बढी थारु समुदायको बसोबास भएको क्षेत्रमा मधेशी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लेखीलाई आफ्नो समुदायको जनताले कतिको विश्वास गर्नेछ भन्ने कुरा चुनावको मतपरिणामले देखाउने छ । त्यस्तै थारुपछि पहाडी समुदायको बसोबास भएको क्षेत्रमा काँग्रेसी उम्मेदवार डा. पोखरेल पनि चुनाव जित्ने आशमा रहेका छन् भने बामगठबन्धको बिरुद्ध बागि उम्मेदवार खतिवडा पनि आफू चुनाव जित्नेमा आशावादी रहेका छन् ।
त्यस्तै क्षेत्र नं. १ को प्रदेशसभा २ मा मधेशी गठबन्धनका तर्फबाट राजपाका उपाध्यक्ष नवलकिशोर साह उम्मेदवार बनेका छन् । उनी यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा माओवादीका अशोक मण्डलसँग पराजित भएका थिए । तर, स्थानिय तहको निर्वाचनमा यस क्षेत्रमा पर्ने हनुमाननगर कंकालिनी नगरपालिकाको प्रमुख पदमा उनका छोरा शैलेश साह राजपाबाट निर्वाचित भएका छन् । सोही चुनावी रणनीति तहत उनी मधेशी गठबन्धनको तर्फबाट आफ्नो जित सुनिश्चित हुने देखेपछि प्रदेशसभामा लडेका हुन् । 
त्यस्तै बामगठबन्धनले माओवादी केन्द्रका नवप्रवेशी सकिल अलिलाई उम्मेदवार बनाएको छ । अलि यसअघि राप्रपामा थिए । उनी पनि यस क्षेत्रका मुश्लिम मतदाताको भोट बैंक हुन् । त्यस्तै काँग्रेसले क्षेत्रिय अध्यक्ष बद्री नारायण  महात्मान यादवलाई उम्मेदवार बनाएको छ । उनी लामो समयदेखी काँग्रेसका क्षेत्रिय सभापति रहेका छन् । तर, यादव समुदायबाट उनी बलियो उम्मेदवार भएकाले पार्टी भन्दा जातीय नारा लाग्ने हो भने उनको अवस्था राम्रै रहने अनुमान गरिएको छ । यस क्षेत्रमा तीनै गठबन्धनका उम्मेदवारहरु फरक–फरक जाती समुदायबाट रहेका छन् ।
क्षेत्र नं. २ मा मधेशी गठबन्धन, बामगठबन्ध र राजपाका बागि उम्मेदवारबीच त्रिकोणीय प्रतिस्पर्धा हुने देखिएको छ । किनभने काँग्रेसका उम्मेदवार एवं निर्वतमान सांसद सकलदेव सुतिहारले आफ्नो मनोनयन फिर्ता लिन निवेदन दिएपनि फिर्ता नभएपछि उनी चुनाव नलड्ने बताई सकेका छन् । तर, सप्तरी २ को प्रदेश सभा १ का उम्मेदवार रञ्जित कर्ण र प्रदेश सभा २ का उम्मेदवार महानन्द यादवले आफुहरु प्रतिनिधि सभामा पनि काँग्रेसकै उम्मेदवारको मत माग्ने बताएपछि मधेसी गठबन्धनका उम्मेदवारलाई काँग्रेसले सहयोग नगर्ने देखिएको छ । 
यता मधेशी गठबन्धनका उम्मेदवार उपेन्द्र यादवबिरुद्ध राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले उम्मेदवारी दिएपछि यस क्षेत्रमा निकै रोचक प्रतिष्पर्धा हुने देखिन्छ । चुनावी मैदानमा रहेका यादव यसअघि पहिलो र दोश्रो संविधान सभामा मोरंग र सुनसरीबाट चुनाव लडेका थिए । अध्यक्ष यादवले पहिलो संविधान सभामा मोरंग र सुनसरीको दुबै क्षेत्रबाट विजय प्राप्त गरेका थिए । तर, २०७० सालको दोश्रो संविधान सभाको निर्वाचनमा सुनसरीबाट मात्र विजय प्राप्त गर्न सफल भएका थिए ।
यस क्षेत्रबाट राजपाका सहमहासचिव जयप्रकाश ठाकुर फोरम अध्यक्ष उपेन्द्र यादवबिरुद्ध मधेशी गठबन्धनबाट असन्तुष्टि व्यक्त गर्दै यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनको उम्मेदवारीले मधेशी गठबन्धनको टाउँको दुखाई समेत भएको छ भने फोरम अध्यक्षलाई जसरी पनि जिताउने मधेशी गठबन्धलाई बाध्यता रहेको छ । अध्यक्ष यादव राष्ट्रिय राजनीतिको चर्चित ब्यक्ति र मधेस आन्दोलनको नेतृत्वकर्ता भएकाले अहिले भएका परिवर्तनहरुको श्रेय उनलाई नै जाने भएकाले उपेन्द्र यादवको जीत सजिलो भएको फोरमआबद्ध नेताहरु दाबी गर्छन् ।
त्यस्तै यस क्षेत्रबाट उनलाई कडा टक्कर दिन बमगठबन्धनले माओवादी केन्द्रका निवर्तमान सांसद एवं पूर्वसिंचाई मन्त्री उमेश प्रसाद यादवलाई चुनावी मैदानमा ओरालेको छ । उनी यसअघि २०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा तत्कालिन सप्तरी क्षेत्र नं. ३ बाट फोरमका उम्मेदवारलाई पराजित गरेका थिए । उनी यस पटक फोरम अध्यक्ष यादवलाई पराजित गरि पुनः निर्वाचनमा जित हासिल गर्न हरसम्भव प्रयासरत छन् । उनलाई एमालेका मतदाताहरुको साथ मिलेको छ भने यसअघिको संविधान सभा २ को चुनावमा सप्तरी १, सप्तरी २ र सप्तरी ३ मा क्रमशः माओवादीले विजयी हासिल गरेका थिए । विगतको २ र ३ नम्बर क्षेत्रको अधिकांश भाग अहिलेको २ नम्बर क्षेत्रमा परेको छ । त्यसअनुसार र आफू मन्त्री हुँदा गरेको कामले उमेश यादव आफ्नो जीत सुनिश्चित भएको बताउँछन् ।
क्षेत्र नं. २ को प्रदेशसभा १ मा पनि त्रिकोणिय प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा मधेशी गठबन्धका तर्फबाट फोरमका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह चुनावी मैदानमा देखिएका छन् । उनको यो दोश्रो पटकको चुनावी अभियान हो । यसअघि उनी संविधानसभामा तत्कालिन संसदीय क्षेत्र नं. ३ मा माओवादीका उमेशप्रसाद यादवसँग पराजित भएका थिए । तर, यस पटक पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई प्रतिनिधिसभाका लागि सिट सुरक्षित गरेर आफू प्रदेशसभामा लड्दै छन् । त्यस्तै बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नवप्रवेशी सरोज मण्डलले उम्मेदवारी दिएका छन् । उनी पेशाले इन्जिनियर हुन् । उनी मनोनयन दर्ता हुने एक दिन पहिला माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । त्यस्तै नेपाली काँग्रेसका तर्फबाट नेवि संघका पूर्वसभापति एवं निवर्तमान सांसद रन्जित कर्ण प्रतिष्पर्धामा रहेका छन् । उनको यो पहिलो प्रत्यक्ष चुनावी अनुभव हुनेछ । 
क्षेत्र नं. २ को प्रदेशसभामा २ मा तीनै गठबन्धनका उम्मेदवारहरु पहिलो पटक चुनावी मैदानमा ओर्लेका छन् । मधेशी गठबन्धनका तर्फबाट राजपाका अर्का महासचिव मनिषकुमार सुमनले उम्मेदवारी दिएका छन् । उनको यो पहिलो चुनावी अनुभव हो । यसअघि उनी कहिले चुनावी मैदानमा आएका थिएनन् । तर, पहिलो गाँसमै उनलाई आफ्नै पार्टीका क्षेत्रिय अध्यक्षको उम्मेदवारीले टाउँको दुखाई भएको छ । उनको बिरुद्धमा राजपाका क्षेत्रिय अध्यक्ष लक्ष्मण यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन् । तर, सुमन मधेशी गठबन्धनबाट उम्मेदवार भएकाले स्थिती बलियो रहने बताइन्छ । यस्तै यस क्षेत्रमा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य महेश यादवको उम्मेदवारी परेको छ । उनको पनि यो पहिलो निर्वाचन हो । त्यस्तै नेपाली काँग्रेसका तर्फबाट क्षेत्रिय अध्यक्ष महानन्द यादव चुनावी दौडमा रहेका छन् । उनको पनि यो पहिलो चुनावी अनुभव हो । 
सप्तरीको क्षेत्र नं. ३ मा दुई फरक फरक गठबन्धनबाट एकै परिवारका दुई दाजुभाई चुनावी प्रतिस्पधामा रहेका छन् । दाजु मधेशी गठबन्धनबाट चुनाव लडेका छन् भने भाई बाम गठबन्धनबाट । जिल्लाको डाक्नेश्वरी नगरपालिका ५ पातो बस्ने चन्द्रकान्त चौधरी र ताराकान्त चौधरी यस पटक सँगै निर्वाचन लडेका हन् । प्रतिनिधीसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट दुबैले एकसाथ उम्मेदबारी दिएका छन् । आमा दुई र बुबा एउटै भएका चन्द्रकान्त दाई हुन् भने ताराकान्त भाई हुन् । ताराकान्त बाम गठबन्धनबाट चुनाव लडेका छन् । एमालेका सकृय कार्यकर्ता ताराकान्त दोस्रो संविधानसभा निर्वाचनमा एमालेको साख सप्तरीबाट बचाएका थिए । तत्कालिन क्षेत्र नम्बर ४ बाट उनी निर्वाचित भएका थिए । 
यस्तै दाई चन्द्रकान्त भने मधेशी गठबन्धनबाट उम्मेदबार बनेका छन् । उनलाई राष्ट्रिय जनता पार्टी (राजपा) ले टिकट दिएको छ । फोरम नेपाल र राजपा गठबन्धनबाट उम्मेदबार बनेका चन्द्रकान्त भने काँग्रेस पृष्ठभूमीका हुन् । शुरुवाती समयमा काँग्रेसमा सकृय रहेका उनी स्थानीय तहको निर्वाचनमा पनि डाक्नेश्वरी नगरपालिकामा स्वतन्त्रबाट उम्मेदबारी दिएका थिए । तर पराजित रहे । 
चौधरी दाजुभाई लडेको यो क्षेत्रमा काँग्रेसबाट जिल्ला सभापति नै उम्मेदबार बनेका छन् । काँग्रेसका जिल्ला सभापति दिनेश यादव यो क्षेत्रको प्रतिनिधीसभाका लागि उम्मेदबार छन् । तर, सभापति यादव यसअघि दुई संविधानसभा निर्वाचनमा पराजित भइसकेका छन् । 
क्षेत्र नं. ३ को प्रदेशसभा १ मा तीन गठबन्धनबीच प्रतिष्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा मधेशी गठबन्धनका तर्फबाट राजपाका केन्द्रिय सदस्य दिनेश यादव दोश्रो पटक चुनावी मैदानमा ओर्लेका छन् । यसअघि उनी संविधानसभा २ मा क्षेत्र नं. ५ बाट चुनावी लडेका थिए । उनी सद्भावना पार्टीका तर्फबाट दुई कार्यकाल स्ववियु सभापति समेत भएका थिए । त्यस्तै बाम गठबन्धनका तर्फबाट एमालेका महेश प्रसाद चौधरीले उम्मेदवारी दिएका छन् । उनको पहिलो चुनावी अनुभव हो । त्यस्तै नेपाली काँग्रेसका तर्फबाट मो. समिमलाई टिकट दिइएको छ । महाधिवेशन प्रतिनिधि रहेका उनी काँग्रेसका माथिल्लो तहका नेताका विश्वासपात्रको रुपमा रहेका छन् । उनको काठमाडौंमा आफ्नै कन्सल्टेन्ट रहेको छ । 
क्षेत्र नं. ३ को प्रदेशसभा २ मा बाम गठबन्धनका तर्फबाट एमालेका सप्तरी उपाध्यक्ष अब्दुल मजिद साकिरलाई चुनावी मैदान ओरालेको छ । त्यस्तै मधेशी गठबन्धनका तर्फबाट राजपाका बिदेश्वर यादवले टिकट पाएका छन् । त्यसैगरि काँग्रेसका तर्फबाट पूर्व क्षेत्रिय सभापति भगवती यादव चुनावी मैदानमा देखा परेका छन् । यी तिनै उम्मेदवारको यो पहिलो चुनावी अनुभव हुनेछ । यता यस प्रदेशसभा क्षेत्रमा नयाँ शक्ति पार्टीबाट जिल्ला जनस्वास्थ्य सप्तरीका अवकास प्राप्त कर्मचारी डम्बर नारायण साहले पहिलो पटक चुनावी अनुभव बटुल्दै छन् । त्यस्तै यसै क्षेत्रबाट मधेश गठबन्धनका बागि तथा फोरमका जिल्ला अध्यक्षका प्रत्यासी सुरेन्द्र यादवले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । यसअघि उनलाई स्थानिय तहमा बेल्हीचपेना गाउँपालिकाबाट फोरमका तर्फबाट अध्यक्षको टिकट दिएपनि रातारात सो टिकट खोसिएको थियो । र अहिले पनि फोरमबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवारी दिएका हुन् । आन्दोलनसँगै स्थानिय जनतामाझ बढी समय बिताउने उनको अवस्था बलियो रहेको समर्थकहरु बताउछन् । 
क्षेत्र नं. ४ मा तीनै गठबन्धनका अति अनुभवी उम्मेदवारहरुबीच तिब्र प्रतिस्पर्धा हुदैछ । मधेशी गठबन्धनका तर्फबाट राजपाका वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री समेत रहेका मृगेन्द्रकुमार सिंह यादवले प्रतिष्पर्धा गरिरहेका छन् । उनी यसअघिको संविधानसभा निर्वाचनमा झिनो मतले पराजित भएका थिए । त्यो पनि आफ्नै सहोदर भाई अनिरुद्ध प्रसाद सिंह यादवसँग । अनिरुद्ध फोरम नेपालका तर्फबाट उम्मेदवार भएका थिए भने मृगेन्द्र फोरम लोकतान्त्रिकका तर्फबाट । सो समयमा दाजु भाईको चुनावी प्रतिष्पर्धामा काँग्रेसका सुरेन्द्र यादवले बाजी मारेका थिए । त्यस्तै संविधानसभा २ मा मृगेन्द्र यादवलाई निकै कडा टक्कर दिएका स्वतन्त्र उम्मेदवार मो. इस्लामले भने यस पटक बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार बनेका छन् । उनी प्रतिनिधिसभा २ मा झिनो मतअन्तरले तेश्रो स्थान प्राप्त गरेका थिए । त्यस्तै काँग्रेसका तर्फबाट वर्तमान युवा तथा खेलकुद राज्य मन्त्रि तेजुलला चौधरी चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । उनी यसअघि पनि चुनाव जितेका थिए । 
क्षेत्र नं. ४ को प्रदेशसभा १ मा बामगठबन्धनका तर्फबाट एमालेका जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले उम्मेदवारी दिएका छन् । यसअघि उनी संविधानसभा निर्वाचनमा काँग्रेसका तेजुलाल चौधरीसँग झिनो मतले पराजित भएका थिए । त्यस्तै मधेशी गठबन्धनका तर्फबाट फोरम नेपालका जिल्ला सहसंयोजक बिनोद चौधरी चुनावी प्रतिष्पर्धामा देखिएका छन् । त्यस्तै काँग्रेसका तर्फबाट सिताराम साहले उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा बाम र मधेशी गठबन्धनबीच कडा टक्कर हुनेछ । 
क्षेत्र नं. ४ को प्रदेशसभा २ मा मधेशी गठबन्धनका तर्फबाट फोरम नेपालका अभिषेक यादव पहिलो पटक चुनावी मैदानमा उत्रेका छन् । उनी फोरम उपाध्यक्ष रेणु यादवका छोरा हुन् । त्यस्तै बाम गठबन्धनले माओवादी केन्द्रका नवप्रवेशी शशी प्रसाद यादवलाई चुनावी मैदानमा लडाएको छ । उनी यसभन्दा अघि राजपामा थिए । त्यस्तै काँग्रेसका तर्फबाट पूर्व उपराष्ट्रपति परमानन्द झाका भतिजा विवेकानन्द झाले प्रतिस्पर्धा गर्दैछन् । उनी विश्वास झाको नामबाट ठेक्कापट्टामा चर्चित छन् । 
यता संविधानसभा २ मा तीन वटा संसदीय क्षेत्र जितेको माओवादीलाई अहिले साख जोगाउन बाम घटकहरुसँग मिलेर गठबन्धन गरेको छ भने मधेश आन्दोलनको उर्भर भूमि मानिएको सप्तरीमा मधेशी गठबन्धनलाई जित हासिल गर्न निकै ठूलो चुनौती थपिएको छ । सप्तरीबाटै फोरम अध्यक्ष उपेन्द्र यादव समेत चुनावी मैदानमा रहेको बेला मधेशी दलले सम्पूर्ण ताकत लगाएको छ । तर, चुनौती पनि कम छैन । फोरम राजपा गठबन्धनबाटै स्वतन्त्र रुपमा राजपाका सहमहामन्त्री जयप्रकाश ठाकुरले उम्मेदवारी दिएपछि उक्त गठबन्धनको मत बाडिने सम्भावना समेत देखिएको छ ।  
संविधानसभा २ मा ६ क्षेत्र मध्ये तीनमा माओवादी, दुईमा काँग्रेस र एउटा क्षेत्रमा एमाले जितेको थियो भने मधेशसवादी दलको सहभागिता भने शुन्य थियो । तर, स्थानिय निर्वाचनमा संविधानसभा निर्वाचनको परिणामको ठिक उल्टो देखियो । स्थानिय निर्वाचनमा मधेशी दलको जिल्लामा १० सीट ल्याए भने माओवादीको संख्या शुन्य रहयो । 
यसअघि स्थानीय तहमा मधेशी गठबन्धनले प्रमुख र अध्यक्ष पद गरी १० स्थानमा बिजयी हासिल गरेको थियो भने सोको मत जोड्दा गठबन्धनको कुल कत ७६ हजार १ सय २५ हुनजान्छ । त्यस्तै बाम गठबन्धन मध्ये एमालेले २ स्थानमा बिजयी हासिल गर्दा माओवादी केन्द्र समेतको मत जोड्दा ५८ हजार १८ पुग्छ । त्यस्तै काँग्रेसले ५ स्थानमा जित हासिल गरेको अवस्थामा कुल मत ४४ हजार १ सय ९८ हुनजान्छ । 
यसरी हेर्दा स्थानिय तहको मत अनुसार मधेशी गठबन्धन निकै बलियो अवस्था रहेको छ भने बाम गठबन्धन दोश्रो र लोकतान्त्रिक गठबन्धन तेश्रो अवस्थामा रहेको छ । 
तर, स्थानिय तहको निर्वाचनमा पार्टी भन्दा पनि व्यक्ति छबिका कारण मतदाताहरु रोजि रोजि मतदान गर्ने हुनाले खसेको मतको २० प्रतिशत मत कटौती गर्दा समेत मधेशी गठबन्धन अहिलेको निर्वाचनमा बलियो अवस्थामा देखिएको छ । किनभने स्थानिय तहको निर्वाचनमा अधिकांश स्थानमा राजपा फोरमबीच नै प्रतिस्पर्धा देखिएको थियो । तर, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भने खस्ने मत स्थानिय तह भन्दा फरक रहेकोले अबको निर्वाचनमा कुन गठबन्धन बलियो र कमजोर हुने कुरा मंसिर २१ को निर्वाचनपछि मात्र थाहा हुनेछ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट