News Category 2074/08/01

नौं सदस्यीय समन्वय समितिका लागि २१ को उम्मेदवारी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३० कात्तिक । 
जिल्ला समन्वय समिति सप्तरीको ९ सदस्यीय कार्य समितिका लागि बिहीबार २१ जना जनाको मनोनयन परेको छ । 
मंसिर ७ गते हुने समन्वय समितिको निर्वाचनका लागि प्रमुख पदमा दुई, उपप्रमुखमा तीन, सदस्यका लागि ८, महिला सदस्यका लागि ६ र दलित अल्पसंख्यक सदस्यका लागि दुई जनाको मनोनयन परेको निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ । 
मनोनय परेका उम्मेदवारहरुमा प्रमुख पदका लागि राजपाबाट प्रभाकर यादव र काँग्रेसबाट भुपेन्द्र नारायण यादवले मनोनयन दर्ता गराएका छन् । यस्तै उपप्रमुखका लागि फोरमबाट थानेश्वर यादव, काँग्रेसबाट संगिता कुमारी कर्ण र एमालेबाट संजयकुमार पासमानले उम्मेदवारी दिएका छन् । 
त्यस्तै सदस्यका लागि फोरमबाट ओमप्रसाद यादव, ननुकुमार यादव र सालिम मियाँको उम्मेदवारी परेको छ भने राजपाबाट मो. दाउद हुसेन, काँग्रेसबाट धर्मदेव यादव, बैद्यनाथ प्रसाद गुप्ता, रामसुन्दर मण्डल र एमालेबाट चित्र बहादुर मगरको उम्मेदवारी परेको छ । 
त्यसैगरि महिला सदस्यका लागि काँग्रेसबाट असियादेवीवत्ति विश्वकर्मा, फोरमबाट आशादेवी झा, एमालेबाट केशरीदेवी यादव, राजपाबाट गिताकुमारी खंग, लक्ष्मीदेवी साफी र लोकतान्त्रिक फोरमबाट सुनितादेवी चौंधरी थरुनीको मनोनयन परेको छ । 
त्यस्तै दलित अल्पसंख्यक सदस्यमा फोरमबाट बलदेव बाँतर र काँग्रेसबाट मनविर साफीको उम्मेदवारी परेको छ । 
यसअघि असोज २ गते सम्पन्न स्थानिय तह निर्वाचनमा जिल्लाको १८ स्थानिय तहमा फोरम, राजपा र काँग्रेसले पाँच÷पाँच, एमाले दुई तथा नयाँ शक्ति पार्टीले एक स्थानमा बिजयी भएको थियो । 
यी १८ स्थानिय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष गरि ३६ जना जनप्रतिनिधिले समन्वय समितिका लागि मतदान गर्ने प्रावधान रहेको छ । यता रापजाले पाँच स्थानिय तहको दुबै र एक स्थानिय तहमा उपाध्यक्ष पद गरि ११ तहमा जित हासिल गरेको थियो । यस्तै फोरमले चार स्थानिय तहको दुबै पद र एक स्थानिय तहमा उपप्रमुख पदमा गरि ९ तहमा जित हासिल गरेको थियो । 
त्यस्तै काँग्रेसले पाँच स्थानिय तहको दुबै पद र दुई स्थानिय तहमा उपप्रमुख गरि १२ पदमा जित हासिल गरेको थियो । यस्तै एमालेले एक स्थानिय तहमा दुबै पद र एकमा उपाध्यक्ष गरि तीन स्थानिय तह तथा नयाँ शक्तिले एक अध्यक्ष पदमा जित हासिल गरेको थियो । 
यता मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि राजपा फोरमले गठबन्धन गरि निर्वाचनमा संयुक्त रुपमा उम्मेदवारी दिएको छ । श्रोतका अनुसार यी दुबैकै गठबन्धन समन्वय समितिमा पनि लागु हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट