News Category 2074/08/05

चारै क्षेत्रमा त्रिपक्षिय प्रतिस्पर्धा निश्चित्

दैनिक समाचारदाता

नवीनकुमार गुप्ता
राजविराज, ४ मंसिर । 
आगामी मसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीको चारै प्रतिनिधिसभा क्षेत्रमा त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ ।
जिल्लाको क्षेत्र नं. १ मा मधेश गठबन्धनका तर्फबाट साँझा उम्मेदवार डा. सूर्यनारायण यादव र बामगठबन्धका साँझा उम्मेदवार अशोक कुमार मण्डलबीच तिब्र प्रतिष्पर्धा हुने देखिएको छ भने नेपाली काँग्रेसका उम्मेदवार रामदेव साहले पनि चुनावी प्रतिस्पर्धालाई उथलपुथल गर्न सक्ने सम्भावना देखिएको छ । त्यस्तै सोही क्षेत्रको प्रदेश सभा १ बाट मधेश गठबन्धनका एवं राजपाका महासचिव राजकुमार लेखी, नेपाली काँग्रेसका डा. सुबोध पोखरेल, बामगठबन्धनका एवं एमाले २ नं. प्रदेश संयोजक सत्यनारायण मण्डल र स्वतन्त्र उम्मेदवार प्रकाश खतिवडाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यद्दपी यो प्रदेश सभा क्षेत्रमा अन्ततः मधेश गठबन्धनका उम्मेदवार लेखी र नेपाली काँग्रेसका उम्मेदवार पोखरेलबीच रोचक चुनावी प्रतिस्पर्धा हुने स्थानियवासीले आंकलन गरेका छन् । त्यस्तै सोही क्षेत्रको प्रदेश सभा २ मा मधेश गठबन्धनका उम्मेदवार एवं राजपाका उपाध्यक्ष नवलकिशोर साह र नेपाली काँग्रेसका बद्रीमहात्मान यादवबीच प्रतिस्पर्धा हुने देखिएको छ भने बामगठबन्धनका उम्मेदवार मो. सकिलले समेत चुनावी प्रतिस्पर्धालाई केही रोचक बनाउने छन् । 
त्यस्तै २ नं. क्षेत्रमा मधेश गठबन्धनका लागि अत्यन्त चुनौती थपिएको छ । यस क्षेत्रमा मधेश गठबन्धनका तर्फबाट फोरम अध्यक्ष उपेन्द्र यादव चुनावी प्रतिस्पर्धामा रहेका छन् भने बामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेश यादवबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यता यी दुबै उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले चुनौती दिन तयार रहेका छन् । यस क्षेत्र तीनै उम्मेदवारका लागि प्रतिष्ठासँग जोडिएको छ । त्यस्तै यसै क्षेत्रको १ नं. प्रदेशसभा क्षेत्रमा मधेश गठबन्धनका साँझा उम्मेदवार शैलेन्द्र साह, काँग्रेसका रन्जित कर्ण र बामगठबन्धका सरोज मण्डलबीच तिब्र प्रतिस्पर्धा हुने सम्भावना रहेको छ । यसैगरि प्रदेश सभा २ मा राजपा महासचिव मनिष सुमन, बाम गठबन्धनका महेश यादव, काँग्रेसका महानन्द यादव र स्वतन्त्र उम्मेदवार लक्ष्मण यादवबीच कडा चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । 
त्यसैगरि क्षेत्र नं. ३ मा मधेश गठबन्धनका चन्द्रकान्त चौधरीलाई आफ्नै भाई बामगठबन्धनका ताराकान्त चौधरी चुनौती दिन तयार देखिएका छन् भने यी दाजुभाईबीचको चुनावी प्रतिस्पर्धामा काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादव समेत चुनावी मैदानमा चट्टान भएर खडा भएका छन् । यस क्षेत्रमा त्रिपक्षिय प्रतिस्पर्धा हुने पक्का छ । त्यस्तै यसै क्षेत्रको १ नं. प्रदेशसभामा मधेश गठबन्धनका दिनेश यादव, काँग्रेसका मो. समिम र बाम गठबन्धनका महेश चौधरीबीच प्रतिस्पर्धा हुने देखिएको छ । त्यस्तौ २ नं. प्रदेशसभा क्षेत्रमा मधेश गठबन्धनका बिदेश्वर यादव, काँग्रेसका भगवति यादव, बाम गठबन्धनका एवं एमाले सप्तरीका उपाध्यक्ष मो. मजिद साकिर र स्वतन्त्र उम्मेदवार सुरेन्द्र यादवबीच प्रतिस्पर्धा देखिएको छ । 
यसैगरि क्षेत्र नं. ४ मा तीन ठूला उम्मेदवारबीच अत्यन्त कडा प्रतिस्पर्धा हुने भएको छ । मधेश गठबन्धनका साझा उम्मेदवार एवं राजपाका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, काँग्रेसका युवा तथा खेलकुद राज्य मन्त्रि तेजुलाल चौधरी र बाम गठबन्धनका उम्मेदवार मो. इस्लामबीच अत्यन्त रोचक प्रतिस्पर्धा हुनेछ । यस क्षेत्रमा तीनै उम्मेदवारको वर्चस्वको चुनावी प्रतिस्पर्धा हुने स्थानियवासीको भनाई छ । यसै क्षेत्रको प्रदेशसभा १ मा बामगठबन्धनका एवं एमाले सप्तरीका अध्यक्ष गोबिन्द न्यौपाने, मधेश गठबन्धनका बिनोद चौधरी र काँग्रेसका सिताराम साहबीच चुनावी प्रतिस्पर्धा हुनेछ । त्यस्तै प्रदेश सभा २ मा मधेश गठबन्धनका अभिषेक यादव, बामगठबन्धनका शशि यादव र काँग्रेसका विवेकानन्द झाबीच प्रतिस्पर्धा हुने भएको छ । 
३ लाख ४६ हजार २ सय १४ मतदाता रहेको यस जिल्लामा चार प्रतिनिधिसभा र ८ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । चारै प्रतिनिधिसभा क्षेत्रमा ५५ तथा ८ प्रदेशसभा क्षेत्रमा ९९ जनागरि १ सय ५४ जनाले उम्मेदवारी दिएका छन् । यस्तै निर्वाचनलाई लक्षित गरी सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लामा एउटा पनि मतदानस्थल सुरक्षाका दृष्टिकोणले सामान्य रहेको छैन् । जिल्लाका कुल २ सय ९५ मतदानस्थलमध्ये २ सय ७  अति संवेदनशील र ८८ संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जानकारी दिएका छन् । 
सप्तरी क्षेत्र नं १ मा अति संवेदनशील ३२ र संवेदनशील ४८, क्षेत्र नं २ मा कायम भएको ६८ मतदानस्थल नै अति संवेदनशील रहेको छ  । क्षेत्र नं ३ मा अति संवेदनशील ७७ र संवेदनशील १७ तथा क्षेत्र नं ४ मा अति संवेदनशील ५१ र संवेदनशील २३ रहेको छ । 
जिल्लाका अधिकांश मतदानस्थल भारतीय सीमासँग जोडिएका कारण पनि मतदान स्थलमा हुनसक्ने आपराधिक गतिविधिलाई ध्यानमा राखी मतदानस्थल सुरक्षाका लागि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
जिल्लामा निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था मजबुत पार्न जिल्लाको सम्पूर्ण मतदानस्थललार्ई वर्गीकरण गरी सोहीअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी गरी चार हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट