News Category 2074/08/09

क्षेत्र नं. २ प्रतिष्ठाको चुनावी रणभूमि, दुई गठबन्धनका बीचमा स्वतन्त्र उम्मेदवारको चुनौती

दैनिक समाचारदाता

नवीनकुमार गुप्ता
राजविराज, ८ मंसिर । 
सप्तरी जिल्लाको चार प्रतिनिधिसभा निर्वाचन क्षेत्र मध्ये अत्यन्त प्रतिष्ठाको विषय बनेको क्षेत्र नं. २ मा अहिले चुनावी सरगर्मी निकै तातेको छ । 
७९ हजार २ सय ६३ मतदाता रहेको यस क्षेत्रमा मधेश गठबन्धनका तर्फबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, बामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य उमेश यादव र राजपाका पूर्व सहमहामन्त्री एवं पार्टीबाट असन्तुष्ट भई स्वतन्त्र रुपमा उम्मेदवारी दिएका जयप्रकाश ठाकुर चुनावी मैदानमा छन् । यता काँग्रेसका उम्मेदवार सकलदेव सुतिहारले मधेश गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गरेका छन् ।  
फोरम राजपाको चुनावी गठबन्धन र एमाले माओवादीबीचको चुनावी तालमेललाई हेर्ने हो भने यी दुई गठबन्धनबीच नै अन्तिम प्रतिष्पर्धा हुने देखिन्छ । तर, स्वतन्त्र रुपमा उम्मेदवारी दिएका ठाकुर पनि यी दुबै गठबन्धनका उम्मेदवारलाई चुनौती दिन पछाडी छैनन् । 
चुनावी मैदानमा रहेका यादव यसअघि पहिलो र दोश्रो संविधान सभामा मोरंग र सुनसरीबाट चुनाव लडेका थिए । अध्यक्ष यादवले पहिलो संविधान सभामा मोरंग र सुनसरीको दुबै क्षेत्रबाट विजय प्राप्त गरेका थिए । तर, २०७० सालको दोश्रो संविधान सभाको निर्वाचनमा सुनसरीबाट मात्र विजय प्राप्त गर्न सफल भएका थिए । उनलाई प्रदेश नम्बर २ को पर्सा, सिरहा र सप्तरी तथा प्रदेश नम्बर १ को मोरंग र सुनसरीबाट प्रतिनिधी सभाकालागी जिल्लाका नेता तथा कार्यकर्ताले उम्मेदवारी दिन सिफारिस तथा आग्रह गरेपछि सप्तरीको यस क्षेत्रबाट उम्मेदवारी दिएका हुन् ।
त्यस्तै यस क्षेत्रबाट उनलाई कडा टक्कर दिन चुनावी मैदानमा रहेका माओवादी केन्द्रका एवं पूर्वसिंचाई मन्त्री उमेश प्रसाद यादवले यसअघि २०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा तत्कालिन सप्तरी क्षेत्र नं. ३ बाट फोरमका उम्मेदवारलाई पराजित गरेका थिए । उनी यस पटक फोरम अध्यक्ष यादवलाई पराजित गरि पुनः निर्वाचनमा जित हासिल गर्न हरसम्भव प्रयासरत छन् । विगतको २ र ३ नम्बर क्षेत्रको अधिकांश भाग अहिलेको २ नम्बर क्षेत्रमा परेको छ ।
यसैगरि राजपाका पूर्व सहमहामन्त्री जयप्रकाश ठाकुर मधेश गठबन्धनको बिरुद्ध बागि उम्मेदवार हुन् । उनी मधेशी गठबन्धनबाट असन्तुष्टि व्यक्त गर्दै यस क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका हुन् । 
काँग्रेसले उपेन्द्रलाई गरेको समर्थन पत्रमा यस्तो भनिएको छ,
काँग्रेसको केन्द्रिय परिपत्र अनुसार सप्तरी प्रतिनिधि सभा क्षेत्र नं. २ बाट मधेश गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गर्न निर्देशन आएको छ । 
यसैबीच काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवद्वारा जारि निर्देशनमा भनिएको छ, “उपरोक्त सम्बन्धमा नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको चलानी नं. १९७, मिति २०७४÷७÷२४ को परिपत्र अनुसार सप्तरी प्रतिनिधि सभा क्षेत्र नं. २ बाट मधेश गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई समर्थन गर्न निर्देशन आएको हुँदा तपाई मातहतका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई सोही अनुसार कार्यान्वयन गरि सहयोग गर्न हार्दिक अनुरोध छ । प्राविधिक रुपमा हाम्रो पार्टीको सप्तरी प्रतिनिधि सभा क्षेत्र नं. २ मा उम्मेदवारी रहेपनि सो क्षेत्रमा मधेश गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई हाम्रो उम्मेदवार सकलदेव सु्तिहार समेतले समर्थन गरेको हुँदा सोही अनुसार सहयोग गर्न सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई अपील गर्दछु ।”
स्थनीय तह अनुसार मधेश गठबन्धन बलियो
यता यस क्षेत्रमा पर्ने स्थानीय तहको आधारमा मधेशी गठबन्धन नै बलियो देखिएको छ । २ नं. क्षेत्रमा छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, महदेवा गाउँपालिका र राजविराज नगरपालिका पर्दछ । 
छिन्नमस्ता गाउँपालिकाको उपाध्यक्षमा राजपा, तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा राजपा, महदेवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा फोरम र राजविराज नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा राजपा बिजयी भएका छन् । 
अयसलाई अझ प्रष्ट पार्ने हो भने यी चारै स्थानिय तहमा प्रतिष्पर्धा राजपा र फोरम नै रहेको थियो भने एमाले र माओवादी तेश्रो र चौथो स्थानमा रहेको थियो । 
तर, स्थानिय तहको निर्वाचनमा पार्टी भन्दा पनि व्यक्ति छबिका कारण मतदाताहरु रोजि रोजि मतदान गर्ने हुनाले खसेको मतको २० प्रतिशत मत कटौती गर्दा समेत मधेशी गठबन्धनको अवस्था अहिले पनि बलियो नै देखिएको छ । यद्दपी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भने खस्ने मत स्थानिय तह भन्दा फरक रहेकोले अबको निर्वाचनमा को बलियो र को कमजोर भन्ने कुरा मंसिर २१ को निर्वाचनपछि मात्र थाहा हुनेछ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट