News Category 2070/08/21

चार मधेशवादी दलबिच एकीकरण हुने

दैनिक समाचारदाता


दैनिक संवाददाता
राजविराज, २० मंसिर । 
संबिधानसभा निर्वाचनमा पराजय भोगेको साना चार मधेसवादी दलबीच एकीकरण हुने भएको छ । 
मधेसी जनअधिकार फोरम गणतान्त्रिक, संघीय सद्भावना, मधेश तराई फोरम र नेपाल सद्भावना पार्टी एकीकरण हुने भएको हो । 
चार पार्टीले बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी आगामी दिनमा पार्टी एकीकरण गरेर मधेशमा जाने बताएका छन् ।
फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले यसपालीको संविधानसभाबाट आएको परिणामको कारण मधेसी दलहरुबीच सहकार्य वा एकीकरण हुन नसक्नु रहेको बताउनुभयो ।
संघीयतासहितको संविधान र स्वायत्त मधेस प्रदेशका लागि मधेसमा एउटा दरिलो शक्तिको आवश्यकताको महसुस गरेर विचार मिल्ने पार्टीहरुसँग एकीकरण गर्न लागेको उहाँको भनाई छ ।
संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा मंसिर ४ गतेको संविधानसभाको निर्वाचनको परिणाम नियोजित, धाँदलीपूर्ण र षड्यन्त्रमूलक रहेको विभिन्न घटना, तथ्य र प्रवृतिले प्रमाणित गरेको दावी गरिएको छ । फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, संघीय सद्भावनाका अध्यक्ष अनिलकुमार झा, मधेश तराई फोरमका अध्यक्ष अमर यादव र नेपाल सद्भावना पार्टी (सरिता गिरी)का प्रवक्ता प्रविण लाभद्वारा हस्ताक्षरित संयुक्त प्रेस विज्ञप्तिमा, ‘परिवर्तनकामी शक्तिहरुलाई पुनः आन्दोलनमा धकेल्ने र देशमा अस्थिरता निम्त्याउने जालझेल र षड्यन्त्रको तानावाना बुनिदैंछ’ उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट