News Category 2074/08/24

सप्तरी २ मा फोरम अध्यक्ष उपेन्द्र र ३ मा राजपाका चन्द्रकान्त निर्वाचित

दैनिक समाचारदाता

राजविराज÷सप्तरी प्रतिनिधिसभा क्षेत्र २ बाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र ३ बाट राजपाका उम्मेदवार चन्द्रकान्त चौधरी निर्वाचित भएका छन् । 
शनिबार सम्पन्न प्रतिनिधि सभा क्षेत्रको मतगणना अनुसार फोरम अध्यक्ष यादव प्रतिनिधि सभा सदस्यका लागि १० हजार ४० मतअन्तरले निर्वाचित भएका हुन् । 
अध्यक्ष यादवले २१ हजार ६ सय २० मतप्राप्त गरि निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी बाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका माओवादी केन्द्रका उमेश कुमार यादवले ११ हजार ५ सय ८० मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ९ हजार ४ सय ५९ मत प्राप्त गरि तेश्रो स्थानमा रहे ।  
यस क्षेत्रमा ८९ हजार २ सय ६३ मतदाता रहेकोमा ५२ हजार ५ सय २२ मत खसेको थियो । जसमा ४७ हजार २ सय ९७ मत सदर भएको र ५ हजार २ सय २५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ ।
त्यसैगरि क्षेत्र नं. ३ बाट राजपाका उम्मेदवार चन्द्रकान्त चौधरी ३ हजार १ सय ८३ मतअन्तरले निर्वाचित भए । उनले २२ हजार ५ सय ८४ मत ल्याई बिजयी भएका हुन् । 
उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार दिनेश यादवले सुरुदेखी नै कडा चुनौती दिँदै आएका थिए । यादवले  १९ हजार ४ सय १ मत प्राप्त गरे । त्यस्तै तेश्रो स्थानमा रहेका चन्द्रकान्तका भाई एमालेका उम्मेदवार ताराकान्त चौधरीले ११ हजार १ सय ८८ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा ८५ हजार ४ सय ८९ मतदाता रहेकोमा ६० हजार ४ सय ७१ मत खसेको थियो । जसमा ५५ हजार २ सय ५७ मत सदर भएको थियो भने ५ हजार २ सय १४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट