News Category 2074/09/06

ग्यास उद्योगमा आगलागि हुँदा दुई अग्नि नियन्त्रकको मृत्यु, तीन गम्भिर

दैनिक समाचारदाता

दैनिक समाचारदाता
विरगञ्ज, ५ पुस । 
औद्योगिक नगरी बिरगञ्ज महानगरपालिका वडा नं. १८ भवानीपुरस्थित सुखचैनामा रहेको सुपर ग्यास उद्योगमा बुधबार आगलागि हुँदा दुई अग्नि नियन्त्रकको मृत्यु भएको हुनुका साथै तीन जना गम्भिर घाइते भएका छन् । 
आगलागि नियन्त्रणमा लिन वीरगंज महानगरपालिकाका दमकल पुगेको र आगो नियत्रन्त्रणका लागी आवश्यक तयारी गर्दा गर्दै अचानक दमकलमै आगो लागेपछि महानगरपालिकाका अग्नि नियन्त्रक यादव प्रसाद अधिकारी र मधुसुधन मिश्रको घटनास्थलमै मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले बताएका छन् ।  
आगो नियन्त्रणमा लिने क्रममा गम्भिर घाइते भएका वीरगंज महानगरपालिकाका अग्नि नियन्त्रकहरु अम्बिका पटेल, अरुण महतो र सविन नेपालको वीरगंजमा उपचारमा हुन नसकेपछि थप उपचारको लागी हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको छ । महतोको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने नेपालको किर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
यता अर्का घाइते अम्बिका पटेलको वीरगंजस्थित वीरगंज हेल्थ केयरमा उपचार भइरहेको छ । आगो नियन्त्रणमा लिन कलैया, सिमरा र हेटौडा उप महानगरपालिका, नेपाल आयल निगम अमलेखगंज, चन्द्रपुर नगरपालिका र भारतको रक्सौलबाट समेत दमकलहरु आएको भएपनि ग्यासको आगो नियन्त्रण गर्न फमयुक्त दमकल नहुदा समस्या भएको थियो ।
यता सो आगो आठ घण्टापश्चात् नियन्त्रणमा आएको छ । अचानक उद्योगमा बिहान सवा ६ बजे देखी शुरु भएको आगलागि दिउसो करिब साढे २ बजे नियन्त्रणमा आएको हो । 
आगोलाई भारत लगायत विभिन्न ग्यास उद्योगबाट आएका प्राविधिकहरुको टोलीले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको हो ।
उद्योग परिसर भित्र रहेका ग्यास भरिएका सयौ सिलिन्डरहरु विष्फोट भएर सकिएपछि ४ वटा ग्यास बुलेटमा आगालागी हुदा बुलेटको आगो बाहिर फैलिन नपाई नियन्त्रणमा आएको कारण वीरगंजमा ठुलो दुर्घटना हुनबाट जोगिएको पर्साका प्रमुख जिल्ला अधिकारी सिंहले बताए । 
आगालागीपछि घटनास्थलमा बारा, पर्साका प्रमुख जिल्ला अधिकारी, प्रदेश नं.२ का प्रहरी प्रमुख विजयलाल कायस्थ,नेपाल प्रहरी र शसस्त्र प्रहरीका डिआईजी, जिल्लास्थित प्रमुखहरु नेपाली सेनाका महासेनानी सहितको टोली खटिएको थियो । 
यता उद्योगमा ग्यास लिकेज भएपछि उद्योगका संचालकले वीरगंज महानगरपालिकामा फोन गरे लगतै विना तयारी पुगेको कर्मचारीको टोलीले प्राविधिक ज्ञानको अभावमा हतार गरि ग्यासको आगो नियन्त्रणमा लिन खोज्दा दुखद घटना भएको प्राविधिकहरुले बताएका छन् । 
यो घटनाले देशभर संचालिन ग्यास उद्योग तथा सरकारलाई समेत उद्योगहरुमा ग्यास लिकेज हुदा हुन सक्ने आगलागीलाई द्धृष्टिगत गरि पुर्वतयारी अवस्थामा रहनु पर्ने पाठ सिकाएको छ । 
यसैबीच ग्यास उद्योग नजिकै बाक्लो बस्ती रहेको र वीरगंज महानगरपालिकाको वडा नं. १८, २२ र २३ मा पर्ने सुखचैना, ईटियाही, भवानीपुर, पटेलनगर र ईनर्वा मनियारीका १ हजारभन्दा घरपरिवारलाई सुरक्षित स्थानमा पु¥याई हाई एलर्टमा राखिएको थियो । 
आगो नियन्त्रणमा आएपछि बुधबार अपराह्न ३ बजेपछि स्थानिय वासिन्दाहरु आआफ्नो घर तर्फ फर्किएका छन् । विस्थापित झण्डै ७ हजार व्यक्तिहरुलाई वीरगंज महानगरपालिका, उद्योग वाणिज्य संघ, वीरगंजका उद्यागी व्यवसायी, विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुले पानी तथा चाउचाउ विस्कुट लगायतका खाद्यान्न वितरण गरेका थिए । 
उता वीरगञ्जको सुपर ग्यास उद्योगमा भएको आगलागी सम्बन्धी छानविन गर्न पाँच सदस्यीय समिति गठन भएको छ । एलपी ग्यास उद्योग संघले छानविन समिति गठन गरेको हो । समितिमा संघका निवर्तमान अध्यक्ष शिव घिमिरे, कुश मल्ली, शंकर श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ र लक्ष्मी महर्जन रहेका छन् । 
छानविन समितिलाई पाँच दिनको म्याद दिइएको छ । १० करोड भन्दा बढी लगानीमा सुरु भएको सुपर ग्यास उद्योगमा ग्यास बुलेटबाट ग्यास चुहावट भइ आगजनी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ४८ वर्षको पछि ग्यास उद्योगमा ठूलो आगलागी भएको यो पहिलो घटना हो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट