News Category 2074/09/13

फोरमसँग एकताका लागि छलफल भइरहेको छ ः राजेन्द्र महतो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौँ, १२ पुस ।
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संघीय समाजवादी फोरम र राजपा नेपालवीच चाँडो पार्टी एकता हुने गरी छलफल भइरहेको खुलासा गरेका छन् । 
काठमाडौंस्थित एक साक्षरता कार्यक्रममा बुधबार बोल्दै नेता महतोले फोरमसँग तत्काल एकता प्रक्रिया शुरु गर्ने बताए । 
“राजपा र फोरमबीच चाँडो एकता हुन्छ, अहिलेको जनमत पनि दुई पार्टी एकताका लागि नै हो,” नेता महतोले भने, “संविधान संशोधन र जनताको अधिकारलाई केन्द्रविन्दुमा राखेर हामी अघि बढेका छौं ।” 
धनुषा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता महतोले राजपाको ध्यान सरकार निर्माणमा नभएको बताउँदै प्रदेश नं २ को सरकार पनि राजपा र फोरमबीचको गठबन्धनको हुने स्पष्ट पारे । यस्तै उनले राष्ट्रिय सभासम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्न नहुने धारणासमेत व्यक्त गरे  । 
यसअघि मंगलबार राष्ट्रिय जनता पार्टी नेपालका महामन्त्री एवं प्रदेश सांसद मनिष सुमनले राजपा र फोरम नेपालबीच अत्यन्तै प्रगाढ सम्बन्ध रहेको बताउँदै निकट भविष्यमा नै दुई पार्टीहरुबीच एकता हुने बताएका थिए । उनले भने, “हाम्रो विचारहरु सबै मिल्छन्, हामीबीच अत्यन्तै राम्रो र सुमधुर सम्बन्ध छ, अहिले जनमतले पनि हामीलाई एकताको लागि दबाव दिएको छ, जनताको चाहना पनि यही हो, त्यसैले निकट भविष्यमा पार्टी एकता हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।”

प्रतिकृया दिनुहोस

ताजा अपडेट