News Category 2074/09/15

समानुपातिकतर्फ प्रदेश नं. २ मा महिला प्रदेशसभा सदस्यहरुको वर्चश्व

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १४ पुस । 
गत मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तरगत समानुपातिकतर्फको नतिजा आएको १५ दिन पश्चात् विभिन्न पार्टीहरुले प्रदेशसभा सदस्यहरुको नाम टुङ्गो लगाएको छ । 
पार्टीहरुले हालसम्म प्रदेशसभातर्फको समानुपातिक सांसदहरुको नाम मात्र टुङ्गो लगाउन सकेको छ भने प्रतिनिधिसभातर्फको समानुपातिक सांसदहरुको नाम अझ टुङ्गो लगाउन सकेको छैन् । 
यता प्रदेश नं. २ मा पहिलो पार्टी बनेको संघीय समाजवादी फोरम नेपाल र दोश्रो दल बनेको राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो प्रदेश सभा सदस्यदहरुको नामावली सार्वजनिक गरेको छ । यसअघि नेकपा एमाले र माओवादी केन्द्र समेतले प्रदेशसभा सदस्यहरुको नाम सार्वजनिक गरिसकेको छ । काँग्रेसले यो समाचार तयार पारेसम्म नाम सार्वजनिक गरेको छैन् । 
यी चार राष्ट्रिय दल मध्ये फोरम, राजपा र माओवादीले सप्तरीबाट महिलालाई प्रदेशसभा सदस्य बनाएको छ भने एमालेले भने पुरुषलाई बनाएको छ । 
फोरम नेपालले उपमा देव, राजपा नेपालले पुनम यादव र माओवादी केन्द्रले रुबी कर्णलाई सप्तरीबाट प्रदेश नं. २ का लागि प्रदेशसभा सदस्य बनाएको छ भने एमालेले डा. मनोज सिंहलाई प्रदेशसभा सदस्य बनाएको हो ।  
यसैगरि फोरमले सार्वजनिक गरेको समानुपातिकतर्फको प्रदेश नं. २ को प्रदेशसभा सदस्यहरुमा ९ जना महिलाहरु नै रहेका छन् । जसमा चन्चमाया मोक्तान, करिमा बेगम, भिमा यादव, सीमा सिंह, उषाकुमारी यादव, उपमा देव, विन्दु कुमारी यादव, चमेली देवी दास र किरण कुमारी यादव रहेकी छिन् । 
यसैगरि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पनि शुक्रबार समानुपातिकतर्फ प्रदेश नं. २ का प्रदेशसभा सदस्यहरुको नाम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नामहरुमा सात जना महिला र तीन जना पुरुष रहेका छन् । जसमा बविता चौधरी, निलम देवी भुमिहारिन, अन्जु कुमारी, पुनम यादव,  विभा ठाकुर, डिम्पल झा, राम नरेश राय, जानकी शरण साह, राम प्रवेश बैठा र लैला खातुन रहेकी छिन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट