News Category 2074/10/25

गाउँपालिका केन्द्र र नाम परिवर्तनको बिषयमा एउटा वडा आन्दोलित, सात वडा समर्थनमा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ माघ । 
सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकाको नाम परिवर्तन गरि केन्द्र सार्ने विषयमा एउटा वडामा आन्दोलन सुरु भएको छ भने सातवटा वडा त्यसलाई समर्थन गरेको छ । 
हालै सम्पन्न गाउँ सभाको बैठकमा दुई तिहाई बहुमतले उक्त गाउँपालिकाको नाम “खाँडो–जीता गाउँपालिका” र केन्द्र कोइलाडीस्थित जिरिया पोखरीको डिलमा सार्ने निर्णय गरिएपछि आन्दोलन र समर्थन सुरु भएको छ । 
उक्त निर्णयको बिरोधमा सो गाउँपालिका वडा नं. १ तिलाठीका नागरिक समाजले आन्दोलन स्वरुप रिले अनसन सुरु गरेको छ । नाम परिवर्तन गरी केन्द्र सारिएको बिरोधमा सीमा रक्षकको नामले परिचित देबनारायण यादवसहितका स्थानियहरुले मंगलबार साँझदेखि रिले अनसन शुरु गरेका हुन् । 
रिले अनसनमा बसेका देवनारायण यादवले गाउँपालिकाको केन्द्र यथावत स्थानमा राख्नु पर्ने र होटमा बसेर गरेको गाउँ सभा खारेजीको माँग गरेका छन् । उनले सो माँग पुरा नभए आमरण अनसन समेत बस्ने र आत्मदाहा समेत गर्न सक्ने चेतावनी दिए । 
यता उक्त गाउँपालिका २ देखी ८ नं. वडा गरि ७ वटा वडाका स्थानियहरुले गाउँपालिकाको केन्द्र सार्ने निर्णयको स्वागत गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन बुझाएको छ । गाउँपालिकाका दुई तिहाई पदाधिकारीहरुको केन्द्र सार्ने निर्णयमा हस्ताक्षर रहेको भन्दै हाल तिलाठीमा रहेको गाउँपालिका कार्यालयको तालाबन्दी खोल्न र कामकाज सूचारु गराउन भन्दै प्रशासन कार्यालयमा ज्ञापन बुझाएको हो । उनीहरुले दुई तिहाई भन्दा बढी पदाधिकारीहरुको समर्थन र हस्ताक्षर गरिएको निर्णय कार्यान्वयन नगरिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । 
उक्त सम्बन्धमा गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले ८ वटा वडाका स्थानियहरुलाई पायक पर्ने स्थानमा केन्द्र सार्न लागिएको बताए । उनले नाम परिवर्तन सम्बन्धमा गाउँपालिका भएर बग्ने खाँडो र जिता खोलाको संगम रहेकोले दुई तिहाई भन्दा बढी बहुमतले निर्णय गरिएको जानकारी दिए । उनले ८ वडा रहेको गाउँपालिकामा ७ वडाका अध्यक्ष र सदस्यहरु निर्णयको पक्षमा रहेको जानकारी समेत दिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट