News Category 2074/11/01

राजपा र फोरम नेपालले प्रतिनिधिसभामा समानुपातिकतर्फको सदस्यको नाम टुङ्गो लगायो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २९ माघ ।  
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले प्रतिनिधि सभामा समानुपातिकतर्फका सदस्यहरुको टुँगो लगाएको छ । 
राजपा नेपालले समानुपातिक तर्फबाट पाएको ६ सीटमा महिलाहरु नै पठाउनु पर्ने बाध्यता रहेकोले ६ जनै महिलाको नाम टुँगो लगाएको हो ।
राजपाबाट आदिवासी जनजाति महिला कोटामा रानी मण्डल र अमृता अग्रहरी परेकी छन् भने खस आर्य महिलातर्फबाट निर्जला राउत, दलित महिलाको तर्फबाट दुलारीदेवी खंग, मधेशी महिलाको तर्फबाट चन्दा चौधरी र रेणु शर्मा परेकी छन् ।
यस्तै संघीय समाजवादी फोरम नेपालले समानुपातिक तर्फको प्रतिनिधि सभा सदस्यको नाम टुंगो लगाएको छ । आइतबार अबेर रातिसम्म काठमाडौँको एक स्थानमा बसेको बैठकले मधेशी र गैरमधेशी नेताहरुको विवादका बीच एक जना पुरुषसहित पाँच जना महिलाको नाम टुंगो लगाएको हो ।
समानुपातिकमा पुरुषतर्फ एक सीट मात्र पाएको फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नाम टुंगो लगाएको छ । त्यस्तै, महिलातर्फ बन्द सूची अनुसार नै नाम पठाउने निर्णय भएको छ जसअनुसार मुस्लिम महिलातर्फ रुद्दीनाज मुस्लिम, खस महिलातर्फ सरिता गिरी, मधेशी महिलातर्फ रेणु यादव, जनजाति महिलातर्फ रेणुका गुरुङ र दलित महिलातर्फ कलुदेवी विश्वकर्मा परेकी छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट