News Category 2074/11/03

माँग पुरा नभए नगर बाल संजालले आन्दोलन गर्ने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ फागुन । 
नगर बाल संजालले पटक पटक उठाउँदै गरेको माँगहरुप्रति सम्बन्धित निकायले वेवास्ता गरेको भन्दै अबको दश दिनमा माँगहरु सम्बोधन नभए ११ औं दिन आन्दोलन गर्ने चेतावनी दिएको छ । 
नगर बाल संजालले बुधबार पत्रकार सम्मेलन गरि सो चेतावनी दिँदै बालबालिकाको भावना र विचारसँग खेलवाड गर्नु भन्दा पनि भावना र विचारलाई सम्मान गर्न अनुरोध समेत गरेको छ । 
बाल संजालले कुनै पनि बन्द हड्तालमा विद्यालय एक दिनको लागि पनि बन्द नहुने गरी पूर्ण रुपमा शान्ति क्षेत्र घोषणा गर्नुपर्ने, देशभरीकै शिक्षकहरुको शैक्षिक प्रमाण चेकजाच हुनुपर्ने र नक्कली पाएमा सख्त कारवाही गर्नुपर्ने लगायतको माँग अघि सारेको छ । 
त्यस्तै कक्षा १२ सम्मको रजिष्ट्रेशन फर्म, परीक्षा फर्म र प्राक्टिकल फर्म निशुल्क हुनुपर्ने, एक कक्षा उत्तिर्ण गरी अर्को कक्षामा जानको लागि पुनः भर्नाको चार्ज नहुनुपर्ने, हरेक सरकारी विद्यालयमा बैशाख २५ गतेभित्र किताब पु¥याउनुपर्ने, कुनै पनि जातजातीको चाड पर्वको बीचमा परीक्षा नराख्नुपर्ने, किताबको मनपरी मुल्य बन्द हुनुपर्ने लगायतका १४ बुँदे माग अघि सार्दै आन्दोलनको चेतावनी दिएको हो ।
संजालका अध्यक्ष मो. जकाउल्लाहले विगतमा पटक पटक माँगहरुबारे रिले अनसन गरिए पनि सम्बन्धित निकायले माँग पुरा गर्ने आश्वास मात्र दिएको भन्दै अब माँग पुरा नभएसम्म जिल्ला शिक्षा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी र कार्यालयले प्रयोग गर्दै आएको गाडी प्रयोगमा रोक लगाउने जानकारी दिए । त्यस्तै राजविराज नगरपालिकाको एक दिनका लागि कामकाज ठप्प पार्ने समेत चेतावनी दिए । 
उनले आन्दोलनमा विद्यार्थी संगठनहरु समेतले सहयोग गर्ने बताउँदै समस्या समाधानका लागि राजनीतिकर्मी, विद्यार्थी संगठन, नागरिक समाज, बुद्धिजिवि, पत्रकार, संघसंस्था र आम जनतालाई सहयोग गर्न अनुरोध समेत गरेका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट