News Category 2074/11/07

पार्टी एकतामा सहमति !

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौं, ६ फागुन ।
भक्तपुरको ठिमीस्थित एक व्यवसायीको घरमा ‘लन्च मिटिङ’ गर्दै आइतबार करिब ४ घन्टा छलफल गरेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतामा सहमति गरेका छन् ।
एकीकृत पार्टीको नेतृत्व र सरकारमा आलोपालोको सहमति गरेर एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने निर्णय गरेका दुवै दलबीच एकीकृत पार्टीको सिद्धान्तलाई लिएर गतिरोध पैदा भएको थियो । दुवै नेता एमालेको जबज र माओवादीको एक्काइसौं शताब्दीको जनवादलाई समेटेर महाधिवेशनसम्म लैजान सकारात्मक भएका छन् ।
स्रोतका अनुसार, पार्टी एकतामा दुई नेताबीच जुटेको सहमतिलाई सोमबार एकता संयोजन समितिको बैठकमार्फत अनुमोदन गराएर निर्णय सार्वजनिक गर्ने सहमति भएको छ । दुवै दल पार्टी एकताका मूलभूत विषयलाई आइतबारको बैठकबाट निर्णय गराई सरकार विस्तारलाई पूर्णता दिन सहमत भएका छन् ।
पार्टी एकता गर्ने घोषणा गर्दै चुनावी तालमेल गरेका दुई ठूला वामपन्थी दल चुनावी नतिजा सार्वजनिक भएसँगै एकता प्रक्रियाका विभिन्न विषयमा छलफल गरिरहेका छन् । दुवै दलले एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन पार्टीका शीर्ष नेतृत्वलाई जिम्मेवारी दिएका छन् ।
वाम गठबन्धनका प्रमुख दुई नेताले एकीकृत पार्टीको नाम, नेतृत्व र सरकारमा आलोपालोको सहमति गरिसकेका छन् । निर्णायक वार्ता प्रक्रियामा एमालेले सैद्धान्तिक विषयमा सम्झौता गर्न नसकिने बताएपछि एकता प्रक्रिया अलमलमा परेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट