News Category 2074/11/15

रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

दैनिक समाचारदाता

दैनिक समाचारदाता
धनगढी, १४ फागुन ।
टीकापुर घटना गराएको आरोपमा फरार सूचीमा रहेका रेशमलाल चौधरी जिल्ला अदालत कैलालीमा उपस्थित भएका छन् । 
कैलालीको टीकापुर घटना लगत्तै फरार रहेका चौधरी सोमबार जिल्ला अदालतमा आफैं उपस्थित भएका हुन् । चौधरी प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नं १ बाट राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए । 
यसैबीच जिल्ला अदालत कैलालीले टीकापुर घटनाका अभियुक्त रेशम चौधरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश पर्शराम भट्टराईको इजलासले चौधरीलाई जिल्ला कारागार धनगढी पठाउन आदेश दिएको हो ।
टीकापुर घटनापछि फरार रहेको चौधरीले सोमबार अदालतसामू आत्मसमर्पण गरेका थिए । लगतै उनको बयान लिनुका साथै दुबै पक्षबाट बहस भएको थियो । बहसका क्रममा चौधरीका वकिलहरुले जनताको भारी मतबाट विजयी भइसकेका उनलाई साधारण तारेखमा छाड्नु पर्ने तर्क गरेका थिए ।
तर, न्यायाधीश भट्टराईको इजलासले जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण हुन नसक्ने बताएको छ । आदेशमा भनिएको छ, ‘जनमत प्राप्त गर्नु पूर्वको फैजदारी कृयाकलापलाई पनि उत्तिकै हेक्का राख्नुपर्छ । साथै प्रतिवादीले प्राप्त गरेको जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण बन्न सक्दैन ।’
विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षााकर्मी र एक नाबालकको ज्यान गएको थियो । उक्त घटनामा चौधरीलाई दोषी देखाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट