News Category 2074/11/21

फोरम र राजपा गठबन्धनबारे कुनै शंका नगर्न कृषि मन्त्रीको आग्रह

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० फागुन । 
प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले फोरम र राजपा गठबन्धनको सरकारप्रति कसैलाई कुनै शंका नगर्न तथा राजपालाई फोरमसँग सशंकित नहुन आग्रह गरेका छन् । 
नेपाल पत्रकार महासंघ सप्तरी शाखाले आइतबार महासंघको सभाकक्षमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री साहले सो आग्रह गरेका हुन् । 
मन्त्री साहले कार्यक्रमलाई सम्बोधन गर्दै संघीय समाजावदी फोरम नेपाल केन्द्रिय सरकारमा सहभागि भए पनि प्रदेश २ सत्ता समिकरणमा कुनै परिवर्तन नहुने आश्वासन दिए । उनले फोरम राजपाको चुनावी गठबन्धन मात्र रहेको तर, फोरम केन्द्रिय सरकारमा गएपनि प्रदेशमा सहकार्य जारी नै रहने दाबी समेत गरे ।
मुलुकमा संघीयताको सफलता र असफलता प्रदेश नं. २ मै निर्भर रहेको भन्दै यस्तो परिस्थितमा प्रदेश नं. २ को सरकारलाई संघीयता जोगाउन एउटा चुनौती समेत रहेको जिकिर गरे । 
कृषि मन्त्री साहले नेपाल एउटा कृषि प्रधान देश रहेकोप्रति कुनै दुईमत नरहेको भन्दै अहिलेसम्म सरकारले कुनै पनि किसानको पीडाप्रति गम्भिर नरहेको दाबी गरे । उनले अब प्रदेश २ का किसानहरुप्रति प्रादेशिक सरकारले एउटा ठोस कदम चाल्ने प्रतिबद्धता समेत व्यक्त गरे । 
मन्त्री साहले मधेशमा कृषि क्रान्तिबाटै आर्थिक समृद्धि हुने भएकोले कृषिलाई सम्मानित पेशाको रुपमा स्थापित गर्ने र मधेशको ८० प्रतिशत भन्दा बढी उब्जाउ जमिनमा सिँचाई नपुगेकोले सुशासन, विकास, सिँचाई, सडक र मधेशको समृद्धि प्रदेश सरकारको प्राथमिकता रहेको जानकारी दिए ।
यसअघि उनलाई महासंघ सप्तरी शाखाको सदस्यको नाताले महासंघका अध्यक्ष जितेन्द्र खड्गा लगायत महासंघका अन्य पदाधिकारी तथा पूर्व अध्यक्षसमेतले सामुहिक रुपमा कदरपत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको छ । उनले मोफसलका पत्रकारहरुको समस्याप्रति प्रदेश सरकार गम्भिरतापूर्वक पहल गर्न प्रतिबद्धता समेत व्यक्त गरे । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट