News Category 2074/11/27

शु सेन्टरमा आगलागि हुँदा ५० लाखको क्षति, एक फायर म्यान घाइते, मन्त्री साहद्वारा आगलागि स्थलको निरिक्षण

दैनिक समाचारदाता

   राजविराज÷राजविराजस्थित हटियामा रहेको एक जुत्ता चप्पल पसलमा शनिबार बिहान अढाई बजे आगलागि हुँदा ५० लाखको क्षति भएको छ भने एक जना घाइते भएका छन् । 
राजविराज वडा नं. ७ स्थित नौसाद शु सेन्टरमा आगलागि लागि हुँदा ५० लाख रकम बराबरको धनमाल जलेर नष्ट भएको पसल संचालक नसिब खाँनले जानकारी दिए । राजविराजकै अति व्यस्त मानिने हटियामा रहेको उक्त पसलको चारै तल्लामा जुत्ता, चप्पल भण्डारण गरिएको थियो ।
यता आगो नियन्त्रणका क्रममा राजविराज नगरपालिकाका फायर म्यान धर्मेन्द्रकुमार यादव घाइते भएका छन् । झ्यालको सिसाले लागेर उनको टाउको फुटेको प्रहरीले जनाएको छ ।
राजविराज, शम्भुनाथ, लहान र इनरुवा नगरपालिकाका चारवटा बारुण यन्त्र तथा स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा बिहान ६ बजे आगो नियन्त्रणमा आएको हो । 
यता पसल संचालक खाँनले आगलागि सुनियोजित ढंगले लगाएको आरोप लगाएका छन् भने आगो लागेको कारण खुल्न सकेको छैन् । 
यसैबीच प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र प्रसाद साहले आगलागि स्थलको निरिक्षण गरेका छन् । निरिक्षणका क्रममा पीडित पसल संचालक खाँनले कसैले व्यक्तिगत रिसिइबीका कारण आगो लगाइदिएको गुनासो गरेपछि मन्त्री साहले उक्त सम्बन्धमा प्रहरी प्रशासनसँग समन्वय गरि सत्यतथ्य घटना पत्ता लगाउने बारे आश्वाशन दिएका छन् । 
त्यस्तै आगलागि स्थलको निरिक्षण गर्ने क्रममा वडा नं. ७ का वडा अध्यक्ष माँगीलाल नाईले पीडितले आगो लगाउने व्यक्तिको लिखित रुपमा किटानी जाहेरी दिएपछि वडास्तरबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट