News Category 2074/11/30

राष्ट्रपतिमा पुनः विद्या भण्डारी निर्वाचित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
काठमाडौं, २९ फागुन । 
राष्ट्रपति चयनका लागि मंगलबार सम्पन्न निर्वाचनबाट राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । 
वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । भण्डारीले ३९ हजार २ सय ७५ मतभार पाइन् भने कांग्रेसकी कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार पाएकी छन् ।
निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेकोमा भण्डारीलाई २४५ संघीय सासद र ४१५ प्रदेशसभा सदस्यले मत दिएका थिए । राईलाई भने ७८ संघीय सांसद र ११६ प्रदेशसभा सदस्यले मत दिएका छन् ।
सम्पन्न निर्वाचनमा संघीय संसदका ५ र प्रदेशसभाका १४ सदस्यले पनि मतदान गरेनन्, जसमध्ये नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टीले मतदान नगर्ने निर्णय गरेका थिए ।
नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनीयताको सपथ लिने भएकी छन् । राष्ट्रपतिलाई प्रधानन्यायाधीशले सपथ गराउने प्रचलन छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट