News Category 2074/11/29

विमान दुर्घटनामा ४९ को मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचादाता
काठमाडौं, २८ फागुन । 
युएस बंङ्गला एअरलाइन्सको बम्बार्डिएर ड्यास ८ बिमान सोमबार दिउँसो २ बजेर २० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त हुँदा ४९ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । 
दुर्घटना भएको बंगलादेशी विमानमा ३३ नेपाली सहित ६७ यात्रु सवार थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनाग्रस्त विमानमा चालक दलका ४ सहित ७१ यात्रु थिए । 
घाइतेको काठमाडौं मेडिकल कलेज, ओम अस्पताल, नर्भिक, मेडिसिटी लगायतका अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा कति नेपालीको मृत्यु भएको र घाइते भन्ने जानकारी अझै बाहिर आइसकेको छैन ।
यता प्राधिकारणले अग्नि नियन्त्रकहरुद्वारा अग्नि नियन्त्रण भईसकेको जनाएको छ । 
यसैबीच दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घटनाको अवस्था बुझ्न पुग्नुभएका प्रधानमन्त्री ओलीले सञ्चारकर्मीसँग सरकारले उद्धार र अन्य कामका लागि गर्नुपर्ने सबै प्रबन्ध गर्ने बताउँदै घटनाको छानविनका लागि तत्काल आयोग गठन हुने जानकारी दिए ।
उनले दुर्घटनामा घाइतेको उपचारको सबै प्रबन्ध नेपाल सरकारले गर्ने पनि बताए । घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले मृतक परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
उद्धारमा तदारुकताका साथ खटिएका नेपाली सेनालगायत कर्मचारीको प्रशंसा गर्दै उनले घटनाबारे जानकारी दिन बंगलादेशका प्रधानमन्त्रीलाई सम्पर्क गर्न खोजेको तर, उनी मुलुक बाहिर रहेकाले सम्पर्क हुन नसकेको पनि जानकारी दिए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट