News Category 2074/12/05

फागुन महिनामा ८ जबरजस्तीकरणीका घटना ः प्रहरी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ४ चैत । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले फागुन महिना भित्र सप्तरीमा आठ वटा जबरजस्तिकरणीका घटनाहरु भएको जानकारी दिएको छ । 
घटनाहरु बारे जानकारी दिने उद्देश्यले आइतबार गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले ८ वटा जबरजस्तिकरणीका घटनामा संलग्न ८ जना पक्राउ तथा ६ जना फरार रहेको जानकारी दिए ।
प्रहरी उपरिक्षक सिंहले ८ घटना मध्ये ५ वटा घटना नाबालिकासँग भएको बताउँदै घटनामा संलग्नहरुमाथी कारवाहीको प्रक्रिया अगाडी बढाइसकेको बताए । 
यसअघि फागुन २५, २८ र २९ गते सप्तरीमा भएको सामूहिक बलात्कारका घटनामा संलग्न भएकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ ।
जिल्लाको बिष्णुपुर गाउँपालिका ७ की २२ वर्षिया एक महिलालाई फागुन २५ गते शनिबार साँझ राजविराजबाट आफ्नो घरतर्फ जाँदै गर्दा सामूहिक बलात्कार गरेका विष्णुपुर गाउँपालिका ७ का जिवछ राम र इसराईल मियाँलाई प्रहरीले पक्राउ गरेको छ । रामलाई सोही स्थानबाट र मियाँलाई भारतीय प्रहरीको सहयोगमा भारतबाट पक्राउ गरिएको जनाइएको छ । 
त्यस्तै जिल्लाको शम्भुनाथ नगरपालिका ३ कचन्दाहाकी १८ वर्षिया एक दलित युवतीलाई फागुन २८ गते सामूहिक सामूहिक बलात्कार गरेका स्थानिय एटलान्टिक चौधरी र अजय चौधरीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । आफ्नो घरमा रहेको बिरामीका लागि नजिकैको औषधि पसलमा औषधि खरीद गर्न गएको बेला ती युवाहरुले नियन्त्रणमा लिई करणी गरेको प्रहरीको भनाई छ ।
यसैगरि फागुन २९ गते जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ स्थित सखडा राजबिराज सडक खण्डमा माइक्रो बसमा बिर्तामोड नगरपालिका ४ बस्ने २४ वर्षिया युवतीलाई जबरजस्तिकरणी गरेका गाडी चालक सिराहा भगवानपुर गाउँपालिका १ निवासी वैजनाथ दास र सहचालक सुनसरी गाउँपालिका ५ निवासी खेमराज बैश्यलाई प्रहरीले पक्राउ गरेको हो । बा.५.ख.३१४१ नम्बरको हायस गाडी भित्र जबरजस्तीकरणी गर्दै गर्दाको अबस्थामा उनीहरु दुबैलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । 
यसअघि जिल्लाको शम्भुनाथ नगरपालिका २ बस्ने एक नाबालिकालाई डर त्रास देखाई पटक पटक जबरजस्तिकरणी गरेर गर्भवती बनाएको भन्दै पीडितले दिएको उजुरीको आधारमा प्रहरीले वडा नं. ५ बस्ने गेनाइ रामलाई प्रहरीले पक्राउ गरेको छ । 
प्रहरी उपरिक्षक सिंहले १६ वर्ष वा सो भन्दा बढी २० वर्ष भन्दा कम उमेरकी बालिकालाई जबरजस्तिकरणी गरेकाहरुलाई ६ देखी १० वर्ष कैद तथा महिलालाई सामूहिक जबरजस्तिकरणी गर्नेलाई थप ५ वर्ष कैद हुने कानुनी प्रावधान रहेको बताए । 
यस्तै सोही पत्रकार सम्मेलनमा मोटरसाइकल चोरीमा संलग्न तथा लागु पदार्थ ओसारपोसारमा संलग्न व्यक्तिहरुलाई समेतलाई सार्वजिनक गरिएको छ । 
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरिक्षक सुजाता हाम्फेराईको नेतृत्वमा बढ्दो जबरजस्तिकरणीका घटनाबारे नागरिक समाज, सामुदायिक प्रहरी, जनप्रतिनिधि लगायतको सहभागितामा जनचेतना फैलाउने कार्यक्रम सुरुवात गरेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट