News Category 2075/01/06

हावाहुरीका कारण लाखौंको क्षति तीन जना घाइते, दुई चौपाया मरे

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ बैशाख ।
मंगलबार साँझ अचानक आएको वर्षासँगैको हावाहुरीका कारण सप्तरीको विभिन्न स्थानमा लाखौंको क्षति हुनुका साथै तीन जना घाइते र दुई वटा चौपाया मरेका छन् । 
जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार जिल्लाको तिरहुत गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, बलान बिहुल गाउँपालिका, कंचनरुप नगरपालिका र छिन्नमस्ता गाउँपालिकामा क्षति भएको छ । 
सो हावाहुरीका कारण जिल्लाको कंचनरुप नगरपालिका १० बदगामा निवासी रम्बा खड्गा र लिलो खड्गाको जिऊमा ११ हजारको बिजुलीको तार खस्दा घाइते भएकी छिन् । करेण्ट लागेर उनीहरुको दुबैको खुट्टामा चोट लागेको छ । चोट लागेर घाइते भएपछि उनीहरु स्थानिय क्लिनिकमा उपचार पश्चात् घर फर्किसकेको प्रहरी उपरिक्षक मुकेश सिंहले जानकारी दिएका छन् ।
त्यस्तै रम्बा खड्गाकै गाईगोठमा परालको टार खस्दा एउटा भैसी र एउटा गोरुको मृत्यु भएको प्रहरीले जनाएको छ । 
यसैगरि बलान बिहुल गाउँपालिका ३ बस्ने देवनारायण मण्डलको एलवेस्टरको छानो भएको पक्की घर ढल्दा किचिएर उनकी श्रीमती ५५ वर्षिय दुलारीदेवी मण्डल घाइते भएकी छिन् । किचिएर घाइते भएकी मण्डलको कम्मर र खुट्टामा चोट लागेपछि लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यता घर ढल्दा दुई लाख बराबरको क्षति भएको छ । 
सो हावाहुरीका कारण तिरहुत गाउँपालिका वडा नं. २ र ५ का १७ जना स्थानियहरुको घर र गाईगोठमा गरि दुई लाख ३० हजार बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । 
त्यस्तै हनुमाननगर कंकालिनी नगरपालिका १३ स्थित गोबरगाढाका ८ परिवारका फुसको छानो भएको घर हावाहुरीले उडाएर लग्दा ६ लाख ४० हजार बराबरको क्षति पुगेको जनाइएको छ । त्यस्तै सोही नगरपालिका १४ मल्हनियाँ निवासी दिनेश मण्डलको घर हावाहुरीले उडाएर लादा एक लाख र शिवचन्द्र सुतिहारको ३० हजार बराबरको क्षति भएको छ । 
यसैगरि छिन्नमस्ता गाउँपालिका २ स्थित हरीलाल साफी, भोला साफी, सदानन्द साफी, सुवासचन्द्र झाको घरसहित लत्ताकपडा र अन्नपात हावाहुरीले उडाएर लैजादा दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट