News Category 2075/01/12

प्रदेश २ को मुख्यमन्त्रीको तलब ६० हजार ९ सय ७० !

दैनिक समाचारदाता

दैनिक समाचारदाता
जनकपुर, ११ बैशाख ।
प्रदेश २ का जनप्रतिनिधिको पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भएको छ । 
विधेयकमा मुख्यमन्त्रीको तलब ६० हजार ९ सय ७०, मन्त्रीको ५७ हजार ७ सय ८०, राज्यमन्त्रीको ५६ हजार ४ सय ९० र सहायकमन्त्रीको ५३ हजार तोकिएको छ । आवास, अतिथि सत्कार, सवारी इन्धन, मोबिल र दैनिक भ्रमणभत्ताबाहेक अन्य सेवा, सुविधा मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीको समान छ ।
मुख्यमन्त्रीलाई आवास सुविधा दिने र अन्य मन्त्रीलाई प्रतिमहिना १५ हजार दिने व्यवस्था गरिएको छ । अतिथि सत्कार खर्च मुख्यमन्त्रीलाई मात्र (तीन हजार) छुट्याइएको छ । इन्धन मुख्यमन्त्रीलाई प्रतिमहिना तीन सय लिटर र अन्यलाई २ सय २५ लिटर उपलब्ध गराइनेछ । त्यस्तै, मोबिल प्रत्येक तीन महिनामा मुख्यमन्त्रीलाई दश लिटर र अन्य मन्त्रीलाई ५ लिटर, दैनिक भ्रमणभत्ता मुख्यमन्त्रीलाई तीन हजार र अन्य मन्त्रीलाई दुई हजार दिइनेछ ।
उनीहरूले विशेष भत्ता एक हजार, सञ्चार तथा पत्रपत्रिकाबापत प्रतिमहिना तीन हजार, फर्निचर सुविधाबापत एकमुष्ठ ५० हजार, सवारीसाधन उपलब्ध गराउने, बिजुली, धाराबापत प्रतिमहिना दुई हजारको व्यवस्था विधेयकमा गरिएको छ ।
सभामुखको पारिश्रमिक ५८ हजार, उपसभामुख, प्रमुख विपक्षी दलका नेता, प्रदेश सभाका विभिन्न समितिका सभापति र सचेतकको पारिश्रमिक ५६ हजार ४ सय ९० र सांसदलाई ५५ हजार तोकिएको छ । सभामुखदेखि प्रदेश सभा सदस्यसम्मलाई बैठक भत्ता एक हजार, सञ्चार सुविधा तथा पत्रपत्रिकाका लागि प्रतिमहिना तीन हजार उपलब्ध गराउने उल्लेख छ । यस्तै, सभामुखलाई आवास सुविधा उपलब्ध गराउने तथा विपक्षी दलका नेतादेखि सदस्यसम्मलाई प्रतिमहिना १५ हजार दिने व्यवस्था विधेयकमा गरिएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट