News Category 2075/02/10

राजविराज विमानस्थलबाट सफलतापूर्वक परिक्षण उडान, केही दिनमै नियमित उडान सुरु हुने ः परियोजना प्रमुख

दैनिक समाचारदाता

नवीनकुमार गुप्ता
राजविराज, ९ जेठ ।
आन्तरिक उडान सेवा बन्द भएको ११ वर्षपछि राजविराज विमानस्थलबाट विमान सेवा पुनः संचालनमा आउने भएको छ । विमानस्थल उद्घाटन भएको झण्डै ६ दशकपछि आउँदो केही दिनमै नियमित उडान सुरु हुने भएको हो । जसकारण सप्तरीवासीको दशकौंदेखीको जहाजमा उड्ने सपना साकार समेत भएको छ । 
सदरमुकाम राजविराजबाट तीन किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिकामा अवस्थित विमानस्थलबाट बुधबार श्री एयरलाइन्सको ५० यात्रु सिट क्षमता भएको सिआरजे–२०० जेट इन्जिन विमानले परिक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । 
परिक्षण उडानमा सेप्mटी डिपार्टमेन्टका क्याप्टेन डिआर निरौला र प्रशिक्षका पाइलटद्वय प्रज्जवल अधिकारी र राजेश श्रेष्ठ सहभागि भएका थिए । पाइलट श्रेष्ठले यस विमानस्थलबाट नियमित हवाई सेवाका लागि कुनै समस्या नदेखिएको प्रतिक्रिया दिए । परिक्षण उडान हेर्न विमानस्थलमा सर्वसाधारणको ठूलो भिंड लागेको थियो । 
नेपाल नागरिक उडययन प्राधिकरण राजविराज विमानस्थल परियोजना प्रमुख रामएकवाल महतोले नियमित उडानका लागि भने अझै केही प्राविधिक विषय मिलाउनु पर्ने भएकाले केही समय लाग्ने बताएका छन् । 
३० करोड ३० लाख ७४ हजार ५ सय २८ रुँपैयाको लागतमा कुल १ हजार ५ सय मिटर लामो तथा ३० मिटर चौडा धावन मार्ग ग्राभेल, पिचिङ, ट्याक्सी–वे, एप्रोन कालोपत्रे भई र मार्किङ गर्ने काम सकिएपनि टावर र टर्मिनल भवनको केही काम बाँकी नै रहेकाले नियमित उडानमा केही समय लाग्ने प्रमुख महतोले बताए । 
उनले नियमित विमान सेवा सूचारुका लागि नागरिक उडययन प्राधिकरणको प्राविधिक टोली आवश्यक यन्त्र र उपकरण जडानका लागि पुगिसकेको र धमाधम काम भइरहेको जानकारी समेत दिए । यता विमानस्थल आसपास भएका इटाभट्टा र रुखले समस्या हुने भन्दै त्यसको उचित व्यवस्थापनका लागि समेत पहल भइरहेको उनले बताए । 
यसैबीच बिहीबार राजविराज विमानस्थलबाट विमान सेवा संचालनको उद्घाटन तथा स्थालगत निरिक्षणका लागि पर्यटन तथा नागरिक उडययन मन्त्री रबिन्द्र अधिकारी, पूर्व नागरिक उडययन मन्त्री जितेन्द्र नारायण देव तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतको टोली आउने कार्यक्रम तय भएको परियोजना प्रमु्ख महतोले जानकारी दिएका छन् । 
यता विमानस्थलका लागि जग्गा दान गरेका जग्गादाताका छोरा माहामाया प्रसाद सिंहले सप्तरीवासीले देखेको सपना अब साकार हुने भन्दै सरकारलाई धन्यावाद समेत दिएका छन् । उनका बुबा स्व. रुद्र नारायण सिंहले विमानस्थलका लागि ५५ मध्ये ४८ विगहा जग्गा दान दिएका थिए । 
बिस. २०१६ सालमा तत्कालिन उद्योगमन्त्री गणेशमान सिंहद्वारा उद्घाटन गरिएको राजविराज विमानस्थलको धावन मार्ग पक्की नहुँदा पटक पटक सेवा बन्द हुँदै आएको थियो । अन्तिम पटक बि.स. २०६५ सालमा परिक्षणकालका लागि तारा एयरले केही दिन विमान संचालन गरेको थियो भने यात्रुको अभाव देखाउँदै सो एयरले विमान सेवा पुनः बन्द गरेको थियो । विगतमा विमानस्थलबाट नेपाल वायूसेवा निगम हप्ताको २ पटक आईतबार र शुक्रबार काठमाडांै र एक पटक आईतबार लामीडाँढा उडान गर्दै आएको थियो । 
प्रदेश नं. २ मा जनकपुर, सिमराहा र राजविराज गरि तीन विमानस्थल रहेकोमा राजविराज विमानस्थलबाट नियमित उडान संचालनमा आएपछि सप्तरीसहित प्रदेश नं. १ का पहाडी जिल्लाका बासिन्दाका लागि विमान चढ्न सहज हुने तथा प्रदेश नं. २ को चौतर्फि विकासमा टेवा पुग्ने स्थानीयवासीको विश्वास रहेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट