News Category 2075/02/18

खाँडो नदीको बाँध निर्माण कार्य सुरु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १७ जेठ । 
वर्षेणी बाढी र डुवानबाट ठुलो मानविय र धनमालको क्षति पु¥याउने सप्तरीको खाँडो नदी नियन्त्रणका लागि बाँध निर्माण कार्य सुरु भएको छ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले १ करोड रुपैया लगानीमा खाँडो नदीको बाँध निर्माण कार्य सुरु गरेको हो । 
खाडो नदी नियन्त्रण कार्यलाई उच्च प्राथमिकतामा राखेर विभिन्न शिर्षकबाट केही केही रकम कटौती गरी १ करोड रुपैया बाँध निर्माण कार्यमा लगानी गरिएको गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिएका छन् । बाँध निर्माणका लागि दैनिक आधा दर्जन प्राविधिक र सयौ मजदुरद्वारा काम भईरहेको छ । उच्च जोखिममा रहेको तथा बाढीले भत्काउन सक्ने सम्भावित स्थानमा माटोसँगै तारजाली, बोरा र बोल्डरको पनि प्रयोग गरिदै गएको अध्यक्ष सिंहले बताए । 
उनले बाँध बाध्ने काम १५ दिन भित्रै सम्पन्न गरि सक्ने दाबी समेत गरे । 
यता पछिल्लो पटक बाँध निर्माणको कामले गति लिएपछि अहिले स्थानियबासी निकै खुसी देखिएका छन् । विगत ३० वर्ष देखि बर्षेनी खाडो नदीको उत्पातका कारण स्थानियबासी प्रताडित हुँदै आएकोमा बल्ल बाँध निर्माण कार्यले गतिलिएपछि धेरै खुसी भएको स्थानिय कारी मुखियाले बताए । 
पछिल्लो पटक गत अषाढ र साउन महिनामा खाडो नदीमा आएको बाढीले जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका र आसपासको क्षेत्रमा ठुलो जनधनको क्षति भएको थियो । जिल्ला विपद व्यवस्थापन समितिको तथ्यांक अनुसार खाडो नदीको बाढीले तिलाठी कोईलाडी गाउँपालिकामा मात्रै १४ करोड ६४ लाख बराबरको सम्पती नष्ट भएको थियो । 
यस्तै बाढीले बगाएर सो गाउँपालिकामा १ बालकको मृत्यु र ३ सय ५१  परिवारलाई विस्थापित बनाएको थियो । खाडो नदीको बाढीकै कारण सदरमुकाम राजविराजमा पनि २ जनाको ज्यान जानुका साथै २८ करोड २७ लाख ५१ हजारको धनमाल क्षति भएको विपद व्यवस्थापन समितिको तथ्यांकमा उल्लेख छ ।
विगतमा बजेटको अभाव र स्थानिय निकाय जनप्रतिनिधिविहिन हुँदा खाडो नदी नियन्त्रणको काम प्रभावकारी हुन सकेको थिएन ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट