News Category 2075/02/21

प्रअविहीन विद्यालयको अवस्था लथालिङ, चकलेट र बिस्कुट किनेर दिएपछि मात्र विद्यार्र्थी पढ्न आउने बाध्यता

दैनिक समाचारदाता

नवीनकुमार गुप्ता
राजविराज, २० जेठ । 
सप्तरीको हनुमानगर कंकालिनी नगरपालिका ६ स्थित राप्रावि कदमाहा अहिले अभिभावक बिहीन अवस्थामा रहेको छ । 
साविकको २ नं. योगिनियाँ वडा नं. १ मा रहेको उक्त विद्यालयका प्रधानाध्यापक बिन्देश्वरी मण्डल २०७४ माघ ७ गते अनिवार्य अवकाश भएपछि उक्त विद्यालय अहिले लथालिङ अवस्थामा पुगेको छ । 
चार महिना भन्दा बढी समय बितिसक्दा समेत विद्यालयमा नयाँ प्रधानाध्यापकको नियुक्त हुन सकेको छैन् । हाल उक्त विद्यालयमा राजनारायण यादव र हरेकृष्ण पैकरा गरि दुई शिक्षक, एक बालबिकाश केन्द्रका शिक्षिका अनारवत्ति मण्डल र एक कार्यालय सहयोगि शिवनारायण मण्डल कार्यरत छन् । बालविकाश शिक्षिका अनारवत्ति र कार्यालय सहयोगि शिवनारायण श्रीमान् श्रीमती हुन् । 
यसैबीच विद्यालयको विभिन्न समस्याहरुको बारेमा बारम्बार जिल्ला शिक्षा समन्वय इकाई समिति सप्तरीमा निवेदन दिँदा समेत कुनै सुनुवाई नभएकोले बाध्य भई जिल्ला प्रशसन कार्यालय सप्तरीमा समस्या समाधानका लागि निवदेन दर्ता गराएको शिक्षक हरेकृष्ण पैकराले जानकारी दिएका छन् । 
पाँच कक्षासम्मको पठनपाठन हुने उक्त विद्यालयमा हाल विद्यालयको रेकर्ड अनुसार कक्षा १ मा २४, कक्षा २ मा २२, कक्षा ३ मा १२, कक्षा ४ मा १८ र कक्षा ५ मा १० जना गरि ८६ जना विद्यार्थीहरु अध्ययनरत छन् । तर, शिक्षक पैकराले विद्यालयको अवस्था लथालिङ भएपछि अहिले मुश्किलले ४ देखी ७ जना विद्यार्थीहरु विद्यालय आउने गरेका छन् । 
यस्तै विद्यालयका अर्का शिक्षक राजनारायण यादवले भने, “कहिले त एक जना पनि विद्यार्थी नआएपछि बाध्य भई चकलेट र बिस्कुट किनेर दिएपछि विद्यार्थीलाई पढाउन ल्याउनु पर्छ ।” 
यता विद्यालयका प्रधानाध्यापक मण्डलले अनिवार्य अवकाशमा जानु अघिदेखी नै आफूलाई विद्यालयको निमित्त प्रअमा नियुक्त गर्न आग्रह गर्दा वडा अध्यक्ष रामनाथ मण्डल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोरी मण्डल, श्रोत व्यक्ति, जिल्ला शिक्षा कार्यालय तथा नगरपालिकालाई लिखित तथा मौखिक जानकारी दिँदा समेत कुनै चासो नदेखाएको शिक्षक पैकराले आरोप लगाए । वडा अध्यक्ष रामनाथ र व्यवस्थापन समिति अध्यक्ष किशोरी दाजु भाई हुन् । 
“वडा अध्यक्षको हैकमवादी प्रवृती र राजनीतिको कारणले विद्यालय हालसम्म प्रअबिहीन बन्न पुगेको छ । सम्पूर्ण कामकाज प्रभावित भई अवस्था भद्रगोल रहेको छ ।” उनले भने, “शिक्षकहरुले तलब भत्ता खान पाएका छैनन्, विद्यार्थीहरुलाई पुस्तक तथा छात्रबृति समेत बितरण भएन् ।” 
शिक्षक पैकराका अनुसार विद्यालयको समस्या बारे २०७४ चैत १५ गते तत्कालिन जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएको तर सुनुवाई नभएपछि पटक पटक नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव तथा नगर प्रमुख शैलेश प्रसाद साहलाई लिखित तथा मौखिक निवेदन दिँदा समेत उनीहरु गम्भिर नभएको आरोप लगाए । 
यता जिल्ला प्रशासन कार्यालय सप्तरीमा दिइएको निवेदनमा वडा अध्यक्ष रामनाथ मण्डल लगायत सम्बन्धीत सरोकारवालालाई आवश्यक कार्यवाहीको साथै समस्या समाधान गर्न माँग गरिएको छ । 
विद्यालयको तीन ब्लकमा गरि ६ वटा कक्षा कोठा रहेका छन् भने टिनको छानो भएको २ कोठे एउटा भवन तथा चार वटा चर्पी रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट