News Category 2075/02/24

सप्तरीवासीको जहाज चढ्ने सपनालाई मध्यनजर गर्दै भाडा दर ३ हजार ५ सय तोकियो, असार १ गतेदेखी राजविराज–काठमाडौं विमान सेवा सूचारु हुँदै

दैनिक समाचारदाता

नवीनकुमार गुप्ता
राजविराज, २३ जेठ । 
राजविराज विमानस्थलबाट उडान गर्न अनुमति पाएको श्री एयरलाइन्सले असार १ गतेबाट आफ्नो सेवा दिन सम्पूर्ण तयारी गरिसकेको जनाएको छ । 
श्री एयरलाइन्सका बजार व्यवस्थापक सुजन विष्टले आगामी असार १ गतेबाट काठमाडौं–राजविराज विमान संचालन गर्ने सम्पूर्ण आन्तरिक तयारी भइसकेको जानकारी दिएका हुन् । 
बुधबार साँझ केही संचारकर्मीहरुसँग कुराकानी गर्दै एयरलाइन्सका तर्फबाट राजविराज विमानस्थल र बजार व्यवस्थापनका लागि राजविराज आइपुगेका बजार व्यवस्थापक विष्टले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार पूर्वनिर्धारित कार्यक्रम अनुसार एयरलाइन्सले सप्तरीवासीसँग गरेको प्रतिबद्धता पुरा गर्न हरसम्भव प्रयासरत रहेको छ । 
असार १ गतेदेखी श्री एयरलाइन्सको ५० सीट क्षमता भएको जेट विमान काठमाडौंबाट दिनको १२ बजेर ३० बजे राजविराजका लागि उड्ने र राजविराजबाट सोही विमान दिनको १ बजेर २० बजे पुनः काठमाडौंका लागि फर्कने जानकारी दिए । 
हाल विमानस्थलको टर्मिनल भवनमा नागरिक उड्ययन प्राधिकरणले यात्रुका लागि विभिन्न कुर्सीहरु तथा संचारका सेटहरु समेत ल्याइसकेको उनले बताए । यता नागरिक उड्ययन प्राधिकरणले टर्मिनल भवनमा रहेको यात्रु प्रतिक्षालय, भिआइपी कोठा लगायतको मर्मत सम्भार गर्ने कार्य सुस्त गतिमा गरिरहेको प्रति बजार व्यवस्थापक विष्टले चिन्ता व्यक्त गरेका छन् ।  
“विमान संचालन गर्ने समय नजिकै जाँदा हालसम्म भौतिक संरचनाको मर्मत गर्ने काम सुस्त गतिमा भइरहेकोले असार १ गते उडान हुने नहुने कुरामा शंका उब्जिएको छ ।” उनले भने, “विमानस्थल संचालनको महत्वपूर्ण पाटो टर्मिनल भवन नै रहेकोले टाबर जडान, यात्रु प्रतिक्षालय, चेकिङ रुम, टिकट रुजु गर्ने कक्ष लगायतको काम पहिले नै हुनुपर्ने हो ।”
यस्तै विमान ल्याण्ड गर्ने स्थल नजिकै रनवे कालोपत्रे गर्न प्रयोग गरिएको निर्माण सामाग्रि तथा उपकरणहरु हालसम्म पनि त्यही रहेकोले विमान ल्याण्ड गर्न अफ्ठ्यारो हुने जिकिर गर्दै त्यस्ता उपकरणलाई सक्दो चाडै सो स्थानबाट अन्यत्र व्यवस्थापन गर्न सुझाव समेत दिए । यात्रुहरुलाई विमानसम्म पुग्न एकमात्र बाटो टर्मिनल भवनहुँदै रहेकोले टर्मिनल भवन वरिपरि रहेको क्षेत्रलाई घेरबार गर्न समेत सम्बन्धीत निकायलाई उनले आग्रह गरे । 
त्यस्तै विमानस्थलमा पार्किङको व्यवस्था तथा यात्रुहरुको आफन्तहरुलाई बस्ने कक्ष समेत नरहेकोले त्यसतर्फ ध्यान पु¥याउन विमानस्थल व्यवस्थापनलाई आग्रह गरिएको छ । विमानस्थलसम्म पुग्न लिंक रोडबाट झण्डै एक किलोमिटरको सडक समेत जिर्ण रहेकोले सो सडकलाई चाडै कालोपत्रे गर्न सकिए यात्रुहरुलाई आवतजावत गर्न सजिलो हुने उनको तर्क छ । 
त्यस्तै उनीसँगै आएका अर्का बजार व्यवस्थापक शौरभ ओझाले राजविराजमा एयरलाइन्सले टिकटका लागि सेल्स काउण्टर समेत तयार भइसकेको बताए । राजविराजस्थित जिल्ला समन्वय समिति सप्तरीको पूर्वपट्टीको गेट अगाडी रहेको माछापुच्छ«े बैंकको तल्लो तल्लामा सेल्स काउण्टर राखिएको जानकारी दिए । अहिले सो सटरमा टिकट विक्रि कक्षको फर्निचर सम्बन्धी काम द्रुत गतिमा भइरहेको उनले बताए । 
एयरलाइन्सका बजार व्यवस्थापकद्वयले सप्तरीवासीको दशकौदेखी विमान चढ्ने सपनालाई मध्यनजर गर्दै विमानको न्युनतम भाडादर ३ हजार ५ सय राखिएको समेत जानकारी दिए । तर, न्यूनत्तम भाडा दर बाहेक ४ हजार ५ सय र ५ हजार समेत रहेको उनीहरुले बताए । त्यसमा पनि एयारलाइन्सले आफ्नो बजार व्यवस्थापनको योजना अनुसार भाडा दरमा कहिले काँही न्यून्त्तम भाडादर भन्दा अझ केही कम हुनसक्ने बताए । 
यसअघि जेठ ९ गते लामो समयको प्रतिक्षापछि संस्कृतिक पर्यटन तथा नागरिक उडड्यन मन्त्री रबिन्द्रनाथ अधिकारीले श्री एयरलाइन्सको ९ एएएमए जहाजबाट नवनिर्मित काठमाडौं–राजविराज विमानस्थलको रनवे उद्घाटन गरेका थिए । यसको एक दिनअघि श्री एयरलाइन्सको सोही जहाजले रनवेमा सफल उडान परिक्षण गरेको थियो । 
उद्घाटन पश्चात् आयोजित कार्यक्रममा कार्यक्रममा श्री एयरलाइन्सका प्रमुख सुधिर मित्तललाई मन्त्री अधिकारीले असार १ गते भित्रै नियमित उडान सेवा संचालन गर्न निर्देशन दिएका थिए । 
राजविराजबाट चार किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिकामा रहेको विमानस्थलको २०१६ सालमा तत्कालिन उद्योग मन्त्री गणेशमान सिंहले उद्घाटन गरेको थियो । तर, धावन मार्ग पक्की नहु्ँदा पटक पटक सेवा बन्द हुँदै आएको थियो । पछिल्लो पटक २०६४ साल मंसिर २ गतेदेखी यस विमानस्थलबाट हवाई सेवा पूर्ण रुपमा ठप्प रहेको थियो । 
बिस. २०१६ सालमा तत्कालिन उद्योगमन्त्री गणेशमान सिंहद्वारा उद्घाटन गरिएको राजविराज विमानस्थलको धावन मार्ग पक्की नहुँदा पटक पटक सेवा बन्द हुँदै आएको थियो । अन्तिम पटक बि.स. २०६५ सालमा परिक्षणकालका लागि तारा एयरले केही दिन विमान संचालन गरेको थियो भने यात्रुको अभाव देखाउँदै सो एयरले विमान सेवा पुनः बन्द गरेको थियो । विगतमा विमानस्थलबाट नेपाल वायूसेवा निगम हप्ताको २ पटक आईतबार र शुक्रबार काठमाडांै र एक पटक आईतबार लामीडाँढा उडान गर्दै आएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट