News Category 2075/02/25

जिल्लाको औद्योगिक विकास बारेमा सांसद प्याकुरेल र उद्योगी व्यापारीबीच छलफल

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ जेठ ।
सप्तरीका उद्योगी व्यवसायीहरुले जिल्लाको औद्योगिक विकास बारे चिन्ता व्यक्त गर्दै अबको दिनमा उद्योग व्यापारलाई कसरी अगाडी बढाउन बारे छलफल गरेका छन् । 
राष्ट्रिय बाणिज्य संघ सप्तरीको आयोजनामा बिहीबार सप्तरी उद्योग बाणिज्य संघमा आयोजित बजेट सम्बन्धी छलफल कार्यक्रममा राष्ट्रिय सभाका सांसद सुमनराज प्याकुरेल समक्ष उद्योगी व्यापारीहरुले उद्योग व्यापारलाई सप्तरीमा अगाडी बढाउनका लागि विभिन्न सुझावहरु दिएका छन् । 
संघका अध्यक्ष सुरेश कुमार सिंहको अध्यक्षतामा आयोजित छलफलमा वक्ताहरुले जिल्लाको समग्र विकासका लागि उद्योगी व्यापारीहरुले अबको दिनमा तीनै तहका सरकारसँग हातेमालो गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
कार्यक्रममा संघका अध्यक्ष सुरेश कुमार सिंहले मधेश आन्दोलन, बाढी पश्चात्को अवस्थामा समेत व्यापारीहरुले सरकारलाई जसोतसो कर तिरेर पनि आफ्नो उद्योग धन्दालाई निरन्तरता दिएको स्मरण गराउँदै उनले भने, “जिल्लामा साना तथा मझौला व्यापारीहरुलाई सरकारबाट विशेष राहतको प्याकेज आवश्य छ । यहाँ उत्पादन हुने केरा, आप, लिचि लगायतका फलफुलबाट उत्पादन हुने जुस व्यापारले अन्तराष्ट्रिय बजारमा राम्रो पकड बनाउन सक्छ, यसका लागि संघीय सरकारले पहल गर्नपर्छ ।”
त्यस्तै इटा व्यावसायीहरुले जिल्लामा दर्ता नभएका ईटा उद्योगहरुका कारण दर्ता भएका ईटा उद्योगहरुलाई निकै मर्कामा पारिरहेकोले यसको निराकरण गर्न सांसद प्याकुरेललाई आग्रह समेत गरेका छन् । 
यता सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधानले सप्तरीवासीले विकासको अनूभुति नपाएको भन्दै यसका लागि आवश्यक पहल गर्न आग्रह गरे । उनले जिल्लाको राइस मिलहरुको अवस्था संकटमा परेको भन्दै यसका लागि विशेष योजना ल्याउनु पर्नेमा जोड समेत दिए ।  
कार्यक्रममा सांसद प्याकुरेलले उद्योगि व्यापारीहरुको विभिन्न गुनासो, सुझाव, सल्लाहलाई सम्बोधन गर्दै आगामी दिनहरुमा जिल्लाको विकासका लागि आफू कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरे । उनले राजविराजमा चाडै नै आन्तरिक राजश्व कार्यालय स्थापना हुने जानकारी दिँदै यसका लागि आन्तरिक गृह कार्य भइरहेको बताए । त्यस्तै कंचनपुरस्थित विद्युत प्राधिकरणको स्तरोन्ती हुने जानकारी समेत दिए ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट