News Category 2075/02/30

कक्षा कोठाको अभावमा बालबालिका रुखमूनी पढ्न बाध्य, कक्षा ४, ५ तथा ६, ७ का विद्यार्थी दुईटा कक्षामा पढ्दै

दैनिक समाचारदाता

नवीनकुमार गुप्ता
राजविराज, २८ जेठ । 
सप्तरीस्थित सरकारी विद्यालयहरुको अवस्था दिनप्रति खस्किदो गइरहेको प्रति कसै सामु लुकेको छैन् । जिल्लास्थित कतिपय विद्यालयमा शिक्षक अभाव त कुनै विद्यालयमा विद्यार्थी भन्दा शिक्षक नै बढी रहेको अवस्था छ भने कतिपयमा भौतिक संरचनाको अभाव समेत रहेको छ ।
यस्तै कुनै विद्यालयमा कक्षाकोठाको अभावमा विभिन्न कक्षाका विद्यार्थीहरुलाई एउटै कक्षा कोठामा राखेर पढाउने बाध्यता समेत रहेको छ भने कक्षाकोठा कै अभावमा खुल्ला चउरमा बसेर विद्यार्थीहरु पढ्न समेत बाध्य छन् । 
यसैबीच जिल्लाको राजगढ गाउँपालिका २, कमलपुर, बनैनियास्थित श्री खुबलाल जग्रनाथ शक्ति आधारभुत विद्यालयको अवस्था पनि माथि उल्लेखीत भन्दा कम छैन् । यस विद्यालयमा कक्षा कोठाको अभावमा विद्यार्थीहरु रुखमुनी बसेर पढ्न बाध्य छन् । 
विद्यालयमा बालबविकासको दुई वटा कक्षासहित कक्षा १ देखी ८ सम्मको पढाई हुने गरेको छ भने विद्यार्थीहरुको संख्यामा भने कमी छैन् । कमी मात्र छ कक्षा कोठाको । 
यस विद्यालयमा ६ सय ३ विद्यार्थीहरु अध्ययनरत छन् । जसमध्ये बालविकासको दुई कक्षा गरि  १ सय १ बालबालिकाहरु अध्ययनरत छन् । तर, यी बालबालिकाहरुका लागि पढ्नका लागि विद्यालयमा कक्षा कोठा नै छैन् । बालबालिकाहरु आफ्नै घरबाट बोरा ल्याएर रुखमूनी ओछ्याएर पढ्न बाध्य छन् । 
पानी परेको तथा हावाहुरी आएको बेला बालविकासका बालबालिकाहरु कक्षा १ का १ सय १५ जना विद्यर्थीहरुसँगै एउटै कोठामा जसोतसो अटाएर पढाइने गरिएको विद्यालयका प्रधानाध्यापक रबिन्द्र यादवले बताएका छन् । यसरी एउटै कोठामा दुबै कक्षाका गरी २ सय १६ जना विद्यार्थीहरु कसरी पढ्न सक्छन् होला भन्ने हामी कल्पना गर्न सक्छौ ।  
विद्यालयमा चार ब्लक गरी ८ कोठा रहेको छ । जसमा दुई वटा कोठामा कार्यालय र स्टोर संचालन रहेको छ भने बाँकी रहेको ६ वटा कोठामा पढाई हुने गरेको छ । ६ कक्षा कोठा मध्ये कक्षा १, २, ३ र ५ छुट्टाछुट्टै कक्षामा पढाई हुन्छ भने कक्षा ४ र ५ का विद्यार्थीलाई एउटै तथा कक्षा ६ र ७ का विद्यार्थीलाई पनि एउटै कक्षा कोठामा राखेर पढाउन् बाध्य भएको प्रअ यादवको भनाई छ । 
“कक्षा कोठा अपुग भएको जानकारी बारम्बार शिक्षा कार्यालयमा लिखित तथा मौखिक गराउँदा पनि हालसम्म कुनै सुनवाई भएको छैन्”, प्रअ यादवले भने, “दिनहुँ विद्यार्थीको संख्या बढ्दै छ । भौतिक संरचनाको अभाव भने यथावत नै छ, कसरी बालबालिकालाई पढाउने ? यसका लागि सम्बन्धीत निकायको अबिलम्ब ध्यान पुगोस् ।”
सात शिक्षक, दुई बालविकास शिक्षिका तथा एक कार्यालय सहयोगि रहेको यस विद्यालयमा भौतिक संरचनाको अभावमा विद्यार्थीहरुलाई पठन पाठन गर्ने निकै समस्या भइरहेको छ । यस विद्यालयमा अधिकांश शिल्पी (दलित) विद्यार्थीहरु अध्ययनरत रहेको प्रअ यादवले जानकारी दिए । उनका अनुसार विद्यालयमा सदा, मरिक, खत्वे, पासवान, कुमाल लगायत मुश्लिम समुदायका विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट