News Category 2075/03/07

लागूऔषधबिरुद्ध जानकारी एवं परामर्शका लागि सीमावर्ती क्षेत्रमा हेल्प डेस्क

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ असार ।
लागूऔषधबिरुद्धको दिवसको अवसर पारेर बुधबार लागूऔषधबिरुद्ध जानकारी एवं परामर्श दिने उद्देश्यले सप्तरीको सिमा क्षेत्र तिलाठी कोइलाडी गाउँपालिकामा हेल्प डेस्क राखिएको छ ।
सप्तरी युथ नेपाल र सवल नेपालले संयुक्त रुपमा राखेको हेल्प डेस्कको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले रिबन काटेर उद्घाटन गरे । सप्ताहव्यापी अभियानका क्रममा सो हेल्प डेस्क तिलाठी कोइलाडी गाउ्रँपालिका १ तिलाठीस्थित कुनौली सीमामा राखिएको छ । 
उद्घाटन अवसरमा प्रजिअ पौडेलले भारतसँगको खुल्ला सीमाका कारण सप्तरीमा लागूऔषध प्रयोगकर्ताहरु बढिरहेको बताउँदै यसको नियन्त्रणका लागि हेल्प डेस्कले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
यस्तै सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले लागूऔषध प्रयोगकर्ताहरुलाई निरुत्साहित पार्न दैनिक प्रयास भइरहेको बताउँदै भारतसँगको ७८ किलोमिटर खुल्ला सिमानाका कारण त्यसलाई नियन्त्रण गर्न जिल्लामा समस्या भइरहेको जानकारी दिए ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले निकट भविष्यमै लागूऔषधबिरुद्ध बजेट विनियोजन गर्दै कार्यक्रमलाई अगाडि बढाउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालयका रघुनन्दन यादव, देवनारायण यादव, सवल नेपालका अशोक साहसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।
आगामी जुन २६ तारिखका दिन लागूऔषधबिरुद्धको दिवस मनाइँदैछ । सप्तरीमा एक हप्ते बिभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी दिवसका दिन कार्यक्रम आयोजना गरी समापन गरिने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट