News Category 2075/03/09

असार १० गतेदेखी नियमित उडान भर्ने तयारी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ८ असार । 
वर्षौको प्रतिक्षापछि राजविराज विमानस्थलबाट असार १० गतेदेखि श्री एयरलायन्सको जहाजले नियमित उडान भर्ने भएको छ ।
कम्पनीका प्रवक्ता अनिल मानन्धरका अनुसार राजविराज विमानस्थलबाट साताको आइतबार, सोमबार, बुधबार, बिहीबार र शुक्रबार गरि पाँचदिन उडान भर्ने छ । 
पच्चीस मिनेटको समयावधि रहने यस फ्लाइटको सस्तो भाडादर न्यूनतम ३ हजार ५ सय र अधिकतम ६ हजार २ सय तोकिएको बताउँदै उनले पचास सिट क्षमता रहेको जेट इन्जिनयुक्त सिआर २०० श्री एयरलाइन्सको जहाजले काठमाडौँदेखि राजविराज उडान भर्ने बताए । 
एक बजेर १५ मिनेटमा काठमाडौैंबाट राजविराज र राजविराजबाट दुई बजेर १० मिनेटमा काठमाडौँका लागि उडान हुने समय तोकिएको छ । 
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले असार १ गतेभित्रै राजविराज विमानस्थलबाट नियमित हवाई सेवा शुरु गर्न निर्देशन दिएपनि टर्मिनल भवनको मर्मत गर्ने काममा ढिलाइ भएकोले असार १० गतेदेखी विमान उड्ने जनाइएको छ । 
यता नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलका अनुसार उडानका लागि आवश्यक पर्ने पूर्वाधार र कर्मचारी परिचालन गरिसकिएको बताए । 
सप्तरीको विष्णुपुर गाउँपालिकास्थित राजविराज विमानस्थलमा एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइको पक्की धावनमार्ग निर्माण भएको छ । 
राजविराजबाट तीन किलोमिटर दक्षिण विष्णुपुर गाउँपालिकामा रहेको विमानस्थलको २०१६ सालमा तत्कालिन उद्योग मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन गरिएको राजविराज विमानस्थलको धावन मार्ग पक्की नहुँदा पटक पटक सेवा बन्द हुँदै आएको थियो । अन्तिम पटक बि.स. २०६५ सालमा परिक्षणकालका लागि तारा एयरले केही दिन विमान संचालन गरेको थियो भने यात्रुको अभाव देखाउँदै सो एयरले विमान सेवा पुनः बन्द गरेको थियो । विगतमा विमानस्थलबाट नेपाल वायूसेवा निगम हप्ताको २ पटक आईतबार र शुक्रबार काठमाडांै र एक पटक आईतबार लामीडाँढा उडान गर्दै आएको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट