News Category 2075/03/18

प्रदेश २ सरकारले पहिलो चरणमा ९ सय प्रहरी भर्ना गर्ने

दैनिक समाचारदाता

दैनिक समाचारदाता
जनकपुर, १७ असार । 
प्रदेश २ सरकारले आफ्नै प्रहरी निकाय स्थापनाका लागि तयार पारेको प्रहरी सेवा ऐनसम्बन्धी विधेयक प्रदेशसभाले स्वीकृत गरेको छ । 
आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशसभाको बैठकमा विधेयक पेश गरेका हुन् । सरकारले पेश गरेको प्रदेश प्रहरी ऐनमा सुधार गर्नुपर्ने सांसदको मागपछि संसदीय समितिमार्फत् विधेयकलाई अगाडि बढाउने मन्त्री यादवले प्रदेश सभाको बैठकमा जानकारी दिए । सभामुख सरोज यादवले विधेयकलाई निणायार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत गरिएको हो ।
देशको ७ वटै प्रदेशमध्ये प्रदेशले प्रहरी सेवा ऐनसम्बन्धी विधेयक पहिलो पटक ल्याएको हो । प्रदेशसभाबाट यो विधेयक पारित भएपछि प्रदेश सरकारले पहिलो चरणमा ९ सय जना प्रहरी भर्ना गर्न पाउने छ । 
प्रदेश प्रहरी ऐनमा प्रदेशको प्रहरी ५ प्रकृतिको रहने उल्लेख छ । जनपद प्रहरी, प्राविधिक प्रहरी, पर्यटक प्रहरी, सामुदायिक प्रहरी र ट्राफिक प्रहरी समूह रहने व्यवस्था ऐनमा उल्लेख छ । प्रदेश प्रहरीको प्रमुख प्रथम श्रेणीका प्रहरी महानिरीक्षक रहने छन् । 
त्यही श्रेणीका वरिष्ठ प्रहरी उपरीक्षकलाई दोस्रो तहको प्रमुख तोकिएको छ । द्वितीय श्रेणीका प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षक र तृतीय श्रेणी प्रहरी निरीक्षक रहने व्यवस्था प्रदेश प्रहरी ऐनमा गरिएको छ ।
विधेयकमा प्रदेश प्रहरीको संगठन संरचना र प्रहरीको संख्या संघीय सरकारको सहमतिमा प्रदेश सरकारले तोक्ने उल्लेख छ । प्रदेश प्रहरीको कमाण्ड आन्तरिक मामिला मन्त्रालयले सम्हाल्ने र प्रदेश प्रहरी प्रमुख रहने व्यवस्था विधेयकमा गरिएको छ । संघीय सरकारले अहिले प्रदेश प्रहरी प्रमुखमा प्रहरी नायव महानिरीक्षक खटाएको छ ।
विधेयकको आर्थिक टिप्पणीमा मन्त्री यादवले प्रदेश २ मा प्रहरीको छुट्टै संगठन संरचना तयार गर्न र आवश्यक जनशक्तिको छनोट तथा उनीहरुलाई प्रदान गर्ने सेवा सुविधासहित प्रशासनिक काममा वार्षिक रु एक अर्ब खर्च लाग्ने उल्लेख छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट