News Category 2075/03/21

महुली खोलाको पुल भासियो, एकतर्फी आवतजावत

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० असार । 
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ स्थित महुली पुल बुधबार बिहान भासिएको छ । 
बुधबार बिहान महुली खोलामा आएको बाढीका कारण पुलको पश्चिमी छेउमा झण्डै ५० मिटर भाग कटानका कारण पुलको ड्रोन भासिएको छ भने पुल क्षतिग्रस्त बन्न पुगेको छ । पुलको ड्रोन भासिएकै कारण पुलको बीच भागमा चिरा समेत परेको छ ।
शनिबारदेखी भइरहेको वर्षासँगै खोलामा आएको बाढीका कारण करिब ५० मिटरजति पुल भासिएको वडा अध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिएका छन् ।
अहिले पुलको दक्षिणतिरबाट एक तर्फिरुपमा सवारी आवतजावत गराइदै छ । पुलमा आवागमन जारी रहेको भएपनि उच्च सतर्कता अपनाइएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिएका छन् ।
सो पुलको अवस्था बारे सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी नरबहादुर खडकासहितको टोलीले अनुगमन एवं निरिक्षण गरेपछि पुलमा थप सतर्कता अपनाउन सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको जनाइएको छ । 
यसैबीच सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित खाँडो नदीको बाँध भत्किने खतरा बढेको छ । नदीमा आएको बाढीले बाँध कटान गरेपछि ठाउँ ठाउँमा भासिन थालेको हो । बाँध भत्केपछि दर्जनौं गाउँ जलमग्न हुने अनुमान गरिएको छ । उक्त नदीका कारण लौनिया र तिलाठी उच्च जोखिममा परेको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट