News Category 2075/03/26

मेयर कप सप्तरी प्रिमियर लिग टी ट्वाइन्टी क्रिकेट प्रतियोगिता हुँदै, खेल इतिहासमै पहिलो पटक खरीद गरि खेलाडी छनौट

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २५ असार ।
तीन वर्षको सफल प्रयास पश्चात् सप्तरी क्रिकेट संघले इतिहासमै पहिलो पटक विभिन्न खेलाडीहरुलाई खरीद “अक्सन” प्रक्रियाबाट छनौट गरि क्रिकेट खेलको सुरुवात गर्न गइरहेको छ । 
सप्तरी क्रिकेट संघको आयोजना तथा राजविराज नगरपालिकाको सहयोगमा मेयर कप सप्तरी प्रिमियर लिग टी ट्वाइन्टी क्रिकेट प्रतियोगिताको सुरुवात असार २८ गतेदेखि राजविराजमा हुन गईरहेको हो ।
उक्त प्रतियोगिताका लागि खेलाडी खरीद “अक्सन” को माध्यमवाट सोमबार छनौट गरिएको छ । प्रतियोगितामा बोदेबर्साईन थन्डर्स, बजाज खडक वारिर्यस र तिलाठी कोईलाडी हिरोजगरि तीन टिमको सहभागिता रहेको छ । 
खेलाडी खरीद “अक्सन” प्रक्रिया अन्तरगत ए, बी, सी र डी गरि चार समूहमा खेलाडीलाई आयोजकले विभाजन गरेर तीन टिमले सो खेलाडीहरुको नाम अनुसार बोली लगाई खरीद गरेको हो । तीन टिमले चार समूह र विशिष्ट गरि १६ खेलाडी खरीद गरेका छन् । यसमध्ये बोदेर्साइन थन्डर्सका मालिम आतेश सिंह यादव समेत आफ्नै टिममा “डी” समूहबाट रु. १ हजारमा खरीद भएका छन् । 
यता समूह “ए” मा पर्ने खेलाडीहरुको मुल्य ५ देखी १२ हजार ५ सय, समूह “बी” मा पर्ने खेलाडीहरुको मुल्य ३ देखी ७ हजार ५ सय, समूह “सी” का खेलाडीहरुको १ हजार ५ सयदेखी ५ हजारसम्म र समूह “डी” मा पर्ने खेलाडीहरुको मुल्य १ हजारदेखी २ हजार ५ सयसम्म तोकिएको थियो । 
खेलाडी खरीद प्रक्रियामा सबैभन्दा बढी समूह “ए” बाट सन्दिप ढुंगानामाथी ५ हजार ५ सय बोली लागेको थियो । त्यस्तै “बी” बाट फिर्दोस अन्सारी, मुकुन्द यादव, गुणानन्द राय, अमित यादव र दिब्याशुं मल्लिकलाई ७ हजार ५ सयमा खरीद गरिएको छ । त्यस्तै समूह “सी” बाट नन्दन झा, प्रशान्त राई, राहुल मण्डल र विकास दासलाई ५ हजार तथा समूह “डी” बाट अमित दासलाई २ हजार ५ सयमा खरीद गरिएको जनाइएको छ । 
प्रतियोगिताका लागि चार समुहमा बिभाजित गरिएको खेलाडीमा किर्तिमानी खेलाडी महवुव आलमलाई तिलाठी कोईलाडी हिरोजले खरिद गरेको छ भने सिद्धान्त लोहनीलाई बोदेबर्र्साइन थन्डर्स तथा हासिम अंसारीलाई बजाज खडक वारिर्यसले खरिद गरेको छ । यता तीन टिमका मालिकमा हिरोजका सतिश सिंह, थन्डर्सका आतेश सिंह यादव र वारियर्सका अनवर अली रहेका छन् । 
कुल १ सय ५६ जना खेलाडीले दिएको आवेदन मध्ये ४८ जना खेलाडिलाई तीन टिमले खरीद गरेको सप्तरी क्रिकेट संघका सचिव आयुष श्रोष्ठले जानकारी दिए । उनका अनुसार खरीद गरिएका खेलाडीहरु मध्ये सप्तरी जिल्लाका ३६ तथा जिल्ला बाहिरका १२ जना खेलाडी रहेका छन् ।  
यी प्रतियोगितामा तीनै वटै टिमले एक आपसमा दुई–दुई खेल गरि जम्मा ६ खेल खेल्ने छन् भने सोही खेलको आधारमा बढी अंक ल्याउने दुई टिमले अन्तिम प्रतिष्पर्धा गर्ने संघका सचिव श्रेष्ठले जानकारी दिए । अन्तिम प्रतिष्पर्धामा प्रथम हुने टिमले नगद पुरस्कार समेत पाउने उनले बताए ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट