News Category 2075/04/25

काँग्रेसद्वारा सप्तरीलाई सुख्खा क्षेत्र घोषणाका साथै राहत र क्षतिपूर्ती माँग

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २४ साउन । 
नेपाली काँग्रेस सप्तरीले जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्दै अविलम्ब कृषकहरुलाई राहत र क्षतिपूर्तीको व्यवस्थापन गर्न माँग गरेको छ । 
काँग्रेस सप्तरीले बिहीबार नेपाल पत्रकार महासंघ सप्तरी शाखा राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति दिनेश कुमार यादवले सो माँग गर्दै वर्षा र सिंचाईको उचित व्यवस्थापनको अभावमा कृषकहरु मारमा परेको बताए । 
पत्रकार सम्मेलनमा सभापति यादवले जिल्लामा देखिएका विभिन्न समस्याहरु समाधान हुन नसकि विकृती र बिसंगति मौलाउँदै गएको आरोप समेत लगाए । उनले जिम्मेवार पदमा बसेकाहरुद्वारा खुलेआम अदालतको आदेशको अवज्ञा भइरहेको तथा प्रभावकारी अनुगमनको अभावमा स्थायिन तह, प्रदेश र संघीय सरकारको विकास निर्माणका योजनाहरुमा व्यापक आर्थिक अनियमितता भइरहेको प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जिकिर गरे । 
त्यस्तै सभापति यादवले उच्च अदालत जनकपुर राजविराज इजलासको आदेशको अवज्ञा गर्दै राजविराज नगरपालिका कार्यालयले बलजफ्ती गरेको तोडफोड र त्यसबाट भएको हानी नोक्सानीको क्षतिपूर्ती दिनु पर्ने र जिल्लामा तीनै तहबाट भइरहेको विकास निर्माणका कार्यको सर्वपक्षिय अनुगमन समिति मार्फत प्रभावकारी अनुगमन हुनुपर्ने माँग राखेका छन् ।
पत्रकार सम्मेलनमा पार्टीका तर्फबाट नगर प्रमुखका उम्मेदवार बनेका ध्रुब देवले अदालतले निषेधाज्ञा जारि गर्दा गर्दै पनि राजविराज नगरपालिकाले अदालतको आदेशलाई लत्याउँदै राजनीतिक प्रतिशोधका कारण आफ्नो घर भत्काएको आरोप लगाए । उनले घरको नक्सा पास भएको तथा नविकरण हुँदा हुँदै समेत जग्गा अतिक्रमण भएको भन्दै नगरपालिकाका उपप्रमुख साधना झाको नेतृत्वमा घर तोडफोड गरिएको प्रति आक्रोस व्यक्त गरे । 
नगरपालिकाले कुनै सूचना न त कुनै जानकारी नै नदिई घर तोडफोड गरेको आरोप लगाउँदै देवले भित्री सडक बिस्तारको नाममा आफ्नो घरलाई मात्र लक्षित गरि तोडफोड गरिएको बताए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट