News Category 2075/04/26

६५ प्रतिशत मात्र धान रोपाई

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २५ साउन । 
सप्तरीमा हालसम्म ६५ प्रतिशत जग्गामा मात्र धान रोपाई भएको छ । 
पर्याप्त वर्षा नभएको र केही दिन अगाडिको वर्षासँगै जिल्लाको विभिन्न खोलामा आएको बाढीले  खेतीयोग्य जमीन डुबानमा परेका कारण जिल्लामा ३५ प्रतिशत खेत अझै बाँझो रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
सिँचाइको उचित व्यवस्था हुन नसकेको जिल्लामा किसानहरुले सधैँ आकाशे पानीको भरमा खेती गर्नुपर्दा यस पटक भरपर्दो वर्षा नएकोले अधिकांश खेतीयोग्य जमीन बाँझै रहेको छ । 
  जिल्लामा कूल ७० हजार हेक्टर खेतीयोग्य जमिनमध्ये साउनको अन्तिम समयमा ४१ हजार ५०० हेक्टर जमिनमा मात्र धान रोपाइँ भएको वरिष्ठ कृषि अधिकृत भागिरथ यादवले जानकारी दिए । 
मुलुककै पुरानो नहरका रुपमा रहेको चन्द्रनहर जीर्ण भएको र जिल्लामा रहेका अन्य नहरमा खेतीको समयमा पर्याप्त पानी नआउनालेसमेत खेतीको समयमा खेतमा पानी हाल्न नपाउँदा यहाँ धान रोपाइँ ढिलाइ हुने गरेको कृषकको गुनासो छ ।
त्यस्तै कोशी पश्चिमी नहर वितरण प्रणालीको क्षमताअनुसार १३ हजार ३०० हेक्टर जमिनमा सिँचाइ गर्न सकिने भएपनि छ हजार ६१६ हेक्टरका लागि मात्र पानी पुग्छ । अन्य सिँचाइ आयोजनामध्ये ग्रामीण पूर्वाधार विकास कार्यक्रमले तीन हजार ६६५ हेक्टर तथा सेक्टर सिँचाइले दुई हजार ५०० हेक्टरमा मात्र सिँचाइ सुविधा उपलब्ध हुन्छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट