News Category 2075/04/27

वर्षा नहुँदा खेतसँगै सुक्यो किसानको ओठ, मुख

दैनिक समाचारदाता

राजविराज÷लामो समयदेखी पानी नपर्दा रोप्नका लागि तयार पारिएको बिऊ चर्को घामका कारण सुक्न थाल्दा सप्तरीका किसानहरु चिन्तित बनेका छन् । जसकारण जिल्लामा धान रोपाई प्रभावित भएको छ भने रोपाई भएका खेतमा पनि पानी अभावमा धाँजा फाट्न थालेको छ । 
साउनको अन्तिम सातामा पनि वर्षा नहुँदा यहाँका किसानहरुको खेतसँगै ओठ, मुख सुक्न थालेको छ । 
यता विगतदेखी चलिआएको परम्परालाई यस वर्ष पनि निरन्तरता दिदै यहाँँका किसानदेखी जनप्रतिनिधि र सिडियो सुरेन्द्र पौडेलसम्म तिरहुत गाउँपालिकास्थित प्रसिद्ध भेडियामठ मन्दिर पुगेर वर्षाका लागि पुजाआजा समेत गरे । तर, पुजा गरेको शनिबार ११ औं दिन पुगिसक्दा पनि एक दिन सामान्य वर्षा मात्र भए । सो मन्दिरमा विधिपूर्वक पुजाआजा गरे वर्षा हुने जनविश्वास छ । 
खडेरीको समस्या विकराल बन्दै गएपछि नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादवको नेतृत्वमा सुख्खाग्रस्त क्षेत्र घोषणाको माँग गर्दै प्रदर्शन र पत्रकार सम्मेलन पनि भयो । तर, पीडित किसानले न त पानी पाए, न त कुनै राहत । किसान रामकुमार यादवले आफूहरुले अहिलेसम्म नभोगेको सुख्खाको सामना गरिरहेको पीडा सुनाए । 
धान उत्पादनका लागि मुलुकमै प्रसिद्ध यो जिल्लामा कुल खेती योग्य जग्गा ७० हजार हेक्टर छन् । आधा जग्गामा आकाशे पानी कै भरमा खेती हुने गरेको छ । तर, पानी नपर्दा जिल्लामा अहिले २७ प्रतिशत मात्र रोपाई भएको कृषि विकास कार्यालयको तथ्याङ्कले देखाएको छ । वरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवका अनुसार वर्षा र नहरको पानीबाट सिंचाई हुने खेतमा आवश्यकता अनुसार पानी नपुग्दा धान रोपाई प्रभावित हुनका साथै रोपाई भएका खेतमा पनि पानी अभावमा धाँजा फाट्न थालेको छ । 
वर्षाको अभाव र सिंचाई व्यवस्थाको अस्तव्यस्तताकै कारण जिल्लाको धान उत्पादनमा निरन्तर हस आउनुका साथै ठूलो क्षेत्रफल जग्गा बाँझो नै रहने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष २०७०÷७१ र २०७१÷७२ मा यहाँ ३ दशमलव ५ मेट्रिक टन प्रति हेक्टरका दरले धान उत्पादन भएके थियो भने २०७३÷७४ मा घटेर २ दशमलव ५ मेट्रिक टन प्रति हेक्टर धान उत्पादन भयो । 
नहर र सिंचाई योजना अस्तव्यस्त भएको कारण पनि धान उत्पादनमा निरन्तर हस आउँदै गरेको नेपाल किसान मञ्चका सचिव अमरकान्त झाको भनाई छ ।
यता एक महिनादेखीको अत्याधिक गर्मीका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ । एकातीर लामो समयदेखी पानी नपर्नु अर्को तिर चर्को घामले घर बाहिर निस्कन पनि कठिन भएको स्थानिय भुपेन्द्र मण्डल बताउँछन् । वर्षायाममा देखिएको चर्को घाममले निकै समस्या भइरहेको अधिकांश स्थानियको सामूहिक पीडा छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट