News Category 2075/04/29

शित भण्डार निर्माणको बिस्तृत परियोजना प्रस्तुत, माछा भण्डारणका लागि प्रदेश सरकारले सहयोग गर्ने ः मन्त्री साह

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २८ साउन । 
प्रदेश २ का कृषि, सहकारी तथा भूमि व्यवस्थापन मन्त्री शैलेन्द्र प्रसाद साहले सप्तरी जिल्लामा माछा भण्डारणका लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । 
जिल्ला सहकारी संघ सप्तरीको आयोजनामा सोमबार राजविराजमा आयोजित शित भण्डार निर्माणको बिस्तृत परियोजना प्रस्तुतिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश २ को सप्तरी जिल्ला माछा क्षेत्रको रुपमा परिचित रहेकोले माछा भण्डारणका लागि सहकारी संघ अगाडी बढे प्रदेश सरकारले सहयोग गर्ने बताए । 
मन्त्री साहले शित भण्डार नभएकोले यस जिल्लाका किसानहरु आफूले उत्पादन गरेको तरकारी र फलफुलको लागतसम्म वसुल गर्न नसकी पलायन हुने अवस्था अब नआउने बताए । उनले शित भण्डार निर्माण हुन गइरहेकोले यसबाट कृषकहरुलाई सक्दो लाभ लिन आग्रह गर्दै व्यवसायी तरकारी खेती गर्ने किसानहरुलाई शित भण्डारले निकै लाभ पुग्ने जिकिर गरे । 
मन्त्री साहले संघीय सरकारले प्रदेश २ को कृषि क्षेत्रलाई प्राथमिकता नदिएको आरोप लगाउँदै कृषि क्षेत्रलाई अगाडी बढाउन अब प्रदेश सरकार आफै गम्भिर भएर अगाडी बढिरहेको उल्लेख गरे । 
त्यस्तै सोही कार्यक्रममा राजविराज नगरपालिकाका उपप्रमुख साधना झाले शित भण्डार निर्माण भएपछि यहाँका कृषकहरुले जुनसुकै समयमा आफूले उत्पादन गरेको तरकारी र फलफुल बिक्रि गर्न पाउने बताए । उनले स्जिल्ला सहकारीले शित भण्डारका लागि गरेको पहल सहनिय भएको भन्दै यसका लागि राजविराज नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् । 
त्यस्तै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लामा कृषिका लागि सम्पूर्ण वातावरण रहेको भन्दै शित भण्डार निर्माण पश्चात् यहाँका किसानहरु अन्य स्थानमा पनि आफूले उत्पादन गरेको तरकारी र फलफुलहरु बिक्रि गर्न सक्ने सम्भावना बढेर गएको बताए । जसकारण जिल्लावासीले आफ्नै जिल्लामा उत्पादन भएको तरकारी र फलफुल सुपथ मुल्यमा खरीद गर्न पाउने बताए । 
कार्यक्रममा जिल्ला सहकारी संघ सप्तरीका अध्यक्ष बिनोद दत्तले पाँच वर्षको अथक प्रयास पश्चात् ३ हजार मेट्रिक टन तरकारी र फलफुल भण्डारण गर्न सकिने क्षमताको शित भण्डार निर्माण हुन गइरहेको जानकारी दिए । 
उनले सोका लागि संघीय सरकारको ३० करोडको लागतमा तथा राजविराज नगरपालिकाले वडा नं. १५ मा उपलब्ध गराएको एक विगहा जमिनमा उक्त शित भण्डार निर्माण हुन गइरहेको बताए । जसमा २० प्रतिशत अर्थात ६ करोड रकम जिल्ला सहकारी संघले लगानी गर्ने र सो लगानी जुटाउन जिल्लाका विभिन्न सहकारी संस्था तथा स्थानिय सरकारसँग छलफल गरिने समेत उनले जानकारी दिए । 
कार्यक्रममै अध्यक्ष दत्तले छुट्टै माछा भण्डारणका लागि समेत सहकारी संघले योजना बनाएको र सो योजनामा प्रदेश सरकारका मन्त्रीले प्रतिबद्धता व्यक्त गरेकोमा धन्यवाद दिए । 
कार्यक्रममा जिल्लाका विभिन्न सहकारी संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने शित भण्डारका लागि बनाइएको बिस्तृत परियोजना बारे जानकारी समेत दिइएको थियो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट