News Category 2075/05/01

प्रेस युनियनद्वारा पत्रपत्रिकाको नतिजाप्रति आपत्ति जनाउँदै तत्काल पुनरावलोकन गर्न माग

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ३१ साउन । 
नेपाल प्रेस युनियन सप्तरीले प्रेस काउन्सीलले सार्वजनिक गरेको पत्रपत्रिकाको नतिजाप्रति आपत्ति जनाउँदै तत्काल पुनरावलोकन गर्न माग गरेको छ । 
युनियनले बिहीबार सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत सञ्चारमन्त्री गोकुल बास्कोटालाई ज्ञापनपत्रसमेत पठाएको छ । 
प्रेस काउन्सील नेपालले साउन २४ गते सार्वजनिक गरेको पत्रपत्रिकाको वर्गीकरणको नतिजाप्रति आपत्ति जनाउँदै युनियनले ज्ञापनपत्र पठाएको प्रेस युनियन सप्तरीका संयोजक शम्भुलाल दउवले जानकारी दिए । 
निर्णय तत्काल सच्याई पारदर्शी र निष्पक्ष ढंगबाट प्रक्रियागत रुपमा नतिजा सार्वजनिक गर्न युनियनले माग गरेको छ । नतिजा निकाल्ने क्रममा राजनीतिक आग्रह, व्यक्तिगत पूर्वाग्रह र कृपावाद हाबी भएको ज्ञापनपत्रमा उल्लेख छ । नियमित रुपमा प्रकाशन भइरहेका पत्रपत्रिकालाई वर्गीकरणमा घटुवा गरी सोही ठाउँमा कहिलेकाहीं प्रकाशित हुने पत्रपत्रिकालाई बढुवा गरिएको युनियनले आरोप लगाएको छ ।
“काउन्सीलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले एकलौटी रुपमा सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयमा बुझाई सार्वजनिक गरिएको नतिजा पूर्वाग्रह र राजनीतिक प्रतिशोध साँधिएको दस्ताबेजका रुपमा हामीले लिएका छौं,” ज्ञापनपत्रमा भनिएको छ, “पत्रपत्रिका वर्गीकरणपछि दिइने सेवा सुविधा वितरण गर्ने सञ्चार मन्त्रालय तथा काउन्सीलको बोर्ड सदस्यहरूलाई यो पूर्वाग्रहले भरिएको नतिजा खारेज गरी पुनरावलोकन गर्न नेपाल प्रेस युनियन मोरङ जोडदार माग गर्दछ ।”
मागलाई सम्बन्धित निकायले बेवास्ता गरे केन्द्रको निर्देशनबमोजिम चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिइएको छ । साथै भदौ १ गतेदेखि लागू हुन गइरहेको मुलुकी अपराध (संहिता) ऐन र मुलुकी देवानी (संहिता)ले प्रेसजगतलाई अंकुश लगाउने किसिमको भएको युनियनको ठहर छ । 
प्रजिअ पौडेललाई ज्ञापन पत्र बुझाउँदा संयोजक देवसहित, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेश झा, नेपाल पत्रकार प्रदेश २ का सचिव रामनारायण विश्वास, सदस्य ललिता साह, पत्रकार महासंघ सप्तरीका सल्लाहकार श्रवण देव, पूर्वअध्यक्ष धिरेन्द्र प्रसाद साह, गणेश लाल देव, अर्जुन साह, ओमप्रकाश साहलगायको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट