News Category 2075/05/21

औद्योगिक क्षेत्रमा बन्द दुई उद्योगको सम्झौता खारेज, खारेज उद्योगको २० लाख बढी बक्यौता तिर्न बाँकी

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २० भदौं । 
सप्तरीको रुपनी गाउँपालिका ५ बसबिटीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विगत २० वर्षदेखी स्थान ओगटेर बन्द अवस्थामा रहेका दुई उद्योगलाई बुधबार सम्झौता खारेज गरि कारवाही गरिएको छ ।
एस. एण्ड को. इलेक्ट्रोड्स प्रा.लि. र महालक्ष्मी खाद्य उद्योगको सम्झौत खारेज गरि निजि ताला फुटाई सरकारी ताला लगाइएको हो । एस. एण्ड को प्रालिको ११ लाख २२ हजार २ सय ९२ रुपैया २३ पैसा र महालक्ष्मी खाद्य उद्योगको ९ लाख ४३ हजार ४ सय १५ रुँपैया ७९ पैसा बाँकी बक्यौता रहेको छ । 
कार्यालयका प्रमुख दिपक आचार्यले दुई वटा उद्योग विगत धेरै दिनदेखी बन्द रहेको अवस्था, सम्झौता तथा नविकरण समेत समाप्त भइसकेको र बाँकी बक्यौता पनि बाँकी रहेकोले बाध्य भइ बन्द गर्नु परेको जानकारी दिएका छन् । उनले अब ती दुई सेडमा नयाँ उद्योगहरुका लागि सूचना प्रकाशन गरि राष्ट्रको सेवा गर्ने उद्देश्यले रोजगारीमूलक उद्योग स्थापना गर्नेलाई पहिलो प्राथमिकता दिने बताए । 
यसैगरि रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले जनप्रतिनिधिहरुको रोहबरमा वर्षौदेखी बन्द रहेका, म्याद समाप्त भइसकेको अवस्थामा र बक्यौता बाँकी समेत रहेका उद्योगहरुलाई कारवाही गरिएको बताए । उनले उद्योग स्थापनाका लागि वातावरण निर्माण भइसकेको दाबी गर्दै औद्योगिक क्षेत्रलाई पूर्ण रुपले संचालनमा ल्याउनका लागि स्थानिय तहले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । 
औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयको नेतृत्वमा रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादव, वडा नं. ५ का अध्यक्ष जगदीश दास, सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष अरुण प्रधान, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, राजविराज नगरपालिकाका अधिकृत प्रफुल्ल श्रेष्ठलगायत, स्थानियको रोहबरमा सरकारी ताला लगाइएको छ । 
बि.स. २०४४ सालमा भारत सरकारको सहयोगमा साढे २२ विगहा जग्गामा निर्माण गरिएको उक्त औद्योगिक क्षेत्रलाई २०५२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । सो औद्योगिक क्षेत्र भित्र १० वटा उद्योग सञ्चालन गर्न सकिने सेड निर्माण गरिएको छ । 
तर, औद्योगिक क्षेत्रमा आवश्यक सेवा सुविधा नहुँदा समेत हाल कोशी पोलिमर्श इण्डष्ट्रिज, मिलन डेरी उद्योग, महालक्ष्मी पेट इण्डष्ट्रिज र पदम ज्योति प्लाष्टिक उद्योग गरि चार उद्योग मात्र सञ्चालनमा छन् । जस मध्ये कोशी पोलिमर्श इण्डष्ट्रिजले भवन नपाउँदा समेत आफ्नै लगानी सेड निर्माण गरि उद्योग संचालन गर्दै आएको छ । 
यस्तै अल नेपलिज टि एण्ड कफी सेन्टर प्रालि., कृष्णा खाद्य उद्योग र माँग भगवती कृषि टमाटो फुड्स इण्डष्ट्रिज बन्द अवस्थामा रहेका छन् भने कान्तिपुर प्लाष्टिक उद्योग र उषा जल उद्योग निर्माणाधिन अवस्था रहेको कार्यालय प्रमुख आचार्यले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट