News Category 2070/09/18

समानुपातिकका आठ सहित सप्तरीबाट १४ जना सभासद्

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, १७ पुस । 
बिभिन्न दलले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सभासद् मनोनयनको सुचिमा सप्तरीका तीन जना महिलासहित आठ जनाको नाम समाबेश भएको छ । त्योसँगै सप्तरीबाट संबिधानसभामा प्रतिनिधित्व गर्ने सभासद्को संख्या अहिलेसम्म १४ जना पुगेको छ । त्यसमध्ये १३ जना पहिलो पटक संबिधानसभामा प्रतिनिधित्व गर्ने भएको छ । 
मधेशी जनअधिकार फोरम नेपालले समानुपातिक सभासद्को सुचि बुझाउन बाँकी रहेकाले सप्तरीबाट सभासद् बन्नेको संख्या अझ बढ्न सक्ने सम्भावना छ । 
नेकपा एमालेले सत्यनारायण मण्डल, रन्जु ठाकुर झा, फोरम लोकतान्त्रिकले डा.सुबोध पोखरेल, रमणी राम, नेपाली काँग्रेसले रञ्जित कर्ण, एकिकृत नेकपा माओवादीले राम कार्की, राप्रापा नेपालले गंगा प्रसाद यादव र नेकपा (संयुक्त)ले मिथिला चौधरीलाई समानुपातिकतर्फ संविधानसभा सदस्यमा मनोनयोन गरेका छन् । 
समानुपातिकतर्फ सभासद्को सुचिमा परेकी रमणी राम बाहेक सबै जना पहिलो पटक संबिधानसभामा प्रतिनिधित्व गर्न लाग्नुभएको छ । सप्तरीको डिमन गाविस निवासी राम यसपालिको संबिधानसभा निर्वाचन हुनुभन्दा केही महिनाअघि फोरम लोकतान्त्रिकमा प्रबेश गर्नुभएको थियो । 
सप्तरीको कमलपुर गाविस मण्डल एमालेका केन्द्रीय सदस्य हुन् भने जिल्लाको तिलाठी गाविस निवासी झा नेकपा एमाले निकट अखिल नेपाल महिला संघका केन्द्रीय सचिव हुन् । 
सप्तरीको फत्तेपुर गाविस निवासी डा. पोखरेल यसपालिको संबिधानसभा निर्वाचनको पुर्वसन्ध्याँमा फोरम लोकतान्त्रिकमा प्रबेश गर्नुभएको थियो । नेपाली काँग्रेसबाट समानुपातिकतर्फ सभासद् हुनुभएका सप्तरीको को. बर्साइन गाविस निवासी कर्ण नेपाल बिद्यार्थी संघका केन्द्रीय अध्यक्ष हुन् ।
यस्तै एकिकृत नेकपा माओवादीबाट सभासद् बनेका सप्तरीको फत्तेपुर गाविस निवासी राम कार्की एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य हुन् । 
राप्रापा नेपालका तर्फबाट समानुपातिक सभासद् बनेका जिल्लाको १ नम्बर योगिनियाँ गाविस निवासी यादव राप्रापा नेपालका केन्द्रीय सदस्य हुन् ।
त्यस्तै नेकपा संयुक्तबाट समानुपातिक तर्फको सभासद्मा मनोनित चौधरी राजविराज नगरपालिकाका स्थायी निवासी हुन् । सप्तरीमा ६ वटा निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ यसअघि नै ६ जना निर्वाचित भईसकेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट