News Category 2070/09/24

शितलहर पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन माग

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २३ पुस । 
शितलहर पीडितहरुको तत्काल तथ्याङ संकलन गरी राहतको व्यवस्था मिलाउन एक कार्यक्रमका बक्ताहरुले माग गरेका छन् ।
सामुदायिक रेडियो प्रशारक संघ (सिआइएन) को सहयोगमा सामुदायिक रेडियो छिन्नमस्ता एफएम १०१.४ मेगाहर्जले राजविराजमा आयोजना  शितलहर समस्या तथा राज्यको दायित्व बिषयक सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागि बक्ताहरुले शितलहर पीडितहरु लाई राहत उपलब्ध नराउँदा बिपन्न, दलित र गरिब परिवारहरु बढी पीडित बनेको बताएका हुन् । 
कार्यक्रममा एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा नवनिर्वाचित सभासद् उमेश कुमार यादवले सरकारी संयन्त्रमा प्राकृतिक प्रकोप जस्तै पुराना सामन्तीहरुको प्रकोप कायम रहेकाले शितलहर पीडितले राहत पाउन नसकिरहेको बताउनुभयो । 
उहाँले शितलहर पीडितहरुको सही तथ्याङ संकलन गरी लतकपडा, खाधन्न र औषधी उपचारको समेत प्रबन्ध मिलाउनुपर्नेमा जोड दिनुहुँदै शितलहरबाट जोगिन पुर्व तयारी गर्नुपर्ने बताउनुभयो । 
कार्यक्रममा सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमसिंह कुँवरले जिल्लाका करिब २ हजार शितलहर पीडितहरुको तथ्याङ संकलन भइसकेको जानकारी दिनुहुँदै बिभिन्न संघसंस्थाहरुलाई शितलहर पीडितहरुका लागि न्यानो लुगा उपलब्ध गराई दिन आग्रह गरिसकेको र उहाँहरुबाट ति सामग्री आइसकेपछि बितरण गरिने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष धीरेन्द्र प्रसाद साहले तत्काल शितलहर पीडितहरुको सही तथ्याङक संकलन गरी पीडितहरुलाई न्यानो लुगा र राहतको प्रबन्ध मिलाउनुपर्नेमा जोड दिनुहुँदै शितलहर पीडितहरुको समस्या प्रति सरकारी निकाय र संघसंस्थाह गम्भीर हुन नसकेको आरोप लगाउनुभयो । 
उहाँले ठाउँ ठाउँमा आगो बालेर मात्र शितलहर पीडितहरुको समस्या समाधान नहुने बताउनुहुँदै न्यानो लुगा र राहत सामग्री बितरण गर्नु आवश्यक भएको जिकिर गर्नुभयो । 
सो कार्यक्रममा बरिष्ठ पत्रकार शिबहरि प्रसाद भट्टराईले चुरे बिनास र जलवायु परिवर्तनका कारण बिगत केही बर्षदेखि शितलहर ठुलो समस्याको रुपमा देखा परेको भन्दै सप्तरीमा बाढी, आगलागी र शितलहर प्रकोपकै रुपमा बर्षेनी देखापरेकाले बाढी जस्तै शितलहरबाट जोगिन पुर्व तयारी गर्नु जरुरी रहेको बताउनुभयो । 
अर्का बरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी बैधनामथ झाले शितलहरबाट मरेपछि राहत दिने परिपाटीमा सुधार ल्याउनु जरुरी रहेको बताउनुहुँदै शितलहरबाट पीडितहरुलाई शितलहरबाट जोगिन न्यानो लुगा र औषधी बितरण गर्नु जरुरी रहेको बताउनुभयो । 
सप्तरी सन्देश साप्ताहिकका सम्पादक गणेशलाल देवले यसबर्ष सैनिक श्रीमति संघ, न्यानो नेपाल र न्यानो संसार लगायतका केही समाजिक संघ संस्थाहरुले शितलहर पीडितहरुलाई न्यानो लुगा बितरण गरेपनि त्यो अपुग रहेको बताउनुहुँदै सरकारी निकायबाट नगर क्षेत्रमा आगो बाल्ने बाहेकको कुनै काम हुन नसकेको गुनासो पोख्नुभयो ।
छिन्नमस्ता एफएमका समाचार प्रमुख श्रवणकुमार देवले अघिल्लो बर्ष शितलहरबाट ३३ जना र यसबर्ष मात्र १२ जनाको मृत्यु भइसक्दाँ पनि झनझटिलो प्रक्रियाका कारण पीडितहरुले राहत पाउनबाट बञ्चित हुँदै आएको बताउनुभयो । 
सामुदायिक रेडियो छिन्नमस्ता एफएम १०१.४ मेगाहर्जका सचिव नरेश प्रताप साहको अध्यक्षतामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, महासंघका सचिव राजेश झा, क्रान्तिकारी पत्रकार संघ सप्तरीका अध्यक्ष राजु विश्वकर्मा, जिल्ला विकास समिति सप्तरीका कमलेश्वर बिराजी, महिला सहजकर्ता उर्मिलादेवी दास लगायतले बोल्नुभयो । मधेशी पत्रकार समाजका केन्द्रीय सचिव सजीव क्रिम शाहद्वारा सञ्चालित कार्यक्रम मधेशी पत्रकार समाज सप्तरीका सचिव आमेन्द्र यादवले स्वागत गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट