News Category 2070/03/06

सरसफाई र बजार ब्यवस्थापनका लागि नगरपालिकाको बिशेष अभियान

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ५ असार ।
राजविराज नगरपालिकाले नगरभित्र फोहोर व्यवस्थापन र बजार ब्यवस्थापनका लागि बिशेष अभियान शुरु गर्ने भएको छ ।
सरसफाईको दृष्टिकोणले जर्जर रहेको मुलुककै पहिलो टाउन प्लानिङ्ग राजविराजलाई सफा, स्वच्छ बनाउन नगरपालिका कार्यालयले बिशेष अभियान सञ्चालन गर्न लागेको हो ।
नगरपालिकाले तयार पारेको सरसफाई बिशेष अभियानबारे छलफल गर्न बुधबार आयोजना गरिएको एक कार्यक्रममा राजविराज नगरपालिका कार्यालयका कार्यकारी अधिकृत देवराज चौलागाईले सरसफाई बिशेष अभियानले कुरुप बन्दै गएको यस नगरक्षेत्रले काँचुली फर्ने बिश्वास समेत ब्यक्त गर्नुभयो ।
नगरपालिकाले छिटै सञ्चालन गर्ने बिशेष अभियान अन्तर्गत पहिलो चरणमा सरसफाई सम्बन्धि जनचेतना जगाउन नगर क्षेत्रभित्र घरदैलो अभियान चलाउने र सोही क्रममा घरबाट निष्कने फोहोर व्यवस्थापनका लागि फोहोर फ्याल्ने भाँडो समेत बितरण गर्ने योजना बनाएको कार्यकारी अधिकृत चौलागाईले जानकारी दिनुभयो ।
सर्वसाधारणहरुले घरबाट निष्कने फोहोरहरु सडकमै फ्याँक्ने गरेकाले नगर क्षेत्रभित्रका सडकहरु फोहोर हुनुको साथै नगरक्षेत्र दुर्गन्धित हुने गरेकाले यस्तो अभियान शुरु गर्न लागेको कार्यकारी अधिकृत चौलागाईले बताउनुभयो ।
नगरक्षेत्रमा छाडा छाडिने सुँगुरहरुले नगर क्षेत्रको सरसफाईमा चुनौति थपेकोले सुँगुर मार्ने अभियानलाई थप तिब्रता दिदै छाडा सुँगुर मार्नेलाई पुरस्कृत गर्ने योजना समेत यस अभियानमा राखिएको उहाँले जानकारी दिनुभयो ।
नगर क्षेत्रका अधिकांश सार्वजनिक शौचालयहरुको अबस्था जिर्ण रहेकोले नगरभित्र सार्वजनिक स्थलहरुमा सार्वजनिक शौचालयहरु निर्माणको कार्य भईरहेको र आगामी एक दुई साता भित्र सञ्चालनमा ल्याउने जानकारी दिनुभयो ।
नगर क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी सडक छेउमा निर्माण गरिएका घर टहरा र पसलहरु हटाउने र सडक छेउमा राखिएको होर्डिङ बोर्डहरु समेत हटाईने यसै योजनामा समेटिएको चौलागाईले बताउनुभयो ।
यस्तै लामो समयदेखि सञ्चालनमा आउन नसकेको राजविराज बसपार्कबाटै बसहरु सञ्चालनका लागि भौतिक निर्माणका काम भइसकेकोले आउँदो साउन १ गतेदेखि बसपार्कबाटै बसहरु सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
बसपार्कमा टिकट काउन्टर र यात्रु प्रतिक्षालय निर्माण भईसकेको तथा अन्य पुर्वाधारहरु समेत निर्माणको अन्तिम चरणमा रहेकाले साउन १ गतेदेखि बसपार्क सञ्चालनमा आउने विश्वास उहाँले ब्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट