News Category 2070/03/08

कर्मचारीहरुकै संलग्नतामा लुकाइएको ठूलो परिमाणको काठ बरामद कर्मचारीबीच हलचल, क्षेत्रिय कार्यालयको टोली सप्तरीमा

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, ७ असार ।
सप्तरीको रुपनगर गाविसबाट लुकाएर राखिएको ठूलो परिमाणको काठ बरामद भएको छ । बाँसघारी, खाल्डो खनेर तथा झाडीमा लुकाएर राखिएको लगभग एक सय २४ क्यूबिक फिट काठ बरामद भएको हो ।
श्रोतका अनुसार वन समितिका पदाधिकारी, रेञ्जपोष्ट तथा इलाका वन कार्यालयका कर्मचारीहरुको मिलोमतोमा वन क्षेत्रबाट काठ ल्याइएको र उनीहरुबीच लेनदेनको कुरा नमिल्दा काठ बरामद भएको हो । ‘कर्मचारी अथवा समितिकै पदाधिकारीहरुले काठ राखेकोबारे जानकारी गराएको हुन सक्छ’ श्रोतले भन्यो, ‘पहिला नै लेनदेनको कुरा नमिल्दा उनीहरुबीच विवाद भएर लुकाइएको काठ फेला परेको हो ।’
रुपनगर गाविस ६ स्थित बाँसघारीबाट ११ थान, खाल्डोमा गाडिएको २ थान र घाँसपातको झारीमा लुकाएर राखिएको चार थान गोलिया काठ मंगलबार तथा बुधबारमा फेला पारिएको हो । काठ फेला परेपनि कर्मचारी तथा समितिका पदाधिकारीहरुले यो कुरालाई लुकाएर बाहिर आउन नदिने प्रयासमा थिए, श्रोत भन्छन्, ‘केहि स्थानीयहरुले समेत सुइँको पाएपछि अहिले यो काठलाई इलाका वन कार्यालय कंचनपुरमा राखिएको छ ।’
ठूलो परिमाणको काठ लुकेको अवस्थामा फेला परेपछि वन सम्बन्धी निकायहरु जुर्मुराएका छन् । जिल्ला वन कार्यालय राजविराजसहित पुर्वाञ्चल क्षेत्रिय कार्यालयको प्रतिनिधी रुपनगर पुगेको छ । ‘जिल्ला तथा क्षेत्रिय कार्यालयबाट प्रतिनिधीहरु यहाँ आएका छन्, इलाका वन कार्यालय कंचनपुरका अधिकृत रामप्रसाद रामले भन्नुभयो, अनुसन्धान शुरु भइसकेको छ ।’
वन समितिका पदाधिकारी, वन कर्मचारीहरुको संलग्नतामा काठ लुकाइएको भन्ने बिषयमा जिज्ञासा राख्दा रामले अहिले तत्काल केहि भन्न नसकिने बताउनुभयो ।
यद्यपी स्थानीयस्तरमा कर्मचारी तथा समितिकै पदाधिकारीहरुको मिलोमतोमा यत्रो काठ तस्करी गरिएको हुन सक्ने चर्चा व्यापक छ । रुपनगरका समाजसेवी देवनारायण श्रेष्ठले कर्मचारीको संलग्नता बिना यत्रो काठ वन क्षेत्रबाट बाहिर आउन नसक्ने भएकाले यसको दह्रो रुपमा अनुसन्धान गरिनुपर्ने बताउनुहुन्छ ।
पछिल्लो पटक वन क्षेत्रबाट दाउरा समेत ल्याउन रोक लगाएको अवस्थामा वन नै सखाप हुने गरी भएको यो घट्नाले सबैलाई झस्काएको छ । यस सम्बन्धमा जिल्ला वन कार्यालयका कर्मचारीहरुसँग सम्पर्क गर्दा हुन सकेन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट