News Category 2070/03/09

काठ तस्करी प्रकरण रेञ्जर दिनेश यादवलाई क्षेत्रिय कार्यालय झिकाइयो

दैनिक समाचारदाता

राजविराज÷सप्तरीको रुपनगर गाविसमा कर्मचारीहरुकै मिलोमतोमा राष्ट्रिय वनबाट कटन गरी लुकाएर राखिएको काठ प्रसङ्गमा रुपनगर रेञ्जपोष्टका रेञ्जर दिनेश यादवलाई क्षेत्रिय कार्यालय तानिएको छ ।
रुपनगर गाविस वडा नम्बर ६ स्थितको बाँसघारीका साथै सोही वडाको अन्य ठाउँमा खाल्डो खनेर तथा झाडीमा लुकाएर राखिएको एक सय २४ क्यूबिक फिट काठ फेला परेको थियो । मंगलबार र बुधबार फेला परेको उक्त काठ १७ थान रहेको छ ।
राष्ट्रिय वनबाट काठ तस्करी गर्नेमा रुपनगर रेञ्जपोष्टका रेञ्जर यादवको संलग्नता भएको भन्दै वनको क्षेत्रिय कार्यालयले उनलाई त्यहाँ तानेको हो । अन्य कर्मचारीहरुको पनि संलग्नता हुन सक्ने बताउँदै जिल्ला वन कार्यालयले अनुसन्धान भइरहेको जनाएको छ ।
रेञ्जपोष्ट तथा इलाका वन कार्यालयका कर्मचारीहरुको मिलोमतोमा वन क्षेत्रबाट काठ ल्याइएको र उनीहरुबीच लेनदेनको कुरा नमिल्दा काठ बरामद भएको हो । काठ घाटगद्दी गर्न लाग्दा कर्मचारीहरुबीच लेनदेनको बिषयमा कुरा नमिल्दा लुकाइएको काठ बाहिर आएको हो ।
रुपनगर गाविस ६ स्थित बाँसघारीबाट ११ थान, खाल्डोमा गाडिएको २ थान र घाँसपातको झारीमा लुकाएर राखिएको चार थान गोलिया काठ मंगलबार तथा बुधबारमा फेला पारिएको हो । काठ फेला परेपनि कर्मचारी तथा समितिका पदाधिकारीहरुले यो कुरालाई लुकाएर बाहिर आउन नदिने प्रयासमा भएपनि केहि स्थानीयहरुले समेत सुइँको पाएपछि अहिले यो काठलाई इलाका वन कार्यालय कंचनपुरमा राखिएको छ ।
काठ काटेको बिषयको अनुसन्धान गर्ने जिम्मा इलाका वन कार्यालयका अधिकृत रामप्रसाद राम र शम्भुनाथ रेञ्जपोष्टका रेञ्जर चतुरनारायण साहलाई दिइएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट