News Category 2070/11/25

नारी दिवसकै दिन महिलालाई जलाएर मार्ने प्रयास अनुसन्धानका लागि सासु र जेठानी प्रहरी नियन्त्रमा

दैनिक समाचारदाता

राजविराज÷अन्तर्राष्ट्रिय नारी दिवस शनिबार मुलुकभरी मनाईरहदाँ सप्तरी सदरमुकाम राजविराजमा शनिबार दिउँसो एक मुस्लिम महिलालाई जिउँदै जलाएर मार्ने प्रयास गरिएको छ ।
राजविराज नगरपालिका ७ निवासी गुडु अन्सारीकी श्रीमति अन्दाजी २६ बर्षीया नजराना खातुनलाई जिउँदै जलाएर मार्ने प्रयास गरिएको हो । नजरानाका श्रीमान् गुडु अन्सारी करिब १५ दिनअघि बैदेशिक रोजगारका लागि साउदी अरब गएका छन् ।
शनिबार दिउँसो २ बजेतिर घरमा सुतिरहेका बेला अचानक शरीरमा आगजनी भएपछि चिच्याएको आवाज सुनेका स्थानियहरुको प्रयासमा नजराना खातुनलाई उद्दार गरेर उपचारका लागि अस्पतालमा भर्ना गराएको स्थानियबासीहरुले जानकारी दिएका छन् । 
आगजनीबाट नजरानाको करिब ९० प्रतिशत शरीरको भाग पुर्ण रुपमा जलिसेको चिकित्सकले बताएका छन् ।
यसैबीच घटनामा संलग्न रहेको आशंकामा नजरानाकी सासु बानो खातुन र जेठानी छन् । दुबै जनालाई अनुसन्धानकालागि शनिवारै हिरासतमा लिएर सोधपुछ थालिसकेको सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक बैदवारले बताउनुभयो । उहाँले अहिले नै यस बिषयमा केही भन्न नमिल्ने बताउनुभयो । 
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि खातुनलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको प्रहरीले जनाएको छ । 
घरभित्र आगो सल्केको र कोही चिच्याईरहेको आवाज सुनेर त्यहाँ पुगेका स्थानियहरुले घटनास्थलमा मट्टीतेलको गन्ध आईरहेकोले कसैले मट्टीतेल छर्केर आगो लगाएको आशंका गरेका छन् । 
घटना भएका बेला घरमा कोही नभएको र पछि खोज्दै जाँदा एक छिमेकीको घरमा उनकी सासु सहितका तीन महिला फेला परेकोले घटना रहस्यमय रहेको स्थानियहरुले बताएका छन् ।
सासु बानो खातुन र देउरानी नुरजाहा खातुसँग नजरानाको घरायसी बिषयमा पटक पटक झगडा हुँदै आएकोले उक्त घटनामा उनीहरुकै संलग्नता हुन सक्ने स्थानियहरुले आशंका गरेका छन् । 
यता पीडित नजरानाका ससुरा मो. महमुद अन्सारीले आफु राजविराजस्थित पसलमा रहेका बेला अचानक एक जनाले आफुलाई घटनाबारे जानकारी गराएपछि मात्र थाहा पाएको बताएका छन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट