News Category 2070/11/26

जिउ“दै जलाइएको महिला नजरानाको उपचारको क्रममा मृत्यु

दैनिक समाचारदाता

दैनिक संवाददाता
राजविराज, २५ फागुन । 
शनिबार दिउँसो सप्तरी सदरमुकाम राजविराजमा आगो लगाई जिउँदै जलाइएको मुस्लिम महिलाको उपचारका क्रममा सोही राती मृत्यु भएको छ । 
राजविराज नगरपालिका ७ निवासी गुडु अन्सारीकी श्रीमति २६ बर्षीया नजराना खातुनको उपचारको क्रममा धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो । 
नजरानामाथी आगो लगाई हत्या गर्न खोजेको आशंकामा प्रहरीले शनिबारै उनका सासु र जेठानीलाई पक्राउ गरि अनुसन्धान सुरु गरिसेकेको छ । पक्राउ परेका सासु बानो खातुन नै नजरानाको हत्यामा बढी संलग्न रहेको आइतबार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक बैदबारले बताउनुभयो । 
प्रारम्भिक चरणमा नजरानाका सासूको घटनामा संलग्नता रहेको पाइएको र घटनास्थलदेखि करिब ५० मिटरको दूरीमा रहेको पोखरीको डिलमा मट्टीतेलको भाँडो बरामद भएकाले थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बैदवारले बताउनुभयो ।
नजराना पाँच महिनाको गर्भवती समेत रहेको प्रहरीले जानकारी दिएको छ । उनको एक २० महिने छोरी समेत रहेको छ । नजरानाका श्रीमान् गुडु अन्सारी करिब १५ दिनअघि बैदेशिक रोजगारका लागि साउदी अरब जानुभएको छ ।
आगजनीबाट ९० प्रतिशत शरीर जलिसकेका नजरानालाई प्रारम्भिक उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा भर्ना गरिएको थियो । शनिबारै उनलाई थपउपचारका लागि धरान पठाइएको थियो । उपचारकै क्रममा नजरानाको राती ११ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक बैदबारले बताउनुभयो । 
शनिबार दिउँसो २ बजेतिर घरमा सुतिरहेका बेला अचानक शरीरमा आगजनी भएपछि चिच्याएको आवाज सुनेका स्थानियहरुको प्रयासमा नजराना खातुनलाई उद्दार गरेर उपचारका लागि अस्पतालमा भर्ना गराएको स्थानियबासीहरुले जानकारी दिएका छन् ।
घरभित्र आगो सल्केको र कोही चिच्याईरहेको आवाज सुनेर त्यहाँ पुगेका स्थानियहरुले घटनास्थलमा मट्टीतेलको गन्ध आईरहेकोले कसैले मट्टीतेल छर्केर आगो लगाएको आशंका गरेका छन् । 
घटना भएका बेला घरमा कोही नभएको र पछि खोज्दै जाँदा एक छिमेकीको घरमा उनकी सासु सहितका तीन महिला फेला परेकोले घटना रहस्यमय रहेको स्थानियहरुले बताएका छन् ।
सासु बानो खातुन र देउरानी नुरजाहा खातुसँग नजरानाको घरायसी बिषयमा पटक पटक झगडा हुँदै आएकोले उक्त घटनामा उनीहरुकै संलग्नता हुन सक्ने स्थानियहरुले आशंका गरेका छन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट