News Category 2076/09/09

अफगानिस्तानमा अमेरिकी सैनिक मारिएको पेन्टागनको पुष्टि 

दैनिक समाचारदाता

वासिङ्टन, ८ पुस (रासस÷सिन्ह्वा) ।
    अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अफगानिस्तानमा एकजना अमेरिकी सैनिक मारिएको समाचारको पुष्टि गरेको छ । अफगानिस्तानमा रहेको अमेरिकी सैनिक समूहका एकजना सदस्यको ज्यान गएको समाचार सोमबार आएको थियो । उनको आइतबार मृत्यु भएको बताइएको थियो । ती सैनिकको कर्तव्य निर्वाहका क्रममा आइतबार निधन भएको पेन्टागनले सोमबार पुष्टि गरेको वासिङ्टन डिसीबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।
    सोमबार अफगानिस्तानको एक समाचार संस्था ‘टोलो न्युज’ले अफगानिस्तानमा अमेरिकी सेना मारिएको समाचार सम्प्रेषण गरेको थियो । पेन्टागनद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार आइतबार अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा जारी कारबाहीका क्रममा ती सैनिक घाइते भएका र पछि उपचारको क्रममा सोमबार उनको ज्यान गएको बताइएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको नीतिमा कर्तव्य पालनाको शिलशिलामा मृत्यु भएका कुनै पनि देशका सदस्यको नाम २४ घण्टासम्म सार्वजनिक नगरिने भएकाले मारिने ती अमेरिकी सेनाको नाम पनि सार्वजनिक गरिएको छैन ।
    कुन्दुजमा अमेरिकी सैनिकको के कसरी मृत्यु भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको पनि पेन्टागनले जनाएको छ । उता तालिबानका प्रवक्ताले भने आफूको कारबाहीका क्रममा अमेरिकी सैनिक मारिएको बताएका छन् । तीन हप्ता मात्र पहिले अफगानिस्तानको लोगार प्रान्तमा दुई अमेरिकी सैनिकको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो । यस वर्ष अफगानिस्तानमा कर्तव्य निर्वाहका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको सङ्ख्या २० पुगेको छ । अफगानिस्तानमा अहिले करिब १४ हजार अमेरिकी सैनिक छन् । नेटो सैन्यअन्तर्गत हाल अफगानिस्तामा रहेका सेनाले अफगान सेना तथा यहाँको समग्र सुरक्षा बललाई तालिम दिने, सल्लाह दिने र सहयोग गर्ने काम गर्छ । सन् २००१ मा अफगानिस्तानबाट तालिबानको शासन हटाएपछि अमेरिकाले यहाँको सुरक्षा व्यवस्थाको नेतृत्व गर्दै आएको छ । अमेरिकाले यहाँ आतङ्कवाद विरोधी अभियान सञ्चालन गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट